Logo
Logo

रक्षा मन्त्री रिजाल जङ्गी अड्डामा



काठमाडौं । रक्षा मन्त्री डा मिनेन्द्र रिजालले जङ्गी अड्डाको निरीक्षण गरेका छन् । आज (आइतबार) निरीक्षणका साथै विविध विषयबारे जानकारी लिएका हुन् ।

रक्षा मन्त्री रिजाललाई प्रधान सेनापति महारथी प्रभुराम शर्माले जङ्गी अड्डामा स्वागत गरेका थिए । उनले सेनालाई नेपाल सरकार तथा रक्षा मन्त्रालयबाट प्राप्त भइरहेको निर्देशन तथा सहयोगका लागि हार्दिक आभार व्यक्त गरेका थिए।

प्रधान सेनापति महारथी शर्माले रक्षा मन्त्रीको सबल नेतृत्व र निर्देशनमा रक्षा मन्त्रालयबाट नेपाली सेनाको आधुनिकीकरण र पेसागत सुदृढीकरणमा विशेष टेवा पुग्ने विश्वास व्यक्त गरे । कार्यक्रममा रक्षा मन्त्री रिजाललाई नेपाली सेनासम्बन्धी विविध पक्षमा केन्द्रित रही प्रस्तुतीकरण भएको थियो ।

प्रस्तुतीकरणपछि रक्षा मन्त्री रिजालले आफू यस पदमा नियुक्त भएकोमा गौरव महसुस गरेको बताएका थिए । उनले नेपाली सेनाले देशभित्र विपद् व्यवस्थापन र कोभिड–१९ महामारीविरुद्धको प्रतिकार्य तथा देशबाहिर शान्ति स्थापनार्थ निर्वाह गरेको भूमिकाको प्रशंसा पनि गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्