Logo
Logo

लुम्बिनीमा साढे ४ अर्बको धान नष्ट, किसान राहतको आशामा



बुटवल । लगातार परेको बेमैसमी वर्षाले लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा करिव ४ अर्व ५१ करोड ४२ लाख रूपैयाँ बराबरको धानवाली नष्ट भएको छ ।

प्रदेशका विभिन्न जिल्लामा करिव ३६ हजार बढी हेक्टर भूमिमा काटेर राखेको धान र ९३ हजार बढी हेक्टरमा खडारहेको धानवालीसहित १ लाख ६१ हजार २ सय २३ मेट्रिक टन नोक्सान भएको अनुमान गरिएको छ । दशैंपछि धान भित्र्याउने तयारीमा रहेका किसान अहिले राहत पाइन्छ कि भन्ने आशामा छन् ।

रूपन्देहीमा पनि वर्षाले धानखेती नराम्रोसँग प्रभावित भएको छ । काटेर पाजा बनाएर खेतमा सुकाउन राखेको धान वर्षाले खेतमै उम्रिएको छ ।

रूपन्देही तिलोत्तमा–६ का किसान नारायण पाण्डेले आफ्नो ८ कठ्ठा खेतको काटेर राखेको धानबाली वर्षाले सखाप पारिदिएको बताए । वर्षले करिव २४ मुरी धान नोक्सान भएको उनले बताए ।

परिवार पाल्ने एकमात्र सहारा कृषि कार्य हो । सरकारबाट केही सयोग पाए तरकारी खेती लगाउने सुरमा रहेका नारायण बताउँछन् ।

रूपन्देहीकै अर्का किसान रामप्रसाद कुमालले पनि वर्षाले काटेर खेतमा राखेको धान सबै सखाप पारेको बताए । उनी भन्छन्, ‘धानको भाउ किसानको हातमा पनि हुँदैन । भनेको बेला बीउ पाइँदैन । मल पनि पाइँदैन । अहिले प्रकृतिले पनि किसानलाई ठग्यो ।’

वर्षाले भिजेर धान खान योग्य नभएको किसान विनोद राय यादव बताउँछन् । कुखुराको लागि दाना हुने चाहिँ हुने उनको भनाइ छ । अहिले धेरै किसान आँगन र सडकमा भिजेको धान सुकाउनमै व्यस्त छन् ।

अरु धेरै किसानको धान बालीमा वर्षाले क्षति पुर्याएको छ । जिल्लामा कृषि कार्यालयले क्षतिको विवरण संकलन गरेपनि यकिन तथ्यांक भने अहिलेसम्म आएको छैन । आफ्नो धान बालीको नोक्सान भएपनि तथ्यांक बुझ्न कोहि नआएको केही किसानको गुनासो छ ।

३ सय रूपैयाँ किलोसम्म किनेर रोपेको धान भित्र्याउने बेला वर्षाले सखाप पारिदिएपछि किसान मारमा छन् । रुपन्देहीसँगे पाल्पा, कपिलवस्तु, दाङ लगायतका जिल्लामा पनि धानबालीमा वर्षले ठूलो क्षति पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्