Logo
Logo

‘बाल्यकाल फर्केर आए कति राम्रो हुनेथियो’



काठमाडौं । गायिका प्राश्ना शाक्यलाई दशैं आउनेवित्तिकै बाल्यकालमा घरपछाडि लुकेर खनखनी दक्षिणा गनेको याद आउँछ । प्राश्ना भन्छिन्, ‘सानोमा दिदीबहिनीबीच कसले धेरै दक्षिणा बटुल्ने भन्ने होडबाजी नै हुन्थ्यो । टिका लगाइसकेपछि घरपछाडि लुकेर पैसा गन्थ्यौँ । त्यो सम्झिँदा अहिले पनि रमाइलो लाग्छ ।’

मेरी शाक्य हुन् प्राश्नाकी बहिनी । उनै मेरीसँग बाल्यकालमा दशैंमा टिका लगाएपछि प्राश्नाको दक्षिणामा प्रतिस्पर्धा हुन्थ्यो । प्राश्ना भन्छिन्, ‘तर, मै बढी कमाउँथे किनकि म अलि ठूली भएकाले दक्षिणा पनि धेरै दिइन्थ्यो ।’

हुन पनि बाल्यकालमा दशैं–तिहार रमाइलो नहुने कुरै भएन । दशैं रमाइलो हुने भनेकै बाल्यकालमै हो । दशैं भन्नेवित्तिकै गायिका प्राश्ना बाल्यकालकै दशैं सम्झिन्छिन् । ‘अहिलेको दशैं के दशैं हो र ?’ उनी त्यो बेलाको दशैं सम्झिँदै भन्छिन्, ‘म ५÷६ वर्षकी थिएँ होला, त्यो समयमा दशैं भन्नेवित्तिकै एक्साइटेड हुन्थेँ ।’

आम बालबालिका जस्तै प्राश्नाको बालमस्तिकमा पनि ‘दशैं आएपछि नयाँ लुगा र मीठो खान पाइन्छ भन्ने लाग्थ्यो ।’ ‘आवाज देउ’जस्तो चर्चित गीतका गायिका प्राश्ना भन्छिन्, ‘सबैभन्दा बढी एक्साइटेडचाहिँ नयाँ लुगा लगाउन पाइन्छ भन्नेमै हुन्थ्यो । त्यसपछि दक्षिणा । बुबाले एक रुपैयाँ दक्षिणा दिनुभएदेखि मलाई दशैं मनाएको थाहा छ । छोरी मान्छेलाई अलि बढी दक्षिणा दिइन्थ्यो । अहिले पनि त्यो चलन छ ।’

नयाँ लुगा, मासुका परिकार र दक्षिणा । बाल्यकालमा दशैंको महत्वपूर्ण पाटा हुन् । ‘यी सब पाइने भएपछि दशैं आएजस्तो लाग्थ्यो’, प्राश्नाले ती दिन सम्झिइन्, ‘नयाँ लुगामा दक्षिणा लिएर साथीभाइसँग घुम्न पाउँदा कम्ता रमाइलो लाग्थ्यो ।’

प्राश्नालाई अहिले बाल्यकाल फर्केर आए हुन्थ्योजस्तो लाग्छ । ‘मलाई झस्काउँने नै बाल्यकालको दशैंले हो’ प्राश्ना भन्छिन्, ‘त्यो बाल्यकाल फेरि फर्केर आए कति राम्रो हुन्थ्यो । तर, के गर्नु समयसँगै उमेरले डाँडा काट्दैछ ।’

सुनसरीको धरानमा हुर्किबढेकी प्राश्नाले धरानबाटै सांगीतिक करिअर सुरु गरेकी हुन् । तर, दशैं आएपछि उनलाई धनकुटाको झल्झली याद आउँछ । ‘मेरो बुबा मामली धनकुटा हो । मेरो ममी धनकुटामै हुर्किनुभयो । त्यसैले हरेक दशैंमा टिका लगाउन आमासँगै धनकुटा जान्थेँ’ प्राश्ना बाल्यकालतिर फर्किन्, ‘म ठूली भएरपनि टिका लगाउन धनकुटा जान्थेँ । त्यसैले हरेक वर्ष दशैंका बेला धनुकटा मामली घरको याद आउँछ ।’

हुन त समय पहिलेजस्तो छैन । हरेक कुरा ग्याजेटमा निर्भर हुनु थालेको छ । पहिले जस्तो शुभकामना आदान–प्रदानसमेत हुँदैन । फेसबुक, टिकटक, इन्स्टालगायतका सोशल मिडियाले समय डिजिटल बन्दै गएको छ । यससँगै परम्परागत धार्मिक तथा सांस्कृतिक पहिचान बोकेका चाड पर्वहरुको रौनकता पनि हराउँदै गएको छ । यस्तो अवस्थामा दशैं तथा तिहारजस्ता चाडपर्वहरु सांस्कृतिक परम्परा धान्नलाई मात्र मनाइरहेको प्राश्नाको धारणा छ ।

प्राश्ना भन्छिन्, ‘जतिखेर सांगीतिक करिअर सुरु गरेँ, त्यो बेलासम्म दशैं तिहार रमाइलो हुन्थ्यो । व्यस्त हुन थालेपछि दशैं मन खोलेर मनाउन पाइनँ । दशैं तिहारका बेला सधैँ कन्सर्टहरुमा व्यस्त हुन्थेँ । अहिलेचाहिँ कोरोना महामारीका कारण कन्सर्टहरु सुरु भएपनि व्यस्तचाहिँ हुनुपरेको छैन ।’

खानपिन

खानपिनकै कुरा गर्दा प्राश्ना पुनः केटाकेटी उमेरतिर ‘फ्ल्यासब्याक’ भइन् । उनले भनिन्, ‘म कक्षा ७ मा पढ्दै गर्दाहोला, दशैंका लागि घरमै खसी ल्याएर पालेको थियो । त्यो खसीले विस्तारै मलाई चिन्न थाल्यो । त्यसैले त्यो खसी काट्दा मैले खाइनँ ।’ पहिले–पहिले आफ्नो घरमा दशैंमा खसीबोका ढाल्ने गरेको सम्झिँदै प्राश्नाले भनिन्, ‘तर, अहिले मेरी ममी माछा–मासु खानुहुन्न । त्यसैले खसीबोका पनि ढालिँदैन ।’

घरमा ड्रिंक्सचाहिँ चल्ने प्राश्ना बताउँछिन् । ‘नेवारको घर हो, रक्सी नचल्ने कुरै भएन । तर लिमिटमात्र चल्छ ।’ अरुबेला नभएपनि चाड पर्वमा आफूले पनि थोरै मात्रामा लिने प्राश्नाले सुनाइन् । ‘चाडपर्वमा अरुले खाँदा म पनि चिरिप्प पार्छु’ प्राश्नाले भनिन्, ‘तर, अरुबेला खासै खान्नँ ।’

जुवातास

आफूलाई तास पटक्कै नफाप्ने बताउँछिन्, प्राश्ना । दशैंै तिहारमा रमाइलोका लागि घरका सदस्यसँग तास खेल्ने गरेको बताउँदै भनिन्, ‘मलाई लत छैन । तर, बेलाबेला खेल्दा कहिल्यै मारेको रेकर्ड छैन । मलाई तास फाप्दैन ।’ चाड पर्वमा रमाइलोका लागिमात्र तास खेल्न पनि उनको सुझाव छ । उनी भन्छिन्, ‘तास खेल्नु राम्रो होइन । त्यसैले तासलाई लत बनाउनु हुन्न ।’

हाल सांगीतिक रियालिटी हो ‘सारेगम लिटिल च्याम्स’को ग्राण्ड जुरी मेम्बर तथा ‘एनआरएनए आइडल’को जर्जसमेत रहेकी प्राश्नाले यसपालीको दशैं काठमाडौंमै मनाउँदैछिन् ।

प्रतिक्रिया दिनुहोस्