Logo
Logo
अन्तर्वार्ता

‘राज्यले सबैको सांस्कृतिक पहिचानलाई सम्मान गर्नुपर्छ’


श्रवण मुकारुङ साहित्यकार


काठमाडौं । दशैंबारे अनेक दृष्टिकोणबाट बहस हुँदै आएको छ । कसैले धार्मिक त, कुनैले राजनीतिक रुपमा दशैंलाई व्याख्या गरेको पाइन्छ । देशमा राजतन्त्र हुँदा राज्य तहबाट सुरु भएको दशैंले गणतन्त्रमा पनि निरन्तरता पाएको छ । त्यसैले आज दशैं ‘बहिस्कार’जस्ता अभियानसमेत चल्दै आएको छ । दशैंबारे हुने अनेक ब्याख्या र बहसले हामीलाई कता डोर्याउँदैछ ? यसै सन्दर्भमा चर्चित साहित्यकार तथा कवि श्रवण मुकारुङसँग दृष्टिन्यूजका नवीन राईले गरेको कुराकानी प्रस्तुत छ:

दशैंबारे तपार्इँको अनुभव सुनौँ न, कसरी मनाउँदै आउनुभएको छ ?

सानोमा दशैं खुबै मनाइयो । बच्चाहरूका लागि दशैं विशेष नै हुन्छ । ऋतु पनि सुन्दर । मौसम एकदमै राम्रो । गाउँमा हुँदा मनाइथ्यो । पछि, सांस्कृतिक, सामाजिक र राजनीतिक विकासक्रमसँगै उतार–चढाव आयो । त्यसले समाज, राष्ट्र र समुदायमा असर पार्यो । ०४६ सालपछि त एकथरीले दशैं बहिस्कार नै गरे । एकथरीले भने मनाए ।

दशैं मान्ने र बहिस्कार गर्नेबीच एक प्रकारको अन्तरद्वन्द्व नै भयो । मेरो परिवारले पनि दशैं मान्न छाड्यो । परिवार प्रजातान्त्रिक भएकाले मान्न छाडे । अधिकांशले दशैं बहिस्कार गरे । त्यसको रन्कोमा मैले पनि मान्न छाडेँ । त्यतिबेला पूर्वमा राजनीतिक रुपमा गोेरेबहादुर खपाङ्गीको प्रभाव थियो । त्यसैले गर्दा दशैं मान्नु हुँदैन भन्नेमा पुगेको थिएँ ।

पछिल्लो समय फेरि दशैं मान्ने र टिका लगाउनेक्रम सुरु भयो । अहिले पनि केहीले लगाउँछन्, कोही लगाउँदैनन् । केहीले सेतो लगाउँछन् । जनजातिहरुले पनि कसैले सेतो र कसैले रातो टिका लगाउँछन् । धेरैजसो टिका नलगाउने तर सांस्कृतिक रुपमा दशैं मनाउने चलन छ । टिकाबारे हाम्रो समुदायमै विवाद छ ।

मचाहिँ दशैं मान्दिनँ । बहिस्कार पनि गर्दिनँ । घरपरिवारसँग बसेर खाने बस्ने भन्ने छँदैछ । तर, अहिलेसम्म टिका लगाइदिएको छैन । मैले पनि लगाउने गरेको छैन । गाउँमा पुगेको बेला आमाले कति वर्षपछि आयौं भनेर टिका लगाइदिनु हुन्छ, म निधार थाप्छु । म धार्मिक होइन, सांस्कृतिकरुपमा दशैं मान्छु ।

दशैंबारे विभिन्न दृष्टिकोणबाट बहस चलिरहेको छ । तपाईंको दृष्टिकोण के हो ?
मेरो अतिवादी धारणा छैन । म मध्यमार्गी हुँँ । अब इतिहासतिर गइयो भने आदिवासीमाथि धार्मिक दमन गरेकै हो । तर, एउटा कालखण्ड पार गरेर आइसकेका छौँ । यसलाई धार्मिक तथा राजनीति रुपमा नलिएकै राम्रो । म खाली सांस्कृतिक पर्वको रुपमा मान्छु । मेरो किरात संस्कृतिलाई पनि अरुले मान्नुपर्छ, स्वीकार गर्नुपर्छ । मैले अरुको संस्कृतिप्रति त्यस्तै सद्भाव राख्नुपर्छ । त्यसैले सबै जातिको चाडपर्वमा पुगेको हुन्छु ।

दशैं एउटा पर्व हो । यसले समाज र परिवारलाई जोड्ने काम गर्छ । सबैको भेटघाट हुन्छ । म यसलाई पूर्ण बहिस्कार गर्दिनँ । पूर्ण समर्थन पनि गर्दिनँ । यसका सुन्दर पक्षहरुलाई लिने गर्छु । खराब पक्षलाई बहिस्कार गर्छु ।

आदिवासी जनजाति समुदायमा दशैं बहिस्कारको लहर पनि छ, यस्तो अवस्था किन बन्यो ?
राजनीतिक कारणले केही आदीवासी जनजातिले दशैंलाई बहिस्कार गरेका छन् । दशैंले राजनीति मुद्धा लिएको छ । हामीमाथि दमन गरियो भन्ने इतिहास छ । यो सत्य नै हो । हिजोको त्यो अन्याय परेको भावनाविरुद्ध केहीले बहिस्कार गरेको पाइन्छ । र, नयाँ खोजीमा पनि हो । आफ्नो संस्कृति, धर्म र पराम्पराको खोजी गर्नेक्रममा पनि यस्तो भएको हो । यो हिजो हामीलाई थुपारिएको भनेर रिजेक्ट गरेको हो । त्यो कुरा पनि ठिकै हो ।

एकअर्कामा सद्भाव कायम गर्ने कुराले यसलाई बहिस्कारैचाहिँ गर्न सकिँदैन । हामी समाजिक प्राणी हौँ । हामीले सबैको संस्कृतिलाई सहज रुपमा लिनुपर्छ । हम्रो सभ्यताको कुरा आउँछ, यसलाई खोजी गर्न जरुरी पनि छ ।

धार्मिक तथा सांस्कृतिक पर्वले सामाजिक सद्भाव कायम गर्छ भन्ने मान्यता छ, तर पछिल्ला बहसहरुले सदभाव कायम गर्छ या खाडल बनाउँछ ?
दशैंको सकरात्मक पक्ष भनेको परिवारबीच भेटघाट नै हो । रमाइलो पनि मान्छेको एउटा अभिन्न अंग हो । रमाइलो गर्न कसलाई मन लाग्दैन र ? त्यो पनि एउटा माध्यम हो । दशैंको नाममा बलि दिनु, बढी खर्च गर्नु, देखासिकी गर्नुचाहिँ हुँदैन । दशैंमा मात्रै होइन, अरु पर्वहरुमा पनि गर्नु हुँदैन । कुनैपनि पर्व ऋणमा जाने गरी मनाउनु हुँदैन । बढी खचार्लु हुनु हुँदैन । चाडपर्व नयाँ सोचका साथ मनाउन जरुरी छ । सबै जातिका चाडपर्व नेपालको सम्पत्ति हो । यसलाई संरक्षण गर्नुपर्छ । तर, नराम्रा पक्षलाई सुधार गर्दै लानुपर्छ । भारतमा पनि दशैं मनाइन्छ । तर, त्यहाँ जमरा राख्ने चलन छैन । जमरा राख्ने भनेको त नेपालमा मात्रै हो । जसले गर्र्दा हाम्रो चाडपर्व अरुको भन्दा विशिष्ट छ । यो हाम्रै जनजातिको निमार्ण पो हो कि ? यसबारे अनुसन्धान हुन बाँकी छ ।

आफ्नो संस्कतिसँगै अरुको संस्कृतिको सम्मान हुनुपर्छ । अहिले दशैं मान्न मन लाग्नेले मान्छन् । मन नलाग्नेले मान्दैनन् । आफ्नो इच्छाको कुरा हो । यो व्यक्तिको स्वातन्त्रता हो । मान्ने÷नमान्ने व्यक्तिमा भरपर्छ । अब तँ हिन्दू हुन पाउदैनस् भनेर कसैले भन्न पाउँदैन । तँ किरात हुन पाउँदैनस् पनि पाइँदैन ।

दशैंप्रति राज्यको दृष्टिकोण कस्तो पाउनुहुन्छ ?
पहिले हामी बोल्न पाउँदैनथ्यौँ । राज्य त फटाहा नै हो । विभेदकारी नै हुन्छ । दशैंमा एक महिनासम्म विदा दिन्छ । तर, अरु पर्वमा दशैंमा जस्तो विदा दिँदैन । मठमन्दिरमा कति पैसा लगानी गरिरहेको छ राज्यले ? अरु अरुमा खासै गरेको छैन । यो विभेदकारी नै हो । यो सधैं भइरहन्छ । यसको लागि हामी सधैं लडिरहनुपर्छ । हाम्रो संस्कृतिलाई समानव्यवहार गर, समान हैसियत दे, मान्यता दे, उचितमूल्य दे भनिरहनुपर्छ । मैले गीत, कविता लेखेको पनि यसकै लागि हो । अहिलेको राजनीति गर्ने गरेको पनि त्यहिँ हो । यो सबै खाले विभेदको अन्त्य हुनुपर्छ । ‘सबैको चाडपर्वलाई समान व्यवहार गर’ भन्ने हाम्रो माग नै हो । हाम्रो मागको मुख्य आधार यही हो ।

दशैंजस्तै राज्यले अरु जातिजाती चाड पर्वलाई राख्नुपर्छ कि पर्दैन ?
राज्य एक जातिय, एक नश्लीय, एक धार्मिक थियो । अहिले दशेमा धर्मनिरपेक्ष आइसक्यो । तर, अहिले पनि त्यो कायमै छ । लोकतन्त्र सबै फुकाउन सकेको छैन । हाम्रो मागहरु साह्रै भिजिलन्ते मागहरु पनि हुन्छन् । हाम्रो माग के हुन्छ भने दशैंलाई पाँच दिने, हामीलाई किन एक दिनमात्रै ? भन्ने हुन्छ । यो गतिलो माग होइन । सबै भन्दा रड्डी माग के लाग्छ भने हामीलाई मन्दिर पस्न दिनुपर्छ भन्ने लाग्छ । त्योभन्दा ‘थर्ड क्लास’ माग हो । तेरो मन्दिरमा म पस्दिन पो भन्नुपर्छ । आफ्नै मन्दिर बनाउँछु भन्ने हुनुपर्छ । मलाई पस्न दे, तँ सँगै बसेर खान्छु भन्ने माग गर्नु हुँदैन । तैँले छोएको पनि खान्न भन्ने संर्घष हुनुपर्छ ।

चाड पर्वहरूप्रति राज्य र समुदायको धारणा कस्तो रहनुपर्छ ?
समतामूलक सहअस्तित्वमा आधारित हुनुपर्छ । एकले अर्काको अस्तित्व स्वीकार गर्ने । एकले अर्काको सभ्यता सांस्कृतिक पहिचानलाई सम्मान गर्ने राज्यको पोलेसी हुनुपर्छ । राष्ट्रधार त्यो हुनुपर्छ । अब एकले अर्कालाई इन्कार गर्ने होइन, एकले अर्कालाई सम्मान गर्ने, सहअस्तित्वको राष्ट्रधार हुनुपर्छ । राज्यले खोजीखोजी दबाइएका, सिमान्त पारिएका सभ्यता सांस्कृति सम्पदाहरूको संरक्षण प्रर्वद्धन र त्यसको विकास राज्यले गर्नुपर्छ । कसैलाई काखा र कसैलाई पाखा गर्नु हुँदैन ।

प्रतिक्रिया दिनुहोस्