Logo
Logo

धनगढीमा अटोरिक्साको चाप, व्यवस्थित नहुँदा दुर्घटना बढ्ने खतरा



धनगढी । धनगढी उपमहानगरपालिका भित्र ईलेक्ट्रिकल अटोरिक्साको चाप बढ्दै गएको छ । अटोरिक्साको चाप बढेसँगै नगरमा दुर्घटनाको जोखिमसमेत बढेको छ । धनगढीको मुख्य सडक खाल्डाखुल्डी भएको र अर्कोतर्फ अधिक मात्रामा अटोरिक्सा चल्दा सडक जाम हुनुका साथै दुर्घटनासमेत बढ्ने खतरा बढ्दै गएको हो ।

धनगढीमा दैनिक साना–ठूला सवारीसाधनसँगै अधिक मात्रामा अटोरिक्सा चलेपछि बजार क्षेत्र अस्तव्यस्त बनेको छ । समयमै सडकको अवस्था सुधार गरेर अटोरिक्सा व्यवस्थित गर्नुपर्ने धेरैको धनगढीबासीमा माग छ । अस्तव्यस्त सडक समयमै व्यवस्थापन गर्न नसके दुर्घटनाको जोखिम अझै बढ्न सक्ने धेरैको भनाइ छ ।

‘धनगढीमा मुख्य सडकमा अटोरिक्सा मात्रै देखिन्छन्’ सुरेश चौधरीले भने । साँघुरो सडकमा हिँडडुल गर्नसमेत समस्या छ । उनले सहज आवागमन र सडक दुर्घटना नियन्त्रण गर्नका लागि सडकको अवस्था सुधार गर्दै अटोरिक्सा व्यवस्थित गर्नुपर्नेमा बताए ।

धनगढी उपमहानगरपालिका–५, जाईका अटो चालक पारस बिसीले जानकारी दिँदै भने, ‘अन्य ठाउँका लागि दर्ता भएका अटोरिक्सा धनगढी बजार क्षेत्रमै नचल्ने भएकाले पनि बजार क्षेत्रको सडक अटोरिक्सले व्यस्त देखिन्छ ।’

उनले जुन ठाउँका लागि भनेर दर्ता भएको हो । सोही ठाउँमा अटो चलाए समस्या समाधानमा सहयोग पुग्ने उनले बताए । उनका अनुसार उमेर नपुगेका व्यक्तिले समेत अटोरिक्सा चलाउँदा दुर्घटनाको जोखिम बढेको छ ।

अटोरिक्सा मजदुर संघ कैलालीका अध्यक्ष लाल बिकले धनगढीका २ हजार ५ सय अटोरिक्सा गुडिरहेको बताउँदै नगरका लागि यो संख्या धेरै भएको बताए । उनले भने, ‘कैलाली जिल्लामा ५ हजार १ सय अटोरिक्सा दर्ता भएका छन् । दर्तामध्ये धनगढीमा १ हजार ५ सय इ—रिक्सा र १ हजार बढी पेट्रोल रिक्सा चलिरहेको छ ।

सडक क्षमताभन्दा बढी अटो चल्दा सडक जाम हुने, दुर्घटनाको जोखिम बढेको उनले बताए । अध्यक्षले बिकका अनुसार पहिले जुन ठाउँमा दर्ता भएको थियो, त्यही अटो चलाउनुपर्ने कुरा भएको भएपनि अहिले प्रदेशका अन्य पालिका र जिल्लामा दर्ता भएका रिक्सा पनि धनगढी नगरमै चलिरहेका छन् । जसले गर्दा सडक दुर्घटना बढ्दै जानुका साथै सडक व्यस्त देखिने गरेको छ ।

उनले चार हजारले अटोरिक्सा चलाउने लाइसेन्स पाएपनि अन्य लाइसेन्स बिना अटो चलाइरहेको बताए । चार लाख बढी मूल्य पर्ने अटोरिक्सा चालकलाई लाइसेन्सका लागि सम्बन्धित निकाय गम्भीर हुनुपर्ने उनको भनाइ छ ।

यता धनगढी उपमहानगरपालिकाका प्रवक्ता सन्तोष मुडभरीले अरु ठाउँमा दर्ता भएका अटोरिक्सा उपमहानगरपालिकामा चल्दा समस्या भएको बताए । उनले भने, ‘पहिले हामीलाई अधिकार दिइएको थियो । हामीले सात सय जतिमात्र दर्ता गरेका थियौँ । अहिले प्रदेश मातहत छ । उसैले दर्ता गरिरहेको छ ।’

ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख विरेद्र बोहोराले यातायात व्यवस्था कार्यालय सेतीमा धेरै पटक पहल गरेको भएपनि यसको व्यवस्था हुन नसकेको जानकारी दिए । उनले भने, ‘क्षमताभन्दा बढी अटो दर्ता हुँदा सडक दुर्घटना बढ्दै गएको छ । धनगढी उपमहानगरपालिकाले नगरभित्र कति वटा अटोरिक्सा चलाउन दिने र जोरबिजोर रुट तोकेर सञ्चालनमा ल्याउन पहल गर्ने हो भने बजारमा व्यवस्थित हुनुका साथै सडक दुर्घटना कम हुन्छ ।’

उनले धनगढी नगरमा सार्वजनिक अटोरिक्सा ७ हजार र निजी अटोरिक्सा ३ हजार गरेर जम्मा १० हजारको हाराहारीमा चलिरहेको जानकारी दिए । धनगढी उपमहानगरपालिकाले सडक दुर्घटना र बजारलाई व्यवस्थित गर्न अटोरिक्साको नयाँ दर्ता बन्द गर्ने, जोरविजोरको प्रणाली लागु गर्ने, अटो रिक्साका रुट निर्धारण गर्नुपर्ने र अस्थायी लाइसेन्सको व्यवस्था गर्नुपर्नेे देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्