Logo
Logo

रमेश खरेल र सर्वेन्द्र खनाल राजनीतिक दल खोल्ने तयारीमा




काठमाडौं । नेपाल प्रहरीका दुई चर्चित पूर्व अधिकृत राजनीतिमा लाग्ने तयारी थालेका छन् । रमेश खरेल र सर्वेन्द्र खनाल राजनीतिमा लाग्न लागेका हुन् ।


पूर्व डिआइजी खरेलले आइतबार यसको औपचारिक घोषणा गरेका छन् । रत्नपार्क शान्ति बाटिकामा पत्रकार सम्मेलन गरेर नयाँ पार्टीको विचार, नीति र सिद्धान्तबारे आमरुपमा छलफल भइरहेको जानकारी दिए । उनले विगतदेखि नै सुशासन अभियान चलाउँदै आएका छन् । आफ्नो पार्टी मुलतः भ्रष्टाचारविरुद्ध सक्रिय हुने् उनको भनाई । पत्रकार सम्मेलनमा भने, ‘देशभरि नेपाल आमाको रगत खानेहरूलाई हामी कानुनी दायरामा ल्याउँछौं। रहरले नभएर बाध्यताले गर्दा पार्टी खोल्ने तयारी गरेको उनको भनाई छ । ‘देशमा कुशासन व्याप्त छ। सिंहदरबारका राजनीतिक व्यवसायीले बारम्बार शोषण गरे,’ खरेलले भने, ‘जनतालाई कसरी शोषण गर्न सकिन्छ र भ्रष्टाचार कसरी गर्न सकिन्छ भन्ने अभिप्रायले भागबण्डा हुन्छ।’

‘घुस नदिए कुनै अड्डामा काम हुँदैन। आम जनताले बुझ्नुपर्ने कुरा के छ भने सिंहदरबारदेखि तल गाउँसम्म भ्रष्ट प्रवृत्ति। सिंहदरबारले कमिसन र भ्रष्टाचार गर्न सिकाएको छ,’ उनले भने।


यस्तो अवस्थालाई कति सहेर बस्ने? कति टुलुटुलु हेरेर बस्ने? भन्दै खरेलले भ्रष्टाचारीहरूविरूद्ध सहकार्य गर्न जनतालाई अपिल गरे। ‘हामी राम्रा मान्छे एक हौं, देशलाई माया गर्ने जनता एक ठाउँमा संगठित हौं,’ खरेलले भने, ‘नराम्रा मान्छे संगठित छन्। अपराधी, भ्रष्टाचारी र गुण्डा संगठित छन्।’ राम्रा मान्छे एकजुट हुने हो भने पाँच वर्षमा देश कायापलट हुने उनले बताए।


पूर्व आइजिपी खनाल पनि राजनीतिक पार्टी खोल्ने तयारीमा छन् । ज्ञानेन्द्र शाही लगायत व्यक्तिसँग मिलेर पार्टी खोल्ने उनको तयारी छ । यसअघि एमाले सांसद महेश बस्नेतसँग राखेर सांसद अपहरण प्रकरणमा उनी मुछिएका थिए ।

यसरी खरेलले पनि शाहीसँग सहकार्य गर्ने तयारी गरेका थिए । तर, शाहीको विवादास्पद पृष्ठभुमी थाहा पाएपछि उनीसँग टाढिएका थिए ।

प्रतिक्रिया दिनुहोस्