Logo
Logo

घनश्याम भुसालले केपी ओलीसँग अध्यक्षमा प्रतिस्पर्धा गर्ने



काठमाडौ । नेकपा (एमाले)मा वैचारिक नेताका रुपमा छवि बनाएका उपमहासचिव घनश्याम भुसालले पार्टीको मूल नेतृत्वको रुपमा आफूलाई उभ्याउने संकेत गरेका छन् । अर्थात, पार्टीको १०औं महाधिवेशनमा अध्यक्ष पदको दावी गर्दैछन् ।

आइतबार उपमहासचिव भुसालले काठमाडौंमा विजयादशमी, दिपावली, छठ लगायत चाडपर्वका अवसर पारेर पत्रकारहरुसँग चियापान गरे । चियापानमार्फत भुसााले १०औं महाधिवेशनमा अध्यक्ष पदमा उम्मेवारी दिने सन्देश दिए ।

अध्यक्षमा उम्मेदवारी दिने विषयमा भुसालले भने– ‘हाम्रो पार्टीको विधानमै स्पष्ट व्यवस्था छ । केन्द्रीय कमिटीको पदाधिकारी भइसकेको व्यक्ति अध्यक्षको उम्मेदवार बन्न सक्छ । १०औं महाधिवेशनमा सोही अनुसार हुन्छ । अरु कमरेडहरु जस्तै म पनि सबै कोणबाट पार्टीको मूल नेतृत्वका लागि योग्य छु ।’ अर्थात भुसाले ‘अध्यक्षका लागि म पनि तयार छु’ भन्न खोजेका हुन् ।

लामो समय माधवकुमार नेपालसँग रहँदै आएका भुसाल पार्टी विभाजनको क्रममा नेपाललाई छोडेर केपी शर्मा ओलीसँग समाहित भए । तर, मुल पार्टीमै फर्के पनि अपेक्षाकृत वातावरण नबनेपछि भुसालले नयाँ योजना बनाएको हुने सक्ने विश्लेषण हुने गरेको छ । अध्यक्ष केपी शर्मा ओली १० बुँदे प्रस्ताव कार्यान्वयनका लागि तयार नहुनु र सम्पन्न विधान महाधिवशेनमा आफूले राखेको फरक मतमा छलफल नै नहुनुले पनि भुसाल तनावमा छन् ।

हालै सम्पन्न एमालेको विधान महाधिवेशनले ७० वर्षे उमेर हदम्यादको व्याख्या गर्दै अध्यक्ष केपी शर्मा ओलीलाई पुनः अध्यक्ष हुन सहज हुने गरी विधान संशोधन गरिएको छ । अध्यक्ष ओली १०औं महाधिवेशनमा अध्यक्षमा उम्मेदवार हुँदै गर्दा सर्वसम्मत हुन सक्दैनन् ।

एमाले भित्र ‘१० भाइ’ भनेर चिनिने नेता मध्येका एक उपमहासचिव भुसाल पनि हुन् । बैचारिक नेताको रुपमा चिनिने उपमहासचिव भुसालले महाधिवेशनमा ओलीसँग प्रतिस्पर्धा गर्न आन्तरिक तयारी थालेको बुझिन्छ ।

एमालेको १०औं महाधिवेशन अगामी १०–१३ मंसिरमा बुटवलमा हुने निर्णय भइसकेको छ । हालै सम्पन्न प्रथम विधान महाधिवेशनले पार्टीको विधान संशोधन सहित पारित गर्दै महाधिवेशनको मिति समेत टुंगो लगाइसकेको छ ।

राष्ट्रिय महाधिवेशनले एमालेको नयाँ नेतृत्व चयन गर्नेछ । विधान महाधिवेशनबाट एमालेको पदाधिकारीसहित कमिटीहरूको संख्या र आकार निर्धारण भइसकेको छ । सम्पन्न विधान महाधिवेशनले १५ सदस्यीय पदाधिकारी रहने निर्णय गरेको छ । पदाधिकारीहरूमा १ अध्यक्ष, वरिष्ठ उपाध्यक्षसहित ५ उपाध्यक्ष, १ महासचिव, १ उपमहासचिव र ७ सचिव सहित २ सय २५ सदस्यीय केन्द्रीय कमिटी हुने विधान पारित भएको छ ।

आजै आयोजित एक कार्यक्रममा महासचिव ईश्वर पोखरेलले अध्यक्ष ओली अध्यक्षमा उम्मेदवार भएको अवस्था बाहेक आफूले पनि अध्यक्षमा उम्मेदवारी दिने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्