Logo
Logo

पोखरामा भारतीय समूहद्वारा होटल व्यवसायीको रहस्यमय अपहरण


- दृष्टि न्युज/संवाददाता


पोखरा, १९ बैशाख ।
पोखराको पृथ्वीचोकस्थित होटल निलकमलका सञ्चालक शालिग्राम पौडेलको अपहरणमा परेको केही समयमै उद्धार भएको छ । बैदाम प्रहरीले अपहरणमा संलग्न तीन भारतीयलाई पक्राउ गरेको छ । तर, घटना निकै रहस्यमय रहेको प्रहरीले जनाएको छ ।
पौडेललाई अपहरण गर्ने भारतीय विहार बनारपुरका ३९ वर्षीय सुनिल कुमार तिवारी, सोही ठाउँका सुन्दरम तिवारी र अविजित राय पक्राउ गरिएको बैदामका डिएसपी कोमल शाहले जानकारी दिए ।

वडा प्रहरी कार्यालयबाट खटिएको इन्स्पेक्टर विजय भण्डारीको नेतृत्वको टोलीले उनीहरुलाई स्याङ्जाको फेदीखोलाबाट बुधबार बिहान पक्राउ गरेको हो । डिएसपी शाहका अनुसार अपहरणमा परेको जानकारी पाउनसाथ स्याङ्जा प्रहरीसँग समन्वय गरी अपहरणकारीलाई फेदीखोलामा रोकिएको थियो । अपहरणकारी र उनीहरुले प्रयोग गरेको बी आर १ सी डब्लू ५२७४ नम्बरको कारलाई जिल्ला प्रहरी कार्यालय कास्कीमा राखेर थप अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय कास्कीका इन्सपेक्टर धर्म केसीले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाले होटल सञ्चालक पौडेलको अपहरणको कारण खुल्न बाँकी रहेको बताए । ‘बिल कै कारण यसरी अपहरण गरेको हुन नपर्ने हो, प्रारम्भमा बिलकै कारण हो जस्तो देखिएपनि अन्य कारणपनि हुन सक्छन्, यसको सुष्मरुपमा अध्ययन गर्छौँ’, उनले भने । अपहरणकारी उपर शारिरीक बन्धक तथा अपहरण मुद्दा चलाइने उनले बताए ।

होटल सुरु गरेको १८ दिनमै अपहरण
पौडेलले उक्त होटल नयाँ वर्षको दिनदेखि सञ्चालन गरेका थिए । स्याङ्जा पुतलीबजार १३ मुसिडाँडा स्थायी घर भएका २९ वर्षीय पौडेल यस अघि बैदेशिक रोजगारको शिलशिलामा कतार पुगेका थिए ।

पृथ्वी होटल व्यवसायी समिति पोखराका उपाध्यक्ष बालकृष्ण न्युरेले यस घटनाले व्यवसायीमा थप असुरक्षाको महसुस भएको बताए ।

प्रतिक्रिया दिनुहोस्