Logo
Logo

‘म पियक्कड नै हो, पिउन दशैं आउनु पर्दैनथ्यो’



काठमाडौं । फूलपातीको दिन अर्थात मंगलबार चर्चित गायक राजेशपायल राई आफ्नै निवासमा भेटिए । भेट हुनेवित्तिकै उनले भने, ‘दशैंमा यसरी घरमै मलाई भेट्नु पनि दुर्लभ नै हो । तर, कोराना महामारीले गत वर्ष र यसपाली सुलभ बनाइदिएको छ ।’

करिब दुई दशकयता विदेशमै दशैं मनाउँदै आएका नेपाली गीतसंगीत क्षेत्रका ‘मेगास्टार’ राजेशपायलले यसपटक अमेरिकाबाट प्रोगामको लागि अफर आएर पनि क्यान्सिल गरे । र, कलमपोखरीस्थित आफ्नै निवास दशैं मनाउँदैछन् । ‘म खसी खान्नँ, साथीहरुले च्याँङ्ग्रा मार्दैछन्, यही ल्याइदिँदैछन्’ दशैंबारे कुरा सुरु गरे, ‘खसीबाहेक लोकल खुकुराको मासु खान्छु, दारु पिउन छाडियो ।’

रोटेपिङ र एकादशी बजार

हिन्दू नेपालीको महान चाड दशैंकै सन्दर्भमा ‘राई इज किङ’का रुपमा समेत चर्चित राजेशपायललाई भेट्न स्तम्भकार उनको निवास पुगेका थिए । सुरुमै राजेशपायलले बाल्यकालको दशैं प्रशंग उप्काए । ‘दशैं–तिहार लागेपछि मासुभात र नयाँ लुगाभन्दा गाउँघरको रोटेपिङ र लिङ्लेपिङको बहुत याद आउँछ’ राजेशपायल केटाकेटी उमेरमा फर्किए, ‘मलाई एकादशी बजारको पनि बहुतै याद आउँछ ।’

राजेशपायल राई जन्मेहुर्केको गाउँ हो, खोटाङ जिल्लाको बुँइपास्थित लेक्पा । तर, राजेशपायलले लेक्पामा धेरै समय दशैं मनाएनन् । कक्षा ९ मा पढ्दापढ्दै गीत गाउन सुरु गरेका राजेशपायलले काठमाडौैंमै बसेर सांगीतिक करिअर अगाडि बढाए । गीतसंगीतकै दौरानमा उनको दशैं तिहारसमेत विदेशमै हुन थाल्यो । उनी भन्छन्, ‘तर, गाउँघरमा मनाएको त्यो बाल्यकाल तथा केटाकेटी उमेरको दशैं तिहार साह्रै रमाइलो । त्यो दिनहरु फेरि कहाँ पाइएला र ?’

त्यसपछि टिका लगाउन छाडे

राजेशपायलले दशैंमा टिका नलाएको पनि धेरै भइसक्यो । ५/६ वर्षको उमेरमा टिका लगाएको स्मरण गर्दै उनले त्यो बेला बाबु–आमाले १ रुपैयाँदेखि पाँच रुपैयाँसम्म दक्षिणा दिएको सुनाए । राजेशपायल भन्छन्, ‘हामी पाँच भाइको एकमात्र चेली हुनुहुन्छ । त्यो बेला बुबाआमाले सबैलाई टिका लगाइदिनुहुन्थ्यो । तर, अहिले टिका अनिवार्य छैन ।’

दुई दशकयता काठमाडौंमै बसेर गीतसंगीत क्षेत्रको चुचुरो नापिरहेका राजेशपायलले टिका लगाउन छाडेको सांगीतिक क्षेत्रमा व्यस्त भएदेखि नै हो । दशैंको टिका किन लाउनुहुन्न ? जवाफमा राजेशपायलले भने, ‘यसको एउटा ह्वीमजस्तै छ । एक समय दशंै किरातीहरुको पर्व होइन भन्ने लहर चलेको थियो । त्यतिखेरैदेखि टिका लगाउन छाडेँ ।’

चर्चित गायक राजेशपायल राईले यसपाली आफ्नै निवासमा दशैं मनाउँदैछन् । बाह्रै महिना गीतसंगीतमै व्यस्त हुँदै आएका राजेशपायल हिजोआज न रक्सी पिउँछन्, न जुवा खेल्छन् । त्यसैले यो दशैंमा च्याङ्ग्राकाे मासु चपाउँदै म्यारिज खेलेर मनोरञ्जन गर्दैछन् ।

आफूले टिका नलगाए पनि घरमा प्रतिबन्धचाहिँ नरहेको उनले सुनाए । ‘लगाउनेहरुले अझैपनि सेतो टिका लगाउँदै आएका छन्’, राजेशपायलले भने, ‘मेरो बुबा समाजसेवी, राजनीतिज्ञ र कुलमा समेत जेठो भएकाले दाजुभाइ, नातागोता र आफन्तजन आर्शीवाद लिन आउँछन्, उहाँहरुलाई बुबाले जमरा लगाएर आर्शीवाद दिनुहुन्छ ।’

तर, अहिले राजेशपायलको घरपरिवार अर्थात बुबाआमा खोटाङमा छैनन् । केही वर्षदेखि युकेमै बस्दै आएका छन् । युकेमा पनि बुबाआमाले दशैंमा आर्शीवाद लिन आउनेहरुलाई टिका लगाइदिने गरेको राजेशपायलले सुनाए । उनी भन्छन्, ‘हामी राईमा ‘रोसिंगा छाहो’ हो । जो दाजुभाइहरु युकेमै बढी छन् । त्यहाँ पनि गाउँघरजस्तै भएको छ ।’ यसपालीचाहिँ जुठो परेकाले युकेमा पनि जमरा लगाउने कार्यक्रम नरहेको उनले सुनाए ।

गाउँघरमा टिका नलगाएपनि रौनकताचाहिँ कायमै रहेको उनको भनाइ छ । ‘टिका मात्र लगाइँदैन’ उनले भने, ‘दशैंको रौनकता उस्तै छँदैछ । }दशैं पहिलेजस्तो नहोला । तर, अहिले पनि दशंैतिहारमा गाउँ जाने चलन छ ।’

रक्सी र राजेशपायल

राजेशपायललाई रक्सी पिउन दशैं–तिहार नै आउनैपर्छ भन्ने छैन । तैपनि मानिसहरु दशैं–तिहारमा अरुबेला भन्दा केही बढी पिउने गरेको उनको बुझाइ छ । ‘मेरो विषयमा त भनिरहनै पर्दैन, म पियक्कड नै हुँ’ राजेशपायलले भने, ‘अहिले पो पिउन छाडियो । जीन्दगीमा रक्सी त कति खाइयो खाइयो । हिसाब गर्ने हो भने रक्सीमै करोडौँ सिध्याएँ होला । पिउनु त मेरो दैनिकी नै थियो ।’

दशैं–तिहार र रक्सीको प्रशंगमा राजेशपायल फेरि त्यो समयमै फर्किए, जतिबेला उनी रक्सीविना बाँच्नै नसक्ने अवस्थामा पुगेका थिए । उनले त्यो क्षण सम्झिए, ‘पिउन त हरेक दिन पिएकै हो । तर, एकदिन यसरी पिइएछ कि त्यो सम्झिँदा अझै डर लाग्छ ।’

उनले थपे, ‘ज्वाइँ युकेबाट आउनुभएको थियो । त्यो दिन यति धेरै खाइएछ कि घरमा गएर असिस्टेन्ट भाइलाई खाना बनाउँ भनेर सुतेको एकदिन एकरात सुतेछु । म उठ्दा त्यो भाइ रोइरहेको थियो । उनी म बाँचे भनेर खुसीले रोएको रहेछ ।’

त्यो बेला राजेशपायललाई रक्सीको ब्राण्ड चाहिँदैनथ्यो । ब्यागपेपरदेखि सुरु गरेर लोकल ठर्रासम्म पिउने अवस्थामा पुग्थे उनी । १५/२० वर्षअगाडिको कुरा हो । राजेशपायलले भने, ‘त्यो समयमा ब्यागपेपर ह्विस्की खुबै चलेको थियो । पिउन सुरु गर्दा ब्यागपेपर नै लिन्थे । सकेपछि लोकल ठर्रा पनि खान्थेँ ।’

दशैंको प्रशंग भएकाले राजेशपायलले रक्सीकै कुरा अगाडि बढाए । कुनै समय ‘पियक्कड’ भएकाले होला, उनले थप्दै गए, ‘मलाई रक्सीसँग सितन नचाहिने । कुनै समय मैतिदेवीमा रहेको नेवारी रेष्टुरेण्टमा जान्थेँ । रक्सीसँग चटामरीचाहिँ खुबै खाइन्थ्यो । अहिले पनि चटामरी मनपर्छ ।’

विदेशमा दशैं

राजेशपायल राईले स्वदेशमा भन्दा विदेशमा बढी दशैं मनाएका छन् । नेपाली सांगीतिक क्षेत्रमा ‘बादशाह’का रुपमा कहलिँदै आएका राजेशपायललाई कोरोना महामारीअघिसम्म नेपाल भेट्नसमेत मुस्किल हुन्थ्यो । त्यही प्रशंगमा उनले सुरुमै भनेका थिए, ‘मलाई यसरी घरमै भेट्नु दुर्भल हो ।’ तर, गत वर्ष र यसपाली उनको दशैं आफ्ने निवासमा सीमित भएको छ । नत्र १२ महिनामा ९ महिना विदेशकै स्टेज कार्यक्रम र नेपाल आएका बेला रेकर्डिङमै व्यस्त हुुने गरेका राजेशपायलले ५ वटा दशैं तिहार अमेरिकामै मनाएका छन् । उनी भन्छन्, ‘यसपाली पनि अमेरिकामै हुनेथिएँ । तर, मैले नै चाहिनँ ।’

अमेरिकाबाहेक युरोप, हङकङ र खाडी मुलुकहरुमा समेत राजेशपायलको दशैंतिहार बितेको छ । उनी भन्छन्, ‘कलाकार भएपछि दशैं–तिहार भनेर घरमै बस्न पाइँदैन । अहिले पो कोरोनाले घरमा थन्काएको छ । हुन त फेरि समय सामान्य अवस्थामा फर्कँदैछ ।’ अमेरिकालगायत देशमा दशैं मनाए पनि त्यो बेला आफ्नै जन्मभूमिको याद आउने गरेको उनले सुनाए ।

अनि मार हान्दैनन् राजेशपायल

दशैं तिहारमा बढी मार हान्ने चलन छ । हरेक घरमा खसीबोका, सुँगुर र राँगा ढालिन्छ । तर, राजेशपायलले मार हान्न छाडेको धेरै भइसक्यो । त्यसको पनि कारण छ । राजेशपायलले भने, ‘सानोमा एकचोटी खसी काटेको थिएँ । तर, छिनाउन नसकेपछि साह्रैँ लाज लाग्यो । त्यसपछि मार हान्न छाडेँ । त्यहीबेला राँगाचाहिँ ढालेको छु ।’

जुवातास र राजेशपायल

दशैं तिहारसँग जोडिने अर्को पक्ष हो, जुवातास । दशैं तिहारमा सबै कार्यालय विदा हुने र मानिसहरु फुर्सदिला भएपछि टाइमपासका लागि पनि तास खेल्ने गरिएको पाइन्छ । राजेशपायल पनि दशैं तिहारमा मिल्ने साथीहरुको टिम पाए तास खेल्छन् । तर, उनलाई जुवाको अनुभव छैन !
‘जुवाको खालमा बसेर एक पटकचाहिँ हेरेको छु, खेलेको छैन’ उनी भन्छन्, ‘तास चाहिँ खेल्छु ।’ तासमा कहिल्यै नहार्ने उनको भनाइ छ ।

‘हारजितका लागि ठूलै रकम त खेलिँदैन, तर सानै खेल पनि जितेकै हुन्छु ।’ यसपाली पनि मिल्ने साथीहरुसँग म्यारिज खेलेर दशैंमा रमाइलो गर्ने सोच बनाएका छन् । ‘मेरो रमाइलो नै तास हो’ राजेशपायलले भने, ‘पिउन छाडेपछि अरु रमाइलो के नै छ र ?’

प्रतिक्रिया दिनुहोस्