Logo
Logo

आन्तरिक आर्थिक गतिविधि चलायमान हुँदैछः महाप्रसाद अधिकारी



काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मुलुकमा ब्याजदर घटेको र वाह्य क्षेत्रमा आएको सुधारले आन्तरिक आर्थिक गतिविधि चलायमान बनाउने आधार सिर्जना भएको बताएका छन् ।

नेपाल राष्ट्र बैंकको वार्षिकोत्सवमा गभर्नर अधिकारीले उच्च रेमिट्यान्स आप्रवाह र वैदेशिक व्यापार घाटा घटेकाले चालु खाता तथा शोधनान्तरस्थिति बचतमा गएको बताए । जसले तरलता बढाउन सहयोग पुगेको र कर्जाको ब्याजदर घटाएको उनको भनाइ छ ।

‘नेपालले दुई तिहाइभन्दा बढी रकमको आयात गर्ने मुलुक भारतमा समेत मुद्रास्फीति घट्दै गएका कारण मुद्रास्फीतिमा परेको चाप क्रमशः कम हुँदै गएको छ,’ उनले भने, ‘चालु आर्थिक वर्षको उपभोक्ता मूल्य सूचकांकमा आधारित मूल्यवृद्धि दर लक्षित सीमाभित्रै रहने देखिएको छ ।’

रुस–युक्रेन र मध्यपूर्वका मुलुकमा जारी द्वन्द्व र केही मुलुकले खाद्यान्न निर्यातमा लगाएको प्रतिबन्धले इन्धन तथा खाद्यवस्तुको मूल्यवृद्धि बढ्ने जोखिम कायम रहेको उनले बताए ।

‘आर्थिक वर्ष २०८०÷८१ मा समयमै रोपाइँ भएको, मौसम अनुकूल नै रहेको र मलको आपूर्ति सहज रहेका कारण कृषि उत्पादनको वृद्धिदर सन्तोषजनक रहने देखिन्छ,’ उनले भने, ‘करिब ६०० मेगावाटको थप जलविद्युत् उत्पादन र पर्यटन क्षेत्रमा आएको सुधारका कारण चालु वर्षमा आर्थिक वृद्धिदर औसत स्तरमा रहने देखिन्छ ।’

तथापि, सरकारको पूँजीगत खर्च अपेक्षित रूपमा हुन नसकिरहेको र पछिल्ला वर्ष उल्लेख्य संख्यामा वैदेशिक रोजगारी र अध्ययनको लागि युवाहरू विदेशिएकाले आन्तरिक माग भने शिथिल भएको अधिकारीले बताए । खासगरी निर्माण, व्यापार र उत्पादनमूलक उद्योगहरू आर्थिक शिथिलताबाट बढी प्रभावित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्