काठमाडौं । चिनियाँ राष्ट्रपति सी जीनपिङले भारतको दुईदिने भ्रमण पूरा गर्दै ब्रिक्स समूहबीच सहकार्य थप विस्तार गर्न पाँच वटा महत्त्वपूर्ण पहल प्रस्ताव गरेका छन् । नयाँदिल्लीमा आयोजित १८औँ ब्रिक्स शिखर सम्मेलनको दोस्रो दिन उनले कृत्रिम बुद्धिमत्ता, व्यापार तथा लगानी सहजीकरण, डिजिटल उद्योग, स्मार्ट उत्पादन र प्रतिभा विकाससम्बन्धी पहल अघि सारेका थिए ।

ब्रिक्सको २०औँ स्थापना वर्षका अवसरमा आयोजित सम्मेलनले आगामी वर्ष चीनले सम्हाल्ने ब्रिक्स अध्यक्षताका लागि समेत आधार तयार गरेको छ । सीले ब्रिक्स समूहले नवप्रवर्तन, परम्परागत उद्योगको सुधार र नयाँ उद्योगको विकासमा जोड दिनुपर्ने बताएका थिए ।
चीनको अन्तर्राष्ट्रिय समसामयिक सम्बन्धसम्बन्धी संस्थाका अनुसन्धानकर्ता स्यु फेइपियाओले पाँचवटै पहल एकअर्कासँग जोडिएको बताएका थिए । उनका अनुसार विकासशील मुलुकहरू नयाँ प्रविधि, कृत्रिम बुद्धिमत्ता र औद्योगिक परिवर्तनमा पछि परे दिगो विकासको लक्ष्य हासिल गर्न कठिन हुने भएकाले सीले अघि सारेका पहल महत्त्वपूर्ण छन् ।
सम्मेलनमा सीले ब्रिक्सलाई समयअनुकूल परिवर्तन, नवप्रवर्तनमा आधारित विकास, सभ्यताबीच आपसी सिकाइ तथा विश्वव्यापी शासन व्यवस्थामा सुधारका लागि अग्रणी भूमिका निर्वाह गर्नुपर्ने बताएका थिए ।
नयाँदिल्ली सम्मेलनबाट लचिलोपन, नवप्रवर्तन, सहकार्य र दिगोपनलाई प्राथमिकतामा राख्दै ५० भन्दा बढी निर्णय तथा पहल अघि सारिएका थिए । यसमा सन् २०३० सम्मको आर्थिक साझेदारी रणनीतिदेखि व्यापार तथा लगानीलाई सहज बनाउने विभिन्न प्रस्तावसमेत समेटिएका थिए ।
भारत भ्रमणका क्रममा सीले विभिन्न विज्ञ, सञ्चारकर्मी र सर्वसाधारणसँग समेत सम्बन्ध विस्तारको विषयमा चर्चा गरेका थिए । भारतका केही विज्ञ तथा व्यवसायीले चीन र भारतबीच थप सहकार्य भए दुवै देशको आर्थिक तथा सामाजिक विकासमा फाइदा पुग्ने बताएका थिए ।
आगामी वर्ष ब्रिक्सको अध्यक्षता चीनले सम्हाल्ने भएकाले यसपटक सीले अघि सारेका पहललाई आगामी वर्षको सहकार्यको आधारका रूपमा हेरिएको छ । विज्ञहरूले चीनको नेतृत्वमा ब्रिक्सले विकासशील मुलुकबीच प्रविधि, व्यापार, उद्योग र प्रतिभा विकासमा थप व्यावहारिक सहकार्य अघि बढाउन सक्ने बताएका छन् ।















