Logo
Logo

हज कमिटीमा भ्रष्टाचार


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । मुस्लिम धर्मावलम्बीहरुको प्रमुख तीर्थस्थलका रुपमा परिचित साउदीको मक्का मदिनामा हज गर्न जाने हाजीहरुको लागि हवाई टिकट र घरभाडामा लिने क्रममा ३ करोड रुपैयाँ घोटाला भएको छ । हज कमिटीका अध्यक्ष समशेर मियाँ र पूर्व राज्मन्त्री जाकिर हुसेनले १२ सय हजयात्रीका लागि टिकट खरिदमा हिना ट्राभल्सबाट टिकट खरिदमा १ करोड रुपैयाँ कमिसन खाएको आरोप छ ।

साउदीको मक्का र मदिनामा हजयात्री राख्नका लागि घरभाडामा लिने क्रममा घर मिलाउने मसुद अलीसाग ७ लाख साउदी रियाल घुस मागेको सूचना हज कमिटीका सदस्यहरुसम्म पुगेको छ । मसुद अलीले प्रत्येक हाजीसँग १७ सय रियाल लिंदा आफूलाई ५० रियालमात्र फाइदा हुने भएकाले ७ लाख रियाल घुस दिन नसक्ने बताएका थिए । उनले प्रतिहजयात्री २ हजार रुपैयाँ दिने हो भने केही कमिसन दिन सकिने तर ७ लाख रियाल अर्थात् नेपाली २ करोड १५ लाख दिन नसकिने बताए । उनले हज कमिटीका अध्यक्ष मियाँ र जाकिर हुसेनलाई हजयात्रीले कमिसन लिएको थाहा पाए कसैलाई पनि राम्रो नहुने कुरामा सचेत गराउँदा पनि उनीहरुले कमिसनको मोलमोलाई छाडेनन् ।

हाजीहरुलाई ३५ दिनका लागि मक्का र १० दिन मदिना गरी ४५ दिनको प्रतिब्यक्ति १७ सय रियालमा पाउँदा पाउँदै मागे जति घुस नपाएपछि उनीहरु मदिना युनिभर्सिटीमा पढ्ने इशहाक नामक बिचौलियामार्फत् घर मिलाएर कमिसन खाने दाउमा छन् । हज कमिटीको कुनै पनि पदमा नभएका जाकिर हुसेन, शमशेर मिया र गृहमन्त्रालयका उपसचिव सूर्यबहादुर खत्रीको टोली १२ दिन साउदीमा बसी फर्किएको थियो । फर्किनासाथ हज कमिटीका सदस्यसचिव समेत रहेका उपसचिव खत्रीलाई पनि नलिई घरभाडामा घुसको बार्गेनिङ गर्न शमशेर मिया र जाकिर हुसेन २ दिनअघि पुनः साउदीअरब पुगेका छन् ।

साउदी दूताबासमा कार्यरत अबुल कलामका भाइ इशहाकको साउदीमा राम्रो छवि छैन । भैरहवा र कृष्णनगर भन्सारबाट तस्करी गरी अथाह सम्पत्ति कमाएका समशेर मियाँले करोड भन्दा बढी खर्चेर हज कमिटीको अध्यक्षमा नियुक्त भएका थिए । मन्त्रिपरिषदले मात्र हज कमिटीको अध्यक्ष नियुक्त गर्ने प्रचलन तोडी गृहमन्त्री रामबहादुर थापाले मन्त्रीस्तरीय निर्णयबाट उनलाई नियुक्त गरेका थिए । हज कमिटीमा तस्करलाई नियुक्त गरिएकोमा गृहमन्त्री थापा आलोचित समेत भएका थिए । अहिले उनले कमिसन उठन्ती गर्न पूर्वराज्यमन्त्री ह्ुसेनलाई पटकपटक साउदीमा लिएर गएका छन् ।

प्रतिक्रिया दिनुहोस्