Logo
Logo

सइ डिआइजी भए, सशस्त्रमा इन्सपेक्टरको कन्तबिजोग



काठमाडौं । गृह मन्त्रालय र संगठनको नेतृत्व संवेदनशील नबन्दा सशस्त्र प्रहरकिा अधिकारीहरूको करिअर चौपट बनेको छ । दुवै निकायमा लामो समयदेखि रिक्त पदमा बढुवा प्रक्रिया सुरु नहुँदा कर्मचारीमा नैराश्यता बढ्दै गएको छ ।

सशस्त्रमा माथिल्ला पदहरु दर्जनौ रिक्त हुँदा पनि बढुवा हुन सकेको छैन । गृहमन्त्री बालकृष्ण खाणले यसमा चासो दिन सकेका छैनन् ।सशस्त्रमा वृत्ति विकास योजना नबन्दा इन्सपेक्टरमा भर्ना भएका अधिकृतहरू डिएसपीबाटै अवकाश पाउने अवस्था आउन लागेको छ । यस्तो अवस्थामा माथिल्लो तहका एक सयभन्दा धेरै पद रिक्त राखिएको छ ।

विगतमा समायोजन भएका अधिकृतहरु छिटो माथिल्लो पदमा पुगेका थिए । कतिसम्म भने नेपाल प्रहरी प्रहरीमा सइको प्राविधिक पदमा भर्ना भई सशस्त्र प्रहरीमा समायोजन भएकाहरु कुमार न्यौपाने लगायत डिआइजी भइसकेका छन् । हाल सशस्त्रमा एसएसपी, एसपी, डिएसपीका दरबन्दी रिक्त छन् । तर, पनि बढुवा हुन सकेको छैन ।

सशस्त्र प्रहरीमा इन्सपेक्टरबाट डिएसपी हुन अहिले नै १६ वर्ष लाग्ने अवस्था आइसकेको छ । अबका केही वर्षपछि २० वर्ष लाग्नेछ । यस्तो अवस्थामा गृहले वृत्ति विकासको कुनै योजना नै बनाएको छैन । यसबाट संगठनका दक्ष जनशक्ति बीचमै राजीनामा दिएर पलायन हुने जोखिम बढेको छ ।

शैलेन्द्र खनालले संगठनको साढे तीन वर्ष नेतृत्व गर्दा पनि यती ठूलो समस्या समाधानका लागि कुशलता देखाउन सकेका छैनन् । उनले पछिल्लो समय ल्याएको बरिष्ठ इन्सपेक्टरको प्रस्ताव पनि संगठनभित्रबाटै तिव्र विरोध भएपछि अघि बढ्न सकेन । यो वर्ष बिओपी बढाउन दरबन्दी थप्ने भनिएपनि अझै प्रक्रिया अघि बढ्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्