गोदावरीको त्यो कुम्भ मेला- जसले ओली रजगजको आयु थप्यो « Drishti News – Nepalese News Portal
Logo
टिप्पणी

गोदावरीको त्यो कुम्भ मेला- जसले ओली रजगजको आयु थप्यो


मिलन लिम्बू


नेकपा एमालेको विधान महाधिवेशन भर्खरै सम्पन्न भयो । पार्टीको नीति तय गर्न छुट्टै महाधिवेशन गर्नु सुखद सुरुवात हो । अब एमालेमा नेतृत्व छान्ने होडले नीति निर्माण ओझेलमा पर्ने छैन । जे जस्तो भएपनि विधान महाधिवेशनमार्फत एमालेले आगामी नेतृत्व चयन गर्नेछ । १०औँ महाधिवेशनमा एमाले नेतृत्व पुनः एकपटक केपी शर्मा ओलीले सम्हाल्नेछन् ।

आवरणमा विधान महाधिवेशन गरेर एमालेले नीति निर्माणलाई प्राथमिकता दिएको जस्तो देखिन्छ । तर, वास्ताविकता त्यस्तो रहेन । तामझामका साथ सम्पन्न विधान महाधिवेशन ‘कुण्ठा मेला’ भन्दा फरक भएन । अर्थात, नीति निर्माणका लागि भएको महाधिवेशनमा कुण्ठा पोख्नेबाहेक केही भएन । विधान महाधिवेशनमार्फत कम्युनिष्ट आन्दोलनले सामना गरिरहेको संकटको वस्तुगत संश्लेषण गर्न एमाले असफल भए । यो नै मुल कुरा थियो । जुन कुरामा एमाले चुक्यो । यसले एमालेको भविष्य प्रष्ट हुन्छ ।

नेकपा एमाले चरम संकटमा छ । ऐतिहासिक अवसर गुमाउँदै सत्ताविहीन मात्र बनेन, पार्टी विभाजन जस्तो दुःखद संयोग सामना गरिरहेको छ । नीति निर्माणका लागि भएको महाधिवेशनमा यी विषयलाई आधार मानेर गम्भीर समीक्षा गर्दै संश्लेषण आवश्यक थियो । ऐतिहासिक एकताको आधारमा बनेको ‘नेकपा’ खारेजी, दुर्लभ संयोग मानिएको ‘दुईतिहाइ बहुमतको सरकार’ गुमाउनुपर्ने असामान्य परिस्थिति र विभाजनजस्तो गम्भीर संकट सामनाबारे मिहीन बहस र संश्लेषण गरिनुपर्ने थियो । तर, यी कुरामा एमाले गम्भीर हुन सकेन ।

तीन दशकको अवधिमा एमाले देशकै ठूलो राजनीतिक शक्ति बन्यो । ऐतिहासिक एकताको आधारमा बनेको इतिहासकै ठूलो कम्युनिष्ट पार्टीको एक हिस्सा बन्यो । त्यसैको आलोकमा एमालेका वर्तमान अध्यक्ष केपी शर्मा ओली दुईतिहाइ बहुमतको सरकार नेतृत्व गर्दै शक्तिशाली प्रधानमन्त्री बने । यो असामान्य सफलता थिएन । तर आज, सफलताको त्यो उचाइबाट एमाले एकैपटक फेदीमा झरेको छ । यो भन्दा ठूलो असफलता केही हुन सक्दैन । देख्दा एमालेको असफलता देखिन्छ । तर, यो समग्र कम्युनिष्ट आन्दोलनकै असफलता हो । यो विषयमा एमालेले गम्भीर समीक्षा गर्न सकेन ।

कम्युनिष्टहरुमा ‘आत्मलोचना’ शब्दको ठूलो महत्व हुन्छ । र, ठूलै मर्म पनि । सिँगो एमाले यतिबेला गम्भीर आत्मलोचनाको विन्दुमा पुगेको छ । विधान महाधिवेशनमा आफ्ना सम्पूर्ण गल्तीहरुलाई स्वीकार गर्दै आत्मलोचना गर्नुपर्ने थियो । आत्मलोचनाले तय गर्ने शुन्यताबाट एमाले नयाँ जीवनका लागि तयार हुनुपर्ने थियो । मुल नेतृत्वको रुपमा आफूभित्र हुर्केको ‘तानाशाही प्रवृत्ति’ वर्तमान संकटको कारण हो, भन्न ओलीले कन्जुस्याइँ गर्नु हुँदैनथ्यो ।

आफ्नै कारण नेकपा खारेज भयो भन्न सक्नुपर्ने थियो । हुँदाखादाको दुईतिहाइको सरकार गैरकम्युनिष्टलाई हस्तान्तरण गर्नुपर्ने वातावरण बन्नुको मुल कारण मेरै कमजोरी हो भन्न ओली तयार हुनुपर्ने थियो । पार्टी भित्रको अन्तरविरोध व्यवस्थापन गर्न नसक्दा पार्टी विभाजन भयो भन्न ओलीले आनाकानी नगर्नु पर्ने थियो । अर्थात, आत्मलोचनाको विन्दुबाट एमालेले परिस्थितिको समीक्षा गर्न आवश्यक थियो ।

वर्तमान परिस्थितिबारे सिँगो देश जानकार छ । नेकपा हुँदा आन्तरिक शक्ति सन्तुलन बिगार्ने ओली नै थिए । शक्ति सन्तुलत बिग्रदा नेकपामा अन्तरसंघर्ष उत्कर्षमा पुगेको सबैले बुझेका छन् । अन्तरसंघर्ष व्यवस्थापन गर्नुको सट्टा प्रतिगमन रोज्ने ओली नै थिए । प्रतिगमन असफल हुँदा नेकपा खारेज गर्ने पनि ओली नै थिए । नेकपा खारेजीपछि एमालेको अन्तरसंघर्षलाई विभाजनसम्म पुर्याउने पनि ओली नै थिए ।

पक्षधरताको धरातलबाट बाहिर निस्केर हेर्दा देखिने विगत यो नै हो । बारम्बार प्रमाणित भएको कुरा पनि यो नै हो । अर्थात, गल्ती भएकै थियो । दुनियाँले ओलीबाट गल्ती भयो नै भनेका छन् । दुनियाँमा आफ्ना बदनियत प्रमाणित भइसकेपछि पनि फगत तुष्टिहरुको शिखर उक्लने कोसिस गरेर वस्तुगत अवस्था छोप्नु ओलीबाट अर्को गल्ती भएको छ । गल्तीहरु छोपेर अर्को गल्ती गर्नुभन्दा गल्ती स्वीकार्नु नै ओली र एमालेजनका लागि उपयुक्त थियो । त्यसका लागि न ओली तयर भए, न देशभरबाट भेला भएका ६ हजार कार्यकर्ता नै तयर हुन सके । एमालेको विधान महाधिवेशन कुम्भ मेला सीमित भयो ।

चरम संटकको समयमा सम्पन्न हुँदै गरेको विधान महाधिवेशनमा प्रस्तुत अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन अधिक चासोको विषय थियो । एक पाका कम्युनिष्ट नेतृत्वको रुपमा ओलीबाट आउने प्रतिवेदमा कम्युनिष्ट आन्दोलनले भोग्नु परेको संकटबारे गहन विश्लेषणको अपेक्षा गरिएको थियो । तर, ओलीको प्रतिवेदन त्यस्तो थिएन । ओलीको प्रतिवेदनमा पछिल्ला घटनाक्रम समेटिएका छन् । तर, वस्तुगत विश्लेषण छैन ।

ओलीले ‘चुच्चे नक्सा ल्याउनु नै असफलताको कारण बन्यो’ भनेर गैरराजनीतिक दृष्टान्त पेस गरे । लोकलाई थाहा भएको कुरा भारतले मिचेको जमिन समेटिएको नेपालको नयाँ नक्सा पारित गर्ने सवालमा संसदमा कोही प्रतिपक्ष थिएनन् । यो आधारमा नयाँ नक्साकै कारण सत्ताबाट बाहिरिनुपर्ने परिस्थिति बन्यो भन्नु वस्तुत विश्लेषण हुँदैन । यसमा बाह्य शक्तिको भूमिका थियो भन्न खोजेको भए त्यसको विस्तार व्याख्या चाहिन्थ्यो । तर, ओलीबाट वस्तुगत विश्लेषण भएन । गल्ती छोप्ने काममात्र भयो ।

नीति निर्माणका लागि सम्पन्न महाधिवेशनमा व्यापक वैचारिक बहस हुनुपर्ने थियो । विचारधारात्मक सवाल एमालेभित्र लामो समयदेखि गहन विषय बन्दै आएको छ । एकीकृत माक्र्सवादी लेनिनवादी पार्टीको रुपमा अघि बढ्दै आएको एमालेमा जनताको बहुदलीय जनवाद ‘जबज’लाई के गर्ने भन्ने ठूलो अलमल छ ।

मार्गनिर्देशक सिद्धान्तको रुपमा जबजलाई अंगिकार गर्नुपर्ने माग छदैछ । जबजले तय गरेको गन्तव्य पुगिसकियो भन्ने कोणबाट पनि बहस हुँदै आएको छ । अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदनमा उपमहासचिव घनश्याम भुसालले तीन बुँदे फरक मत राखेका थिए । त्यो फरक मतमा वैचारिक सवालहरु जोडिएका थिए । तर, महाधिवेशनमा त्यो फरक मत पेस नै भएन । ‘जबजलाई थप ब्याख्या गरौं’ भन्ने घनश्यामको लाइन गुमनाम रह्यो । अर्थात, विधान महाधिवेशनमा वैचारिक सन्दर्भले स्थान नै पाएन ।

एमाले विधान महाधिवेशनको दृश्य हेर्न लायक थियो । ‘भनियो विधान महाधिवेशन, गरियो ओलीलाई देवत्वकरण !’ विधान महाधिवेशनले ओली देवत्वकरणलाई वैधानिकता दिएको छ । माइतीघर मण्डलादेखि गोदावरीसम्मका बिजुलीका पोल पोलमा ओलीको फोटो टाँसियो, पानीको बोतलदेखि सभागृहका कुना–कुनामा ओली बुख्याँचाको रुपमा देखिए । तर, वैचारिक रुपमा एमालेको आदर्श पात्र माक्र्स र लेनिनको फोटो योजनावद्व रुपमा विधान महाधिवेशनबाटै हटाइयो ।

अर्थात, अब ‘ओली भनेको एमाले, एमाले भनेको ओली’ भन्ने चाहनाले वैधानिकता पाएको छ । एमालेले आफ्नो ब्यानरबाट माक्र्स र लेनिनको फोटो हटनाउनुको सिधा अर्थ अब एमालेका लागि माक्र्सवाद लेनिनवाद चाहिँदैन भन्ने नै हो । यसको मतलव अब एमालेमा सैद्धान्तिक वैचारिक विषय ओझेलमा पर्दै गएको छ ।

विधान महाधिवेशनलाई एमालेले नीति निर्माणको सर्वोच्च निकायको रुपमा व्याख्या गरेको छ । तर, पहिलो महाधिवेशनमार्फत त्यो सन्देश दिन एमाले असफल भयो । नीति निर्माण गर्ने महाधिवेशन सबैभन्दा धेरै आगामी नेतृत्वको विषयमा केन्द्रित भयो । ७० वर्षे उमेर हदम्याद कायम राख्दा ओली पुनः अध्यक्ष हुन पाउँछन् कि पाउँदैनन् भन्ने विषय प्रधान बन्यो ।

सैद्धान्तिक वैचारिक छलफलको सवाललाई पर धकेलेको एमाले ओलीलाई पुनः अध्यक्ष बनाउन सहज हुनेगरी उमेर हदम्यादको व्याख्याका लागि समय खर्चन तयार भयो । समग्रमा भन्दा एमालेको विधान महाधिवेशन ७० कटेर सक्रिय राजनीतिबाट विदा लिनुपर्ने अवस्थामा पुगेका ओलीलाई पुनः पाँच वर्ष अध्यक्ष बनाउने वातावरण बनाउन सफल भएको छ ।

एमालेको विधान महाधिवेशन त सम्पन्न भयो । तर, एमाले र समग्र कम्युनिष्ट आन्दोलनका लागि अर्थपूर्ण हुन सकेन । न एमालेको लागि समय सुहाउँदो नीति नै बन्न सक्यो न समग्र कम्युनिष्ट आन्दोलनलाई मार्गदिर्नेशन गर्नसक्ने सैद्धान्तिक बैचारिक धरातल नै तय भयो ।

मेला भर्न देशभरका नेता कार्यकर्ता गोदावरी पुगे, गोदावरीको मनोरम वातावरणमा केही दिन रमाए, ओली अतिवादको जयजकार गर्दै ओलीलाई देवत्वकरण गरेर फर्के ! गोदावरीमा सम्पन्न कुम्भ मेलाले न एमालेलाई सही दिशा दिन सक्यो, न समग्र कम्युनिष्ट आन्दोलनलाई नै । यस अर्थमा एमालेको विधान महाधिवेशन अर्थहीन बन्यो ।

प्रतिक्रिया दिनुहोस्