Logo
Logo

ओझेलमा सुदूरका सुन्दर गहनाहरु

सुदूरपश्चिमका पर्यटकीय क्षेत्रहरुको संरक्षण र प्रचार आवश्यक



धनगढी । संघीय सरकारको नजरबाट दूर रहेपनि सुदूरपश्चिमका गहनाहरुले राज्यलाई विश्वसामु चिनाएको छ । सुदूरका पर्यटकीय क्षेत्रलाई राज्यले संरक्षण र सम्र्बद्धन गर्ने हो भने नेपालको अर्थतन्त्रमा ठूलो सहयोग पुग्नेछ । र, युवा पलायनलाई समेत रोक्न सक्ने देखिन्छ ।

सुदूरपश्चिममा धेरै सुन्दर र मन लोभ्याउँने धार्मिक तथा पर्यटकीय स्थलहरु छन् । यद्यपि, प्रदेशका पर्यटकीय स्थलहरूलाई लक्षित गरेर कार्यक्रमहरू नल्याइँदा यहाँका पर्यटकीय स्थलहरू ओझेलमा परेका छन् । सुदूरपश्चिम प्रदेश भारतसँग नजिक र प्रवेशद्वारको रूपमा रहेको भएपनि यस क्षेत्रको पर्यटन जति विकसित हुनुपर्ने हो, त्यति हुन सकेको छैन ।

प्रचार प्रसारको अभावका कारण यहाँका कैयौँ पर्यटकीय स्थलहरू ओझेलमा छन् । पर्यटन व्यवसायी मायाप्रकाश भट्ट भन्छन्, ‘प्राकृतिक पर्यटकसँगै यहाँ धार्मिक पर्यटनको पनि प्रचुर सम्भावना छ । तर, सरकारको उदासिनताले पर्यटकीय क्षेत्रको विकास हुन सकेको छैन ।’

पर्यटन क्षेत्रको विकासका लागि निजी क्षेत्रको लगानी बढाउन आवश्यक छ । योसँगै प्रदेश सरकारले पर्यटन प्रर्बद्धन गर्ने कार्यक्रमहरू ल्याएर पर्यटकीय स्थलहरूको प्रचारप्रसारमा लाग्ने हो भने भारत हुँदै नेपाल आउने पर्यटकको रोजाइमा सुदूरपश्चिम पर्ने उनको भनाइ छ ।

सुदूरपश्चिममा यस्ता धेरै ठाउँहरू छन्, जुन ठाउँले पर्यटकको मन लोभ्याउँछ । सुन्दर सुदूरपश्चिम प्रदेशमा हिमालका टाकुरादेखि पहाडका रमाइला फाँट, उपत्यका, भित्री मधेश र तराईका हरिया फाँटहरू, हिम श्रृँखलालगायत धेरैै ठाउँहरू छन् । जसको संरक्षण र प्रर्बद्धनमा राज्यको ध्यान नपुग्दा ओझेलमा परेका छन् ।

कैलाली

नेपालकै लामो नदी कर्णाली र त्यहीँ नदीमा निर्माण गरिएको एकखम्बे पुल सुदूरपश्चिमलाई काठमाडौंसँग तराईका अन्य जिल्लासँग जोड्ने प्रमुख द्वार हो । यो पुलको लम्बाइ ५ सय मिटर र चौडाइ १४ मिटर छ । सुन्दर कर्णाली नदीको अवलोकन गर्न र कर्णाली नदीको स्वादिष्ट माछासँगै ¥याफ्टिङको आनन्द लिन यहाँ दैनिकजसो आन्तरिक तथा बाह्य पर्यटकहरू आउने गर्छन् ।

राजकाँडा

कैलालीको लम्कीदेखि १६ किलोमिटर उत्तरतर्फ मोहन्याल गाउँपालिका–७ मा स्थित राजकाँडामा सूर्योदयको दृश्य नजिकैबाट नियाल्न सकिन्छ । हावापानीका दृष्टिले पनि उपयुक्त रहेको यो क्षेत्र अहिले आन्तरिक तथा बाह्य पर्यटकको रोजाइ बन्दै गइरहेको छ ।

टीकापुर पार्क

स्वीट्जरल्याण्डको लक्साल शहरको नक्साअनुरुप रेखांकन गरिएको टीकापुर पार्क करिब ५ विगाह क्षेत्रफलमा फैलिएको छ । यहाँ ८० प्रकारका गुलाबका फूल र विभिन्न प्रजातिका बिरुवाहरू पाइन्छन् । यो पार्क विशेषगरी पिकनिक खान आउने पर्यटकका लागि प्रमुख रोजाइमा पर्ने गरेको छ । यद्यपि, वि.सं २०२८ सालमा तत्कालीन राजा महेन्द्रले यहाँबाट एक महिना नेपालको राजकाज चलाएको इतिहासका कारण यसको गरिमा अझ बढेको छ । काठमाडौं–टीकापुरको दूरी ६९० किलोमिटर छ । काठमाडौंबाट टीकापुरसम्म बस चल्छ ।

प्रकाशेश्वर महादेव मन्दिर

कैलालीको टीकापुर नगरपालिकास्थित सत्ती बजारमा रहेको प्रकाशेश्वर महादेवको मन्दिर नेपालमै प्रसिद्ध छ । पूर्वतर्फ मुख फर्किएको सबैभन्दा ठूलो तथा दुर्लभ शिवलिङ्ग भएको यो मन्दिरको दर्शन गर्नाले मनोकांक्षा पूरा हुने जनविश्वास छ । यो मन्दिर टीकापुर बजारभन्दा ९ किलोमिटर दक्षिणतिर पर्छ ।

घोडाघोडी ताल

कैलालीको मध्यवर्ती क्षेत्रमा अवस्थित घोडाघोडी ताल विश्व रामसार सूचीमा सूचीकृतमध्ये एक महत्वपूर्ण ताल हो । यो ताल दुई हजार पाँच सय ६३ हेक्टरमा हातको पञ्जा आकारमा फैलिएको छ । हत्केला आकारको यो तालका १९ वटा उपतालहरू छन् । करिब २ सय ४५ प्रजातिका चराचुरुङ्गी, गोही, पानी हाँस, जंगली धानलगायतका लागि यो क्षेत्र अत्यन्त रमणीय र आकर्षक मानिन्छ । यो ताल पुग्नका लागि धनगढीबाट ६० किमी पूर्व यात्रा तय गर्नु पर्दछ । यहाँ पुग्न धनगढीबाट १ सय ५० रुपैयाँ गाडीभाडा लाग्छ ।

गर्वा दरबार

कैलाली जिल्लाको चुरे गाउँपालिकाको खैरालास्थित गर्वा दरबार सुदूरपश्चिममै एक मात्र राणाकालीन दरबार हो । यो जीर्ण अवस्थामा छ । तर, विक्रम सम्बत १९८२ सालमा निर्माण गरिएको उक्त दरबारको ऐतिहासिक महत्व भने कम छैन । प्राकृतिक रूपले तराई र लेकको विशेषता एउटै गाविसमा पाइने खैरालामा पनि आन्तरिक तथा बाह्य पर्यटकहरू लोभिने गरेका छन् । चौमालाबाट १८ किलोमिटर उत्तरतर्फ पर्ने यो दरबार चौमालाबाट ६ घण्टा पैदल हिँडेपछि पुगिन्छ । राणाहरुले दरबार बनाउन प्रयोग गरेको इँटा गर्भाको डाँडामा बनाएको इतिहास रहेको छ ।

तालतलैयाहरू

कैलालीमा रहेका सानाठूला गरी १ सय ९३ तालतलैया पनि यहाँका प्रमुख आकर्षण हुन् । तिनमा पनि पूर्वपश्चिम राजमार्गको राजीपुर बजारदेखि ६ किलोमिटर दक्षिणतर्फ पर्ने कोइलाही कोइलहुवा ताल, पूर्वपश्चिम महेन्द्र राजमार्गको चौमाला बजारदेखि ७ किलोमिटर दक्षिणतर्फ पर्ने जोगनिया ताल, धनगढी बजारदेखि १२ किलोमिटर पूर्वतर्फ रहेको धनगढी उपमहानगरपालिका–१ मा रहेको मनमोहक महादेवा ताल, धनगढी बजार क्षेत्रदेखि ५ किलोमिटर पूर्वतर्फको धनगढी उपमहानगरपालिका–७ स्थित जाखौर ताल पनि आन्तरिक तथा बाह्य पर्यटकको रोजाइ बनेको छ ।

भादा होमस्टे

थारू जीवनशैली र संस्कृतिका लागि भादागाउँ प्रख्यात मानिन्छ । धनगढी उपमहानगरपालिका–१६ मा रहेको भादामा होमस्टे तथा थारू समुदायका जनजीवनलगायत विशेष खानेकुराका परिकारले पर्यटकको मन लोभ्याउने गर्छ । धनगढीबाट बेली हुँदै भादागाउँ १७ किलोमिटर पूर्वपश्चिम राजमार्गको चौमाला खण्डको राजीपुरबाट ७ किलोमिटर र झिलबाट १२ किलोमिटरको दूरीमा रहेको यो गाउँ धनगढी बजारदेखि २० किलोमिटर पूर्वमा पर्छ ।

गोदावरी

कैलाली जिल्लामा रहेको गोदावरीमा पनि नेपालकै ठूलो हनुमानको मूर्ति हेर्नेहरूको घुइँचो लाग्छ । अत्तरियाभन्दा ७ किलोमिटर उत्तरतर्फ रहेको गोदावरीमा बजरंगवली हनुमानको मूर्ति छ । हनुमान मन्दिर सेवा समिति कैलालीको पहलमा मूर्तिकार प्रभुराम महराले निर्माण गरेको ५२ फिट अग्लो मूर्ति नेपालकै सबैभन्दा अग्लो मूर्ति हो । धनगढीबाट २० किलोमिटर उत्तरतर्फ गोदावरीस्थित हनुमान मूर्ति पुग्न सकिन्छ । यहाँ जान ६० रुपैयाँ भाडा लाग्ने गर्छ ।

खानीडाँडा

गोदावरीबाट २२ किलोमिटरमाथि चुरे नगरपालिकाको खाँनीडाँडा प्राकृतिक रूपमा मनोरम स्थल हो । चिसो मौसममा गर्मी र गर्मी मौसममा पनि चिसो अनुभव गर्न पाइने खानीडाँडाबाट पहाडका रमणीय दृश्य देख्न सकिन्छ । यहाँ प्रायः गर्मी मौसममा गर्मी छल्न आन्तरिक पर्यटकहरू आउने गर्छन् ।

चुरे शृंखलाको सबैभन्दा उच्च भागमा रहेको खानीडाँडाबाट कात्तिक महिनामा सैपाल हिमाललाई प्रत्यक्ष रूपमा हेर्न सकिन्छ । यहाँ ब्राम्हण, क्षत्री, जनजातिको बसोबास रहेको छ । यहाँको स्थानीय परिकार र लोकल कुखुरा निकै प्रचलित छ ।

यसका साथै कैलाली जिल्लामा रहेको बेहडा बाबा मन्दिर, नवदुर्गा मन्दिर, नैनादेवी भगवती मन्दिर, वनदेवी भगवती मन्दिर, रामजानकी मन्दिर, नेपालको सबैभन्दा अग्लो १ सय ८ फिट उचाइको शिवलिंग भएको शिवपुरी धाम, कम्पासेधुरा डाँडा पनि पर्यटकको रोजाइमा पर्ने स्थानहरू हुन् ।
चुरे गाउँपालिका क्षेत्रको कम्पासेधुरा डाँडाबाट कैलालीका विभिन्न स्थानहरूका साथै, उत्तरतर्फका अपी, सैपाललगायतका हिमालहरूको दृश्य देख्न सकिनछ । यो स्थान धनगढीदेखि गोदावरी हुँदै उत्तरतर्फ करिब ४३ किलोमिटरमा पर्छ । महाशक्ति स्वरुपा देवी आश्रम पनि यहाँका आन्तरिक तथा बाह्य पर्यटकका लागि घुम्न लायक ठाउँहरू हुन् ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज

कञ्चनपुर जिल्लामा पर्ने शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाह्रसिंगेका साथै अन्य जीवजन्तुहरू पनि प्रशस्त देख्न पाइन्छ । दिउँसो ३ बजेभित्र आरक्ष प्रवेश गरेर घाम नडुब्दै बाहिरिनुपर्छ । भित्र जिपड्राइभ, हात्ती सफारी र जंगल वाक गरिन्छ । निकुञ्जभित्र सानाठूला धेरै फाँटा छन् ।
हिरापुर फाँटमा कृष्णसार संरक्षण गरिएको छ । आरक्षको एकछेउ हात्तीसार रहेको छ । जहाँ हात्ती चढ्न पाइन्छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ, खरायो, हात्ती, गैँडालगायत विभिन्न प्रजातिका चरासमेत हेर्न पाइन्छ । जैविक विविधताले भरिपूर्ण शुक्लाफाँटाभित्र आधा दर्जनभन्दा बढी तालहरू छन् ।

यस क्षेत्रमा ताराताल, रानीताल, बठनिया ताल, बाउन्नेताल, शिकारीताल, सलगौडी ताल र बाबाताल रमणीय छन् । ३ सय ५ वर्ग किलोमिटरमा फैलिएको शुक्लाफाँटा आरक्षको कुल भू–भागको १० प्रतिशत सिमसार क्षेत्र छ । जुन विभिन्न प्रजातिका चराचुरुङ्गीको बासस्थानको रूपमा रहेको छ ।

१० हेक्टर क्षेत्रफलमा फैलिएको ताराताल चरासँगै मगर गोहीको बासस्थान पनि हो । शुक्लाफाँटा वन्यजन्तु आरक्ष जंगल सफारीका लागि उत्कृष्ट गन्तव्यस्थल हो । काठमाडौं–महेन्द्रनगर ७ सय किमि १८ घन्टाको बस यात्रा तथा काठमाडौं–धनगढी १ घन्टा हवाई यात्रापश्चात धनगढी–महेन्द्रनगर ५७ किलोमिटरको दूरी तय गर्नुपर्छ ।

धनगढीबाट महेन्द्रनगरका लागि सार्वजनिक यातायातका साधनहरू पाइन्छन् । महेन्द्रनगर बजारबाट निकुञ्जका लागि साना सवारी साधनहरू भाडामा लिएर जान सकिन्छ । यहाँ पुग्न ३ सय रुपैयाँ भाडा लाग्छ ।

लिंगा

कञ्चनपुर जिल्लाको बेतकोट नगरपालिकामा रहेको लिंगा पुग्न दैजीबाट करिब ५ किलोमिटर उत्तरतर्फ जानुपर्छ । शिवलिंगको स्वरुपजस्तै पहाडका डाँडा भएकाले यसलाई लिंगा भनिएको हो । मनोकांक्षा पूरा हुने धार्मिक विश्वासका साथ पर्यटकहरू यहाँ जाने गरेका छन् ।
बाह्रै महिना पर्यटक आउने लिङ्गामा फागुनमा शिवरात्रि र असोजमा नवरात्री मेलामा भीड लाग्ने गर्छ । लिंगाबाट ६ किलोमिटर उत्तरतर्फ बेतकोट तालको अवलोकन गर्न सकिन्छ ।

बेतकोट ताल

साथै, प्राकृतिक सुन्दरताले भरिपूर्ण रहेको बेतकोटमा पिकनिक खान आउनेहरूको पनि भीड हुन्छ । कञ्चनपुरको दैजीबाट उत्तरतर्फ पर्ने बेतकोट र लिंगाको अवलोकन गर्न जाँदा अटो रिजर्भ गरेर पर्यटकहरू जाने गर्छन् । कञ्चनपुरमा पर्ने लिंगा र बेतकोट ताल पुग्न धनगढीबाट डेढ सय रुपैयाँ भाडा लाग्छ ।

दोधारा चाँदनी

कञ्चनपुर जिल्लामा रहेको दोधारा चाँदनी पुल नेपालकै सबैभन्दा लामो झोलुङ्गे पुल हो । यसले नेपाल पारिका दुई ठाउँ दोधारा र चाँदनी जोडेको छ । यहाँ बर्सेनी हजारौँ स्थानीय र बाह्य पर्यटक दोधारा चाँदनी पुलको अवलोकन गर्न आउने गरेका छन् । यहाँ पुलको अवलोकन गर्ने र पिकनिक मनाउन आउने पर्यटकको भीड हुन्छ । गर्मी मौसममा महाकालीछेउको चिसो हावाको आनन्द लिन पनि आन्तरिक पर्यटकहरू त्यहाँ जाने गर्छन् । दोधारा चाँदनी पुग्न धनगढीबाट ५५ किलोमिटर पश्चिम महेन्द्रनगर बजारसम्म साझा सवारी र त्यसपछि साना सवारी र अटोको व्यवस्था छ । यसबाहेक कञ्चनपुरमा रहेको सिद्धबाबाको मन्दिरमा पूर्णागिरिको दर्शन गरी आउने भारतीय धार्मिक पर्यटकको घुइँचो लाग्छ ।

डडेल्धुरा

धनगढीबाट डडेल्धुरा १ सय २८ किलोमिटर पर्छ । यो ठाउँ प्रायः पर्यटकले रुचाएका छन् । जहाँ प्रकृतिको सुन्दर रूपसँगै ऐतिहासिक महत्व बोकेका थुप्रै भौतिक संरचनाको अवलोकन गर्न सकिन्छ । डडेल्धुराका प्रसिद्ध मन्दिरहरूमा उग्रतारा मन्दिर र घटाल बाबाको मन्दिर, भागेश्वर, जोगबुडा उपत्यकामा रहेको भगवान परशुरामको मन्दिर हुन् ।

डडेल्धुरा पुग्नेहरूको पहिलो रोजाइ उग्रतारा मन्दिर हुन्छ । यो सुदूरपश्चिमकै ठूलो शक्तिपीठ मानिन्छ । यो मन्दिर डडेल्धुरादेखि ४ किलोमिटर पश्चिमपट्टि छ । डडेल्धुरा जिल्लाको अमरगढी नगरपालिकामा पर्ने प्रसिद्ध मन्दिर बागबजारबाट करिब ५ किलोमिटर टाढा डडेल्धुरा–बैतडी राजमार्गको पश्चिमतिरको अग्लो तथा रमणीय फाँटमा छ ।

अमरगढी किल्ला

डडेल्धुरामा रहेको ऐतिहासिक किल्ला हो अमरगढी किल्ला । यो किल्लो समुद्रबाट ६५०० फिट उचाइमा रहेको छ । ऐतिहासिक दृष्टिले महत्वपूर्ण मानिने भएकाले यो किल्लाको अवलोकन गर्नका लागि पर्यटकहरूको घुइँचो लाग्छ ।

अजयमेरूकोट

डडेल्धुराको अजयमेरू गाउँपालिकामा रहेको अजयमेरूकोट दरबारले छुट्टै इतिहास बोकेको छ । यहाँ पुराना कला र शैलीमा निर्माण गरिएका नौला, देवलको भौतिक र प्राचीन धरोहरको अवलोकन गर्न सकिन्छ । पर्यटकलाई आकर्षित गर्न र उनीहरूको सेवा सुविधा ध्यानमा राखेर स्थानीय हाटगाउँमा नै घरबास पनि सञ्चालनमा ल्याइएको छ ।

रहनसहन तथा परम्परा, चिसो वातावरण, प्राकृतिक सौन्दर्यता त्यहाँका मुख्य आकर्षण हो । डडेल्धुरा बजारबाट करिब १० किलोमिटर दक्षिण पश्चिमतर्फ यो ठाउँ पर्छ । दुई घण्टा पैदल हिँडेपछि अजयमेरूकोट दरबार पुगिन्छ । तर, हाल भने साझा सवारीसाधन पनि पाइन्छ ।

घटाल स्थान
डडेल्धुराबाट ४ किमि दक्षिण अमरगढी नगरपालिकामा पर्ने घटालमा रहेको घटाल बाबाको मन्दिरको दर्शनबाट मनोकांक्षा पूरा हुने विश्वास छ । यहाँ असोज, कात्तिक, दसैँ र वैशाखमा ठूलो मेला लाग्ने गर्छ ।

आली ताल
आलीताल गाउँपालिकामा पर्ने आली ताल र परशुराम नगरपालिकामा पर्ने पशुराम धाम पनि आन्तरिक तथा बाह्य पर्यटकले रुचाएका सुन्दर ठाउँहरू हुन् । जहाँ धार्मिक महत्वका साथसाथै प्रकृतिको सुन्दर र रमणीय रूप देख्न सकिन्छ ।

डोटी

डडेल्धुराबाट ६० किलोमिटरमा उत्तरतर्फ पर्ने डोटीमा घुम्न लायक ठाउँहरूमध्ये प्रसिद्ध तीर्थस्थल जगदम्बा शैलेश्वरी, ध्रुवेश्वर, योगेश्वर, कालभैरवका मन्दिरहरू, ठूला केदार र डोटीको उत्तरतर्फ रहेका पाँचवटा गुफा हरू हुन् । जसलाई अखङ्गाल गुफा पनि भनिन्छ । ¥सेती नदीमा हुने ¥याफ्टिङले धेरै आन्तरिक र बाह्य पर्यटकको मन लोभ्याउने गर्छ ।

शैलेश्वरी मन्दिर

शैलेश्वरी माताको मन्दिर सुदूरपश्चिको डोटी जिल्लाअन्तर्गत सिलगढीमा अवस्थित छ । यो मन्दिर यस क्षेत्रकै प्रमुख धार्मिक स्थलको रूपमा रहेको छ । यहाँ हरेक वर्ष जेठ र कात्तिक पूर्णिमाका दिन लक्षबहन महायज्ञ प्राचीनकालदेखि हुँदै आएको छ । यहाँ धार्मिक आस्था बोकेका र प्रकृतिको सुन्दरताको आनन्द लिन आन्तरिक र बाह्य पर्यटकहरूको घुइँचो लाग्ने गर्छ ।

बैतडी

डडेल्धुराबाट ८३ किलोमिटरको यात्रापछि बैतडी पुग्न सकिन्छ । यहाँका प्रसिद्ध मन्दिरहरूमध्ये त्रिपुरा सुन्दरी, निङ्गलाशैनी, मेलौली र डिलाशैनी, भगवती मन्दिर, जगन्नाथ देवता, भूमेश्वर महादेवको गुफा, पाटनको ठाकुर उदयदेव मन्दिर, कृष्ण मन्दिर र शिवनाथ मन्दिर हुन् ।
यसमा पनि जिल्लाको तल्लो स्वराडअन्र्तगत पर्ने महाकाली नदी र सुर्नया नदीको मध्यमा दीपाकारजस्तै बनेको अति सुन्दर मैदानमा अवस्थित प्रसिद्ध मेलौलीको मन्दिर पर्यटकको रोजाइ बनेको छ ।

यो प्राकृतिक, धार्मिक, सांस्कृतिक, राजनीतिक, शैक्षिक तथा हरेक दृष्टिकोणबाट उल्लेखनीय छ । मेलौली तल्लो स्वराडको मध्य क्षेत्रमा बैतडी सदरमुकामबाट १२ कोश टाढा अर्थात् एक दिनको पैदल दूरीमा पर्छ । यो मन्दिर समुद्री सतहबाट लगभग १७ सय मिटरको उचाइमा अवस्थित छ । यहाँको हावापानी बाह्रै महिना समशितोष्ण रहन्छ । यहाँ बाह्रै महिना आन्तरिक र बाह्य पर्यटकहरूको घुइँचो लाग्ने गर्छ ।

निङ्गलासैनी

निङ्गलासैनी मन्दिर बैतडी जिल्लाको देहीमाडौंमा पर्छ । निङ्गलासैनी मन्दिर सुदूरपश्चिम प्रदेशकै प्रमुख धार्मिकस्थल मानिन्छ । यस मन्दिरमा हरेक वर्षको बडा दसैं र चैते दसैंमा राँगा र बोकाको बलि दिने चलन छ । यस मन्दिरमा टाढाटाढाबाट भक्तजन र पर्यटक आउने गर्छन् । पाताल भूमेश्वरजस्ता धार्मिक पर्यटकीय स्थल पनि बैतडीमै पर्छन् ।

खप्तड

सेती अञ्चलका ४ पहाडी जिल्लाहरू बझाङ, बाजुरा, डोटी र अछाम जिल्लाको संगम स्थलमा अवस्थित खप्तडमा आन्तरिक र बाह्य पर्यटकको भीड लाग्ने गर्छ । खप्तडको त्रिवेणीमा रहेको त्रिवेणी मन्दिर र त्यस वरपर २२ वटा पाटन छन्, जुन अवलोकन गर्दा पर्यटकको मन प्रफुल्ल हुन्छ । सुदूरपश्चिमको सबैभन्दा प्रसिद्ध गन्तव्यस्थल मानिने खप्तड घुम्नका लागि जेठ, असारदेखि मंसिरसम्मको समय उपयुक्त मानिन्छ ।

समुद्री सतहबाट २ हजार ७ सयदेखि ३ हजार २ सय २७ मिटरसम्मको उचाइमा २ सय २५ वर्गकिलोलोमिटर क्षेत्रफलमा फैलिएको खप्तड राष्ट्रिय निकुञ्ज विश्वमै अति दुर्लभ दलदले घाँसे मैदान हो ।

चारैतिर खरु, धुपीसल्ला र लालीगुराँसको घारीका बीचमा रहेको पाटन, रंगीविरंगी फूलहरू, दह, त्रिवेणी, नागढुङ्गा, खप्तडबाबाको आश्रम सुन्दर घनघोर जंगल खप्तडको विशेषता हो । यस्ता प्राकृतिक दृश्य नियाल्दै जाँदा कलकल बग्ने दर्जनौँ खोला, त्रिवेणी सीतापाइला मन्दिर, त्रिवेणीधाम २२ पाटनको सुन्दरताले यहाँको आकर्षणमा सुगन्ध थपेको छ ।

धनगढीबाट डोटीको सिलगढीसम्म सार्वजनिक यातायातका साधन पाइन्छ । सिलगढी झिकरानासम्म भाडाको गाडी र त्यहाँबाट एक दिनको पैदल हिँडेपछि खप्तड पाटनमा पुगिन्छ ।

रामारोशन

यो स्थान अछाम जिल्लाको रामारोशन गाउँपालिका अवस्थित पर्यटकीय क्षेत्र हो । बाह्र बण्ड, अठार खण्डका नामले चिनिने यो क्षेत्रमा रहेका बाह्रवटा ताल र अठारवटा ठूलाठूला चौरले पर्यटकको मन लोभ्याउँछ । प्राकृतिक दृष्टिकोणले अत्यन्तै रमणीय यो ठाउँमा बाह्र प्रकारका राष्ट्रिय फूल लालीगुराँस र नेपालको राष्ट्रिय चरा डाँफे पाइन्छ ।

रामारोशनमा गुफा र झरना छन् । यहाँको मुख्य मैदान किनिमिनी, रामे र रोशन हुन् । जैविक विविधतामात्रै होइन, माओवादी जनयुद्ध पनि अध्ययन गर्न सकिन्छ रामारोशनमा । रामारोशनमा घुम्ने सिजन असोजदेखि मंसिर र फागुनदेखि जेठसम्म उपयुक्त मानिन्छ । यहाँ पुग्न, काठमाडौंबाट धनगढी, डडेल्धुरा, डोटी हुँदै मंगलसेनसम्म सडक यात्रा तय गरी तिमल्सिना सडकबाट ४२ किलोमिटर कच्ची सडक यात्रा गर्नुपर्छ ।

बाजुरा

बाजुराको बडिमालिका सुदूरपश्मिको प्रसिद्ध धार्मिक स्थल हो । बुढीनन्दा, छेडेदह पनि यहाँका घुम्न लायक ठाउँ हुन् ।

बडिमालिका

भूस्वर्गको उपमा पाएको बडिमालिका नेपालकै उत्कृष्ट गन्तव्य हो । भगवान शिवले लामो समय बसोबास गरेको मानिने बडिमालिका सौन्दर्यका हिसाबले मात्रै नभई धार्मिक हिसाबले पनि महत्वपूर्ण छ । नजिकै देखिने सुन्दर हिमाल, हिउँ कुल्चन पाउने सौभाग्य र मनोरम प्राकृतिक दृश्यहरू बडिमालिकाका गहना हुन् ।

यहाँका सौन्दर्य भनेकै विशाल फाँटहरू हुन् । बाह्रै महिना चिसो र कुहिरो लाग्ने भएकाले यहाँको प्राकृतिक सौन्दर्यता नियाल्न विशेष समयको पर्खाइ गर्नुपर्ने हुन्छ । यो ठाउँ समुद्री सतहबाट ४ हजार २ सय १९ मिटर उचाइमा रहेको छ ।

अपि बेस क्याम्प

दार्चुलाको अपि हिमाल (७,१३२ मिटर) आधार शिविरसम्म पदयात्रा रमाइलो हुन्छ । जहाँ अपि र नम्पा हिमालसँगै रिङदेपानी, कायाकोर, कालीढुंगा र बबईलगायतका हिउँचुली लहरै रहेका छन् ।

चमेलिया नदी अपि र नम्पा चुलीको फेदबाट बहन्छ । चमेलिया जलविद्युत परियोजनाको बाँध बिटलेबाट नदी किनारैकिनार उकालो चढ्नुपर्छ । असार–साउनमा बेस क्याम्पतिर यार्सागुम्बा टिप्नेको मेला लाग्छ । त्यहाँ हिउँचितुवा, रेडपान्डा, मृग, घोरल, झारल, भालु आदि पाइन्छन् ।
डाँफे, मुनाललगायतका चरा पनि देख्न सकिन्छ । धनगढीबाट डोटी, डडेल्धुरा, बैतडी हुँदै दार्चुलाको बिटलेसम्म बसमा र त्यसपछि ७ दिन पदयात्रा पछि अपि बेस क्याम्प पुगिन्छ ।

उँकु दरबार
पश्चिममा डोटी राज्यको दबदबा रहेको बेला दार्चुलाको महाकाली किनारमा रहेको सुरम्य फाँटबाट महाकालीपारिको हाल भारत अधीनस्थ कुमाउँ र गढवालमा शासन गर्ने पालवंशी राजाहरूको दरबार हो ।

तपोवन
प्राचीन समयमा ऋषिमुनीहरूले कैलाशपतिको कष्टसाध्य तपस्या गरेर लोकहितका अनेक कृयाकलापका लागि शिव–पार्वतीलाई खुशी तुल्याएको क्षेत्र हो, तपोवन ।

शैल्य शिखर मालिकार्जुन धाम

राष्ट्रकै सातौँ धामको मान्यता पाएको मालिकार्जुन शिव भगवानको बासस्थान मानिन्छ भने शैल्यशिखर व्रतालुहरूका लागि तपोभूमिका रूपमा वर्णित छ । यहाँ कात्तिक र असार शुक्ल चतुदर्शी गरी वर्षमा दुईपल्ट ठूलो मेला लाग्दछ । जहाँ भारतीय तीर्थालुसमेत ठूलो संख्यामा आउँछन् ।

गोकुलेश्वर

दार्चुला र बैतडीको सीमा छुट्याएर बग्ने चौलानी नदीको किनारमा अवस्थित सुन्दर नगर गोकुलेश्वरको अर्काे परिचय हो– धार्मिक तथा पर्यटकीय महत्त्व । यहाँ विभिन्न देवीदेवताका मन्दिरका साथै रमणीय प्राकृतिक स्थलहरू छन् ।

व्यास उपत्यका
नेपालको विशिष्ट पहिचान बोकेको र सौका समुदायको बसोबास रहेको व्यास उपत्यका दार्चुलाको पश्चिमोत्तर कुनामा पर्छ । कैलाश मानसरोवर प्रवेश गर्ने मुख्यद्वार व्यास उपत्यका नै हो । उपत्यकाको प्राकृतिक सौन्दर्यका साथै सौका समुदायको वैभवशाली परम्परा र संस्कृति यहाँको मनै लोभ्याउने अर्काे आकर्षण हो ।

कालापानी

व्यास उपत्यकालाई पूर्वदक्षिणमा पारेर केही किलोटिर उकालो चढेपछि आउँछ, नेपालकै चर्चित ठाउँ कालापानी । सबै नेपालीले सुनेको नाम कालापानी पुग्न भने निकै कष्टकर छ । नेपालतिर सडक सुविधा नभएकाले व्यास उपत्यका र कालापानी पुग्न भारतीय मार्ग प्रयोग गर्नुपर्ने बाध्यता छ । भारतले मिचेको नेपाली भूमीमा पुग्न भारतकै बाटो प्रयोग गर्नुपर्ने बाध्यताले राष्ट्रवादको नारा र धरातलीय यथार्थलाई बुझाउन मद्दत गर्दछ ।

घुसा–खण्डेश्वरी

उत्तरमा चीन र पूर्वमा बझाङ जिल्लाले छोएको दार्चुलाको अति रमणीय ठाउँ हो, घुसा खण्डेश्वरी । अपि हिमालको काखमा बसेको सुन्दर घुसार र खण्डेश्वरी पर्यटकका लागि भर्जिन स्थल हुन् । यहाँ पुग्नका लागि गोकुलेश्वरबाट चौलानीको किनारैकिनार उकालो लाग्नुपर्छ, जुन यात्रा बेनीबाट मुस्ताङ गएजस्तै रोमाञ्चक र आनन्दायक हुन्छ ।

यस्ता सयौं धार्मिक स्थल सुदूरपश्चिम प्रदेशका हरेक जिल्लामा छन् । यति मात्र नभई यहाँको डेउडा, दसैं, होली, गौरा, फाग, धुमारी, चैत, भैली, थारू समुदायको माघी, सखिया नाचलगायतका संस्कृतिहरू सुदूरपश्चिममा विद्यमान छन् ।

त्यस्तै, यहाँका नदीमा ¥याफ्टिङ, डुंगा दौड तथा जलयात्राको समेत आनन्द लिन सकिन्छ । पर्याप्त पर्यटकीय सम्भावना रहे पनि सुदूरपश्चिमका गन्तव्य पर्यटकका रोजाइमा पर्न सकेका छैनन् । पूर्वाधार विकास र प्रचारप्रसारको कमीले यहाँ पर्यटक आउन नसकेका हुन् । पर्यटकलाई आकर्षित गर्न सरकारी तथा निजी क्षेत्रले पनि प्रभावकारी कार्यक्रम ल्याएका छैनन् ।

प्राकृतिक क्षेत्रको अवलोकनका लागि आउने पर्यटकहरूलाई आवतजावतका लागि यातायातको सुविधा नहुनु, सबै जिल्लामा विमानस्थल सञ्चालन नहुनु, संचालन भएका स्थानमा पनि महँगो हवाइ भाडा, रोयल्टी महँगो हुनु, पर्यटकलाई उद्धारको व्यवस्था नहुनु पर्यटक आकर्षण हुन नसक्नुका कारण बनेका छन् । सुदूरपश्चिमका गहनाहरुलाई संरक्षण गर्नतर्फ राज्यको ध्यान जाने होभने सुदूरपश्चिमले नेपालको अर्थतन्त्रलाई टेवा पुर्याउनेमा दुईमत छैन ।

प्रतिक्रिया दिनुहोस्