Logo
Logo

नेपाललाई चीनको बलियो समर्थन


रमेश घिमिरे (स्वतन्त्र पत्रकार)


रमेश घिमिरे (स्वतन्त्र पत्रकार)

नेपालका राष्ट्रपति विद्यादेवी भण्डारी नेपालको उत्तरी छिमेकी राष्ट्र चीनका राष्ट्रपति सी जिनपिङको निमन्त्रणामा चीनको राजकीय यात्रा पूरा गरी गत साता स्वदेश फर्किएकी छिन् । राष्ट्रपति भण्डारीको यो भ्रमण साँचो अर्थमा ऐतिहासिक सावित भएको छ ।

रमेश घिमिरे (स्वतन्त्र पत्रकार)

प्रथमतः नेपालमा संघीय गणतन्त्र स्थापना भएको एक दशकपछि मात्र नेपालका राष्ट्रपतिको चीनको राजकीय भ्रमण सम्भव भएको हो । यो भ्रमणमा केही यस्ता कार्यहरु भएका छन्, जसले गर्दा नेपाल–चीन सम्बन्धमा नयाँ आयाम थपिएको छ ।

जस्तै सन् २०१६ मा भारतीय नाकाबन्दीताका प्रधानमन्त्री केपीशर्मा ओलीको पहिलो प्रधानमन्त्रीत्वकालमा भएको नेपाल–चीन व्यापार तथा पारवहन सन्धिको प्रोटोकलमा हस्ताक्षर भएपश्चात् यस सन्धिले पूर्णता पाएको छ । यस सन्धि र प्रोटोकलमा हस्ताक्षर भएपछि भूपरिवेष्ठित राष्ट्रको हैसियतले नेपालले आफ्नो अन्तर्राष्ट्रिय व्यापार गर्न उत्तर (चीन) र दक्षिण (भारत) दुवै छिमेकीको बन्दरगाहलगायत अन्य सुविधा प्राप्त गर्ने सुनिश्चितता प्राप्त गरेको छ । यो नेपाल सरकारको कूटनीतिक सफलता हो । यस सम्झौताबाट नेपालले भविष्यमा ठूलो फाइदा उठाउन सक्छ ।

यो प्रोटोकलमा हस्ताक्षर भएपछि यसलाई जतिसक्दो चाँडो कार्यान्वयन गर्न नेपाल सरकारको काँधमा ठूलो जिम्मेवारी थपिएको छ । किनभने, हाल नेपाल–चीन व्यापारको लागि कनिकुथी केरुङ नाकामात्र सञ्चालनमा छ । यसको पूर्ण कार्यान्वयनका लागि सबै मौसममा प्रयोग हुनसक्ने दुईलेनको राजमार्ग निर्माणको लागि युद्धस्तरमा जुटिहाल्नु पर्दछ । अन्यथा, यो सम्झौता कागजमै सीमित भएर रहिरह्यो भने नेपालकै तेस्रो मुलुकसँग व्यापारको लागि भारतसँगको निर्भरता कायमै रहिनैरहने छ ।

यस्तै चिनियाँ राष्ट्रपति सी जिनपिङ र नेपालको राष्ट्रपति विद्यादेवी भण्डारीबीच बेइजिङको ग्रेटहल अफ दि पिपुलमा भएको भेटको अवसरमा नेपाल–चीन सम्बन्धको बारेमा जुन उद्गार चीनका राष्ट्रपति सीले व्यक्त गरेका छन्, त्यो नेपाल र नेपाली जनताको लागि अत्यन्त मननयोग्य छ ।

चिनियाँ मिडिया सीजीटीएन (चाइना ग्लोबल टेलिभिजन नेटवर्क)का अनुसार राष्ट्रपति सीले नेपाललाई विशेष महत्व दिँदै भनेका छन्– ‘चीनले नेपालसँगको सम्बन्धलाई सधैँ उच्च प्राथमिकतामा राखेको छ’ र चीन, नेपालले आफ्नो राष्ट्रिय स्वाधिनता, सार्वभौमसत्ता र भौगोलिक अखण्डता अक्षुण्ण राख्न चालेको कदमलाई समर्थन गर्नुका साथै आफ्नो राष्ट्रिय परिस्थितिअनुसार स्वतन्त्र रुपले अंगीकार गरेको सामाजिक व्यवस्था र आफ्नो देशको विकासको लागि रोजेको बाटोको सदैव समर्थन गर्दछ ।’ ‘यसका साथै चीन, नेपालले सदैव चीनको राष्ट्रिय हित र यससम्बन्धी विषयमा नेपालको हठ समर्थनलाई सदैव आत्मसात गर्दछ ।’

सीले अगाडि भनेका छन्– ‘चीन–नेपाल आधारभूत संरचनाहरुको विकासमा लाग्नुका साथै सीमापार आर्थिक विकास क्षेत्रको निर्माणमा अथक रुपमा लाग्नु पर्दछ । यसका साथै द्विपक्षीय सम्बन्धलाई नयाँ उचाईमा पु¥याउनाका निमित्त विधायिका संस्थाहरु, राजनीतिक दलहरु, युवा, थिंकट्यांक, मिडिया र स्थानीयस्तरमा सघन अन्तर्सम्बन्ध हुनु आवश्यक छ । यही कुरालाई ध्यानमा राख्दै चीनले नेपालका राजनीतिक दल, सामाजिक अभियन्ता, सञ्चारकर्मी, कलाकार र व्यापारीहरुलाई चीनको विकास देखाउन निम्ता गर्ने गरेको छ । आधुनिक चीनको विकासले नेपालीहरु प्रभावित भएका छन् । त्यसैगरी नेपालको जलविद्युत् र पूर्वाधार क्षेत्रमा चिनियाँहरुले चासो देखाएका छन् । हजारौँ चिनियाँ पर्यटक भ्रमणमा आउने गरेका छन् । यसले जनता जनताबीचको सम्बन्धलाई बलियो बनाएको छ ।

यसबाट के स्पष्ट हुन्छ भने राष्ट्रपति सी नेपाल–चीन सम्बन्धलाई सगरमाथाको उचाइमा पु¥याउन उद्यत छन् । यो भनेको केपी शर्मा ओलीको सरकारलाई विश्व आर्थिक महाशक्ति राष्ट्र चीनसँग सघन सहकार्य गरेर ‘समृद्ध नेपाल, सुखी नेपाली’को सपानालाई साकार तुल्याउन अपूर्व अवसर प्राप्त भएको छ ।

[email protected]

प्रतिक्रिया दिनुहोस्