Logo
Logo

अभियन्ता रुबी खानलाई बहुविवाह मुद्दा चलाउने प्रहरी तयारी ?




काठमाडौं । महिला हिंसाविरुद्धको आन्दोलनको नेतृत्व गरेर नेपालगञ्जबाट पैदलयात्रा हिडेर काठमाडौं आउने टोलीकी नेतृ रुबी खानलाई प्रहरीले बहुविवाह मुद्दा चलाउने तयारी गरेको छ ।


उनीविरुद्ध यसअघि नै प्रहरीमा बहुविवाह मुद्दा दर्ता भएको खुलेको छ । तर, अभियान्ता भन्दै प्रहरीले पक्राउ गरेको थियो । उनलाई काठमाडौंबाट नेपालगञ्ज लगिएको छ ।


महिला हिंसाविरुद्ध आन्दोलन भन्दै उनले प्रहरीलाई बदनाम गराएको भनेर पक्राउ गरी मुद्दा चलाउन लागिएको बाँके प्रहरी स्रोत बताउँछ ।
दुई शंकास्पद मृत्युको घटनालाई हत्या भएको भन्दै उनीहरुले आन्दोलन गर्दै आएका छन् । बाँकेको नेवाजी गाउँकी नन्कुन्नी धोबी र बाँकेको परसपुर गाउँकी निर्मला कुर्मीको मृत्युको विषयलाई लिएर उनीहरुले प्रहरीले राम्रोसँग अनुसन्धान नगरेको भन्दै आन्दोलन गर्दै आएका हुन् ।
धोबी गत ५ साउनमा मृत फेला परेकी थिइन् । झुन्डिएको अवस्थामा घरमै उनको शव फेला परेको थियो । सो घटनामा प्रहरीले उनका श्रीमान र जेठानलाई पक्राउ गरी आत्महत्या दुरुत्साहन मुद्दा दायर गरेकोमा उनीहरु पुर्पक्षका लागि कारागार चलान भएका छन् ।
कुर्मी सुरुमा बेपत्ता भएकोमा पछि मृत भेटिएकी थिइन् । उनको पनि हत्या भएको दाबी गरिएको छ । तर, प्रहरीले त्यसको प्रमाण नभेटिएको जनाएको छ ।


बाँकेका एसपी श्यामकृष्ण अधिकारी र डिएसपी मधुसुदन न्यौपानेले पीडितसँग राम्रो व्यवहार नगरेकाले पनि यो घटनाले उग्र रुप लिएको स्रोत बताउँछ । विवादास्पद पृष्ठभुमी भएका एसपी अधिकारी बहुविवाह मुद्दा चलाएर आन्दोलनलाई परास्त पार्ने योजनामा छन् । यसले आन्दोलनलाई थप चर्काउने जेखिम समेत छ ।

प्रतिक्रिया दिनुहोस्