Logo
Logo

धानखेती डुब्दा कृषक मारमा



दाङ । आइतबारदेखि परेको वर्षाले दाङ-देउखुरीका किसान मारमा परेका छन् । वर्षाले विशेष गरि धानखेतीमा आश्रति दाङ–देउखुरीका कृषक मारमा परेका हुन् ।

मानो छरेर मुरी उब्जाउने भन्दै बर्खाभरी खेतिपातीमा व्यस्त किसानहरु अन्नपात घर भित्र्याउने समयमा वर्षाले डुवाए पछि चिन्तित बनेका छन् ।

करिब १५ कठ्ठा खेतमा धान रोपेका लमही नगरपालिका ३ जखेरा तालका जगदीश चौधरी पेशाले ड्राइभर हुन् । यद्यपि खेतामा गंगोत्रि धान रोपेका चौधरीले धान काटेर केही घण्टा खेतमै सुकाएर उठाउने सोच बनाएका थिए । उनले करीब ६० हजार बराबरको धनखेतीमा क्षति पुर्‍याएको बताए ।

त्यस्तै लमही नगरपालिका वडा नम्बर-४ भैसकोर्मामा दुई विगाह क्षेत्रफलमा अँधिया धानखेती गरेका पुनिराम चौधरीको धान बालीमा पनि वर्षाले क्षति पुर्याएको छ । कृषक चौधरी आउने वर्षको खर्च कसरी धान्ने ? भन्ने चिन्तामा परेका छन् ।

चौधरी मात्रै होइन, लमही नगरपालिका ३ जखेरातालका सेतिराम डाँगीलाई पनि यो वर्षाले मर्कामा पारेको छ । डाँगीले करीब चार कठ्ठा क्षेत्रफलमा लगाएको आलु खेतीमा वर्षाले क्षती पुर्याएको छ ।

त्यस्तै व्यवसायीक तरकारी खेती गर्दै आएका ठगेन्द्र चौधरी पनि आफूले दुई क्विन्टल बढी आलु लगाए लगत्तै परेको वर्षाले मर्माहत परेको बताउँछन् ।

राप्ती नदिछेउँमा रहेको आफ्नै जग्गामा हाँस फर्मसमेत सञ्चालन गरेका चौधरीले बढ्दो नदीको बहावले फर्ममा समेत खतरा रहेको चिन्ता व्यक्त गरे ।

करिब डेढ विगाह क्षेत्रफलमा रोपिएको धान पानीले डुवाएपछी लमही नगरपालिका–४ भैसकोर्माका गोपिलाल चौधरी मर्काकामा परेको दुखेसो पोख्छन् ।

धान मात्रै नभएर भर्खरै छरेको तोरि, मसुरो, आलु लगायतका थुप्रै बालिमा पानीले क्षति पुर्‍याएको छ।

तुलनात्मक रुपमा अन्य वर्ष भन्दा धानखेती राम्रो रहेको कृषकहरुको भनाइ छ । तर, वर्षभरी खाने खेती स्याहार्ने बेला परेको वर्षाले दाङ देउखुरी क्षेत्रका किसानहरुमा नैरश्यता छाएको छ।

खेतीपातीको समयमा हुने रसायनिक मलको अभाव र मौसमी प्रतिकुलताको शिकार हुनुपर्दा कृषि पेशाप्रति जाँगर मर्दै गएको कृषकहरुको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्