Logo
Logo

चाडवाडको उमंग र दुर्घटनाको डर



हिन्दू धर्मलम्बीहरूको महान चाड दशैँले छोपिसक्यो । चाडपर्व नजिकिएसँगै देश–विदेशका प्रवासीहरू गाउँघर फर्कने क्रम जारी छ । कति त घर फर्किसके, कति फर्कने दिन कुर्दै छन् । सधैँ काममा व्यस्त हुनेहरू यतिबेला घर जानका लागि किनमेल र तयारीमा व्यस्त छन् ।

दशैँमा घर जाने तम्तयार गर्दाको उत्साह छुट्टै । घर र्फकने कुराले सारा कष्ट नै भुलाइदिने । छरिएर बसेका परिवारका सदस्यबीच भेटघाट हुने कुरा सम्झँदा बेग्लै उमंग । पुराना साथीसंगी भेट्ने, भलाकुसारी र रमाइलो गर्ने कुराले त अहिले नै गाउँघर हिँडिहालुजस्तो लाग्ने । त्यसैले आफ्नो कर्मथलोमा आनन्दको जीवन विताइरहेकाहरू पनि घर फर्कन हतारिन्छन् । जस्तोसुकै कष्ट भोग्न पनि तयार हुन्छन् ।

घर फर्कन जति हतारो गर्छौँ, सवारी दुर्घटनाको भय पनि उतिकै नजिकिने गर्छ । चाडपर्व मनाउन घर फर्कने यात्रुलाई कतै केही हुने पो हो कि ? भन्ने डरले सधैँ सताउँछ । वर्षैपिच्छे दशैँ तिहारजस्ता चाडपर्वमा ठूलो जनधनको क्षति हुने गर्छ । ट्राफिक प्रहरीको तथ्यांकलाई हेर्दा प्रत्येक वर्ष दशैँमा सवारी दुर्घटनाबाट एक सय बढीको मृत्यु हुने गरेको पाइन्छ ।

घर फर्कन तम्तयार हुनेहरू उत्साहित त छन् नै । उत्साहसँगै दुर्घटनाको त्रास पनि उस्तै छ । दशैँ, ‘दशा’मा पो परिणत हुने हो कि भन्ने चिन्ताले सधैं सताउँछ ।

चाडवाडलाई लक्षित गर्दै महानगरीय ट्राफिक प्रहरी महाशाखाले अरु वर्षहरुले जस्तै यस वर्ष पनि चाडपर्व लक्षित विशेष योजना ल्याएको छ । महाशाखाको विशेष योजनामा लामो दूरीका सवारी साधनमा क्षमताभन्दा बढी यात्रु राखे/नराखेको, बढी भाडा लिए/नलिएको, चालकले मापसे गरे/नगरेको, स्वास्थ्य मापदण्ड पालना भए/नभएको, सवारी साधनमा २ जना चालक अनिवार्य रुपमा भए/नभएको चेकजाँच गर्ने महाशाखाले जनाएको छ । ट्राफिक प्रहरीको एप्सबाट समेत चेकजाँच गर्ने विषेश योजनामा उल्लेख छ ।

ट्रफिक महाशाखाले विशेष योजना ल्याएपनि सवारी दुर्घटना कम हुनेमा विश्वस्त गर्न सकिँदैन । किनकि चाडवाडलाई लक्षित गर्दै महाशाखाले सालैपच्छिे दशैँ सुरक्षा योजना ल्याउँछ । तर, दुर्घटना भने कमी आउन सकेको छैन । ट्रफिकका यस्ता योजनाले मात्रै यात्रु ढुक्क हुने स्थितिमा छैन ।

ट्रफिकको विशेष योजनाले ठगिँदैन भनेर ढुक्का हुने वातवरण पनि छैन । ट्राफिक प्रहरीकै मिलेमतोमा यात्रु ठगिने पनि गरेका पाइन्छ ।

किन बढी हुन्छ दुर्घटना ?

दुर्घटनाको मुख्य कारण भनेको चालकको लापरबाही नै हो । सडकका कारण पनि दुर्घटना हुने गर्छ । सार्वजनिक तथा निजी सवारी चालकको ‘ओभर कन्फिडेण्ट’ले कतिबेला दुर्घटना हुन सक्छ भन्ने कुरा स्वयं चालकलाई थाहा हुँदैन ।

त्यस्तै दुर्घटना हुनुमा तीव्र गति, मादक पदार्थ सेवन, थकान, क्षमताभन्दा बढी यात्रु चढाउने, अनावश्यक प्रतिस्पर्धा, यान्त्रिक गडबढी, सवारीसाधनको नियमित मर्मतसम्भार नर्गनु, सडकको दुरवस्था र ट्राफिकसम्बन्धी नियम पालना नगर्नु पनि हो ।

मापसे गरेर गाडी चलाउन हुँदैन भन्ने थाहा हुँदहुँदै पनि धेरै चालकले मापसे गरेर चलाउने गरेको पाइन्छ । कति चालकले भने ट्राफिकसम्बन्धी नियम थाहा हुँदाहुँदै पनि पालना गर्दैनन् । कतिलेचाहिँ ट्रफिक प्रहरी देख्दा पालना गर्छन्, अन्यत्र पालना गर्दैनन् । कति चालकलाई चाहिँ ट्राफिकसम्बन्धी नियम थाहासमेत हुँदैन ।

कमाउने लोभमा विशेषगरी चाडपर्वको बेला क्षमताभन्दा बढी यात्रु बोक्ने लहड पनि चल्छ । यता, चालकले आरामसमेत गर्दैनन्, उनलाई पैसा कमाउनकै मात्रै ध्यान हुन्छ । जसले गर्दा गाडी कन्ट्रोल गर्न गह्रो हुन्छ ।

चालकको कारणले मात्रै होइन, यात्रुको कारण पनि दुर्घटना हुनेगर्छ । कतिले मादर्कपर्दाथ सेवान गरेर चालकलाई धम्की दिन्छन् । चालकले एकछिन आराम गर्छुभन्दा पनि दिँदैनन् । समयमै गन्तव्यमा पुर्याउन दबाब दिने गर्छन् ।

दशैँ मनाउन जसरी भएपनि सबैलाई घर फर्कनु पर्ने हुन्छ । ४, ५ घण्टाको बाटो त हुटमा चढेरै जाने गर्छन् । क्षमताभन्दा बढी यात्रु बोक्दा दुर्घटना हुन्छ भन्ने सबैलाई थाहा हुन्छ, तर त्यतातिर हाम्रो ध्यान जाँदैन । गाउँघरतिर स्थानीयको सोच हुन्छ– ‘यो हाम्रो गाउँमा आएको गाडी हो, जसरी भएपनि चढ्न पाउनुपर्छ, हामी नचढे को चढ्ने ?’

गाडीले आफूहरूलाई नचढाएको भन्दै धेरै ठाउँमा स्थानीयले आन्दोलन गरेको, गाडी तोडफोड र आगजानी गरेको धेरै उदाहरणहरू छन् । त्यसैले कतिपय गाडीले क्षमताभन्दा बढी यात्रु बोक्न बाध्य हुन्छ । कतिपयले चाहिँ बाटामा भेटेजति सबै उठाउँदै हिँड्छ । कमाइ राम्रो भयो भन्दै खुसी पनि हुन्छन् । दुर्घटनामा परिन्छ भन्ने सोच्दैनन् ।

सवारी चालकको गल्तीलाई ट्राफिकले आम्दानीको स्रोत बनाउने हुँदा पनि दुर्घटना हुनेगर्छ । आफ्नो गल्तीलाई चालककले पैसाले ढाकछोप गरिदिन्छन् । त्यसपछि त तैँ चुप, मै चुप ।

त्यसो त पहाडतिर साँघुरो कच्चा सडक र मापदण्डविपरीत बनेका हुन्छन् । क्षमताभन्दा बढी यात्रु कोच्नाले सडकबाट गाडी पल्टिने गरेको धेरै उदाहरण पाइन्छ । अन्य कारण भनेको बाटो हिँड्ने बटुवा, जनावरहरू र अरु सवारीसाधन पनि दुर्घटना हुनेगर्छ ।

कसरी कम गर्ने ?

वर्षेनी बढिरहेको दुर्घटनालाई कम गर्न सबैभन्दा पहिले त चालक नै सचेत हुनुपर्छ । सरकार तथा सम्बन्धित निकायले पनि यसलाई गम्भीर रुपमा लिन जरुरी छ । यसका साथै रातिको लागि विशेष ट्राफिक संकेत बोर्डहरू राख्नुपर्छ । सिट संख्याभन्दा बढी यात्रु बोक्नेलाई कारबाही गर्नुपर्छ । सडकको प्राविधिक परीक्षण नगरी सवारी सञ्चालनको अनुमति दिनु हुँदैन ।

त्यस्तै, सडक मापदण्ड तोकिएको अनुसार हुनुपर्छ । यात्रुमा पनि जनचेतना जगाउन जरुरी छ । ठाउँ–ठाउँमा सवारी दुर्घटनाको विषयमा जानकारी दिन केन्द्र स्थापना गर्नुपर्छ । ट्राफिक प्रहरीले पनि सवरी सुरक्षा तथा चेकजाँचलाई प्रथामिकता दिनुपर्छ । चालकको कमजोरीलाई आम्दानीको स्रोत बनाउन हुँदैन ।

स्थानीय निकायले इन्जिनियरिङ मापदण्डविपरीत आफूखुसी सडक बनाउनु हुँदैन । सडक निर्माण गर्दा मापदण्डअनुसारमात्रै बनाउनुपर्छ । सडक विस्तार कार्य तीव्र बनाउँदै सडकलाई बलियो र फराकिलो बनाउनुपर्छ । जसले गर्दा सवारी दुर्घटनालाई केही हदसम्म भएपनि कम गर्न सकिन्छ ।

लामो दूरीका रात्रि र दिवासेवाका सवारीमा दुईजना चालक राख्नुपर्छ । चालकले मापसे गरेर चलाएको शंका लागे यात्रुले तत्काल नजिकैको प्रहरी वा १०३ नम्बरमा जानकारी गराउन गराउनुपर्दछ । चालकलाई यात्रुले अनावश्यक मानसिक दबाब, धम्की दिनु हुँदैन । यात्रु पनि इमान्दार बन्नुपर्छ ।

प्रत्येक दुर्घटनाको छानबिन हुनुपर्छ । बाहिरबाट सरसर्ती हेर्दा चालकको गल्ती देखिएपनि त्यसको मुल कारण अर्को पनि हुनसक्छ । त्यसलाई पहिचान गर्नुपर्छ । र, त्यसबाट पाठ सिक्नुपर्छ  । प्रहरीले कारबाहीका लागि गरिरहेको छानबिनले मात्र पुग्दैन  । दुर्घटनाको छानबिन गरी प्रतिवेदन तयार पर्नुपर्छ । र, सोही प्रतिवेदअनुसार दण्ड, सजाय गरिनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्