Logo
Logo

शिया मस्जिदमा बम आक्रमण, ४७ जनाको मृत्यु


एजेन्सी


काबुल । अफगानिस्तानको कान्दहारस्थित एउटा शिया मस्जिदमा बम आक्रमण हुँदा ४७ जनाको मृत्यु भएको छ भने ७० जना घाइते भएको अधिकारीहरुले बताएका छन् ।

शुक्रबारको साप्ताहिक प्रार्थनाका बेला बीबी फातिमा मस्जिदमा बम आक्रमण भएको थियो । अलजजिराका अनुसार विष्फोटमा ४७ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

तीन जना आक्रमणकारीले आत्मघाती बम आक्रमण गरेको प्रत्यक्षदर्शीले बताएका छन् । एक जना आक्रमणकारीले मस्जिदको प्रवेशद्वारमा र दुई जनाले भित्र विष्फोट गराएका थिए ।

घटना हुँदा मस्जिदमा मानिसहरु भरिभराउ थिए । घटनास्थलको तस्बिरमा मस्जिदका झ्यालका सिसाहरु फुटेका र शवहरु भुइँमा यत्रतत्र छरिएको देखिन्छ । तालिबानले विशेष सुरक्षा फौजले घटनास्थल घेरामा राखेको छ र घाइतेहरुको उपचारका लागि रगत आवश्यक परेकाले रक्तदान गर्न आह्वान गरेको छ ।

आक्रमणको जिम्मा अहिलेसम्म कसैले लिएको छैन । एक साता अगाडि पनि शुक्रबारकै दिन उत्तरी कुन्दुज प्रान्तस्थित शिया मस्जिदमा विष्फोट हुँदा ५० जनाको ज्यान गएको थियो । सो घटनाको आईएस–केले जिम्मा लिएको थियो ।

प्रतिक्रिया दिनुहोस्