Logo
Logo

स्थायी आवास नबनेसम्म बाढी प्रभावितलाई सरकारले मासिक रकम दिने


126
Shares

काठमाडौं । गत १० भदौमा भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढीबाट विस्थापित भएकाहरूलाई सरकारले सहायता रकम उपलब्ध गराउने भएको छ ।

गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भोटेकोशी बाढी प्रभावित परिवारहरूलाई स्थायी आवास निर्माण नभएसम्मका लागि आवास भाडा तथा अन्य आवश्यक खर्च व्यवस्थापनका लागि रकम उपलब्ध गराउने निर्णय गरेको हो ।

सञ्चारमन्त्री विक्रम तिमिल्सिनाका अनुसार, ४ सदस्यसम्मको परिवारलाई मासिक १५ हजार र थप प्रत्येक सदस्यका लागि २ हजार अतिरिक्त उपलब्ध गराउने निर्णय भएको छ ।

यदि कुनै परिवारले यो सुविधा लिन नचाहेमा, सरकारले स्थायी आवास निर्माण नभएसम्म अस्थायी आवासको व्यवस्था गर्ने विकल्प पनि उपलब्ध गराएको पनि उनले जानकारी गराएका छन् ।

यस सम्बन्धमा आवश्यक विवरण संकलनका लागि सबै सम्बन्धित स्थानीय तहमा फारम पठाइसकिएको मन्त्री तिमिल्सिनाले जानकारी दिएका छन् ।

सरकारले बाढीको प्रारम्भिक क्षति तथा नोक्सानी मूल्याङ्कन सम्पन्न गरिसकेको छ भने विस्तृत आवश्यकता मूल्यांकन प्रक्रिया जारी राखेको उनले बताएका छन् ।

उनले भनेका छन्, ‘त्यसका आधारमा आवश्यक स्रोत सुनिश्चित गरी पुनर्निर्माण तथा पुनस्र्थापना कार्यलाई तीव्रताका साथ अघि बढाइनेछ ।’

प्रतिक्रिया दिनुहोस्