Logo
Logo

पुल बन्यो, तर ट्युबबाटै आवतजावत


- दृष्टि न्युज/संवाददाता


दार्चुला, १८ वैशाख । लेकम गाउँपलिका–३ लालीस्थित छिरबिला भन्ने ठाउँमा नेपाल–भारत जोड्ने झोलुङ्गे पुल निर्माण भएको झण्डै पाँच महीना पुग्न लाग्दा पनि सञ्चालन हुन सकेको छैन । पुल सञ्चालनमा नआउँदा स्थानीयवासीले अहिले पनि ट्युबमार्फत् खोला तरेर आवतजावत गर्न बाध्य छन् ।
पुल निर्माणपछि आवतजावतमा सहज होला भन्ने सोचेका स्थानीयवासीले अहिलेसम्म त्यसको प्रयोग गर्न पाएका छैनन् । झोलुङ्गे पुल सञ्चालनका लागि दुवै देशको सहमति आवश्यक भएको हुँदा यसमा केही ढिलाइ भएको हो । केपी शर्मा ओली पहिलोपटक प्रधानमन्त्री हुँदा देशभरका तुइन विस्थापन कार्यक्रमअन्तर्गत महाकाली नदीमा नेपाल भारत जोड्ने झोलुङ्गे पूल निर्माण भएको लामो समयसम्म पनि सञ्चालनमा आउन नसक्दा स्थानीयवासीले सास्ती भोग्नुपरेको छ ।
शुरुमा प्रहरीको सुरक्षार्थ विट नभएको भनेर शुरु हुन सकेको थिएन । दुवै देशका अधिकारीले पुलको निरीक्षण गरेपछि दुवैतर्फ लेकम गाउँपालिकाले सुरक्षा पोष्ट, शौचालय बनाइदिने सहमति भयो । सहमति अनुरुप लेकम गाउँपालिकाले नेपाल भारत दुवैतर्फ प्रहरी पोष्ट, शौचालय, पर्खाल बनाइदिएको छ । दुवैतिर सुरक्षाकर्मीको मागअनुसार काम सम्पन्न भएको छ । नेपालतिर प्रहरीका लागि प्रहरी विट, शौचालय निर्माणमा रु दुई लाख खर्च भयो भने भारतीय पोष्ट, शौचालय र बाटो निर्माण गर्दा रु सात लाख ५० हजार खर्च भएको गाउँपालिका अध्यक्ष प्रमानन्द जोशीले बताए ।
जोशीले भने, ‘हामीले उहाँहरुको मागअनुसार काम गरिदिएका छौँ, नागरिकले दुःख पाएका छन् । बिरामी हुँदा अहिले पनि ट्युबको जोखिम मोल्नुपरेको छ । वारीपारी रोटिबेटीको सम्बन्ध छ । विवाहवारी त्यही ट्युबमार्फत् गर्नुपरेको कारण छिटो पुल नियमित सञ्चालनको लागि माग गरेका छौँ ।’
लेकम गाउँपालिकाले जिल्ला प्रशासन कार्यालयलाई झोलुङ्गे पुलको नियमित सञ्चालनका लागि आग्रहसहितको पत्रचार गरिएको उहाँले बताउनुभयो । काम सम्पन्न भइसकेको अवस्थामा पनि पुल बन्द गरेर राख्दा लेकम क्षेत्रका नागरिकले समस्या झेल्नुपरेको छ ।
जिल्ला प्रशासन कार्यालयले लेकम गाउँपालिकाबाट आएको पत्रको आधारमा भारतीय प्रशासनलाई पत्रचार गरिसकेको सहायक प्रमुख जिल्ला अधिकारी टेकसिंह कुँवरले बताए । हामीले गाउँपालिकाको पत्रलाई आधार मानेर भारतीय प्रशासनलाई पत्रचार गरेका छौँ, अबै छिट्टै दुवैतर्फबाट पुल निरीक्षणपछि नियमित आवागमन गरिने छ ।’ आवश्यक पहल भइरहेको छ, दुवैतर्फका प्राविधिकको अनुगमनपछि पुलमा नियमित आवतजावत हुने उनले बताए ।
दुई देशका मामला भएको कारण केही ढिलाइ भएको हो, उनले भने । पुल निर्माण भए पनि आवतजावत गर्न नदिँदा स्थानीय अहिले पनि पुलको तलबाट ट्युबमार्फत वारपार गर्ने गरेका छन् । बिहानदेखि बेलुकीसम्म स्थानीयवासी त्यही पुल तलबाट वारपार गर्छन्, स्थानीय प्रेमराम पार्कीले बताए । उनले पुल बने पनि प्रयोग गर्न नपाउँदा ट्युबबाट पुल हेर्नुको विकल्प नभएको बताए ।
लेकम गाउँपालिकालाई भारतसँग जोड्ने गरी ०७३ असोज ४ गते कूल रु एक करोड ३२ लाख लागतमा मनोमालिका कन्र्सटक्सनसँगले झोलुङ्गे पुल निर्माण गरेको हो । ढिलै भए पनि पुल निर्माणपछि स्थानीय हर्षित भएका थिए तर पाँच महीनासम्म पुलमा आवतजावत गर्न नपाउँदा स्थानीयवासी निराश भएका छन् । लेकम क्षेत्रकै व्यापारी मार्गको रुपमा प्रयोग हुने उक्त पुल निर्माणले यहाँको आर्थिक कारोवार भारतसँग बढी जोडिने छ । रासस

प्रतिक्रिया दिनुहोस्