Logo
Logo

१२ घण्टे सिफ्ट प्रणाली : प्राविधिकलाई दोब्बर फाइदा


एमपी सुब्बा


एमपी सुब्बा

एउटा फिल्म तयार हुन ५० देखि ७० जनाको ‘टिमवर्क’ चाहिन्छ । त्यो ‘टिमवर्क’मा महत्वपूर्ण भूमिका निर्वाह गर्नेमध्ये हुन्, प्राविधिक । तिनै प्राविधिकले फिल्म क्षेत्रमा निर्देशक, निर्मातादेखि लिएर हिरो–हिरोइनसम्मको पेलाई खानुपर्छ । एक दशकयता न उनीहरुको पारिश्रमिक बृद्धि भएको छ, न त कुनै सेवा सुविधा नै । तर, नायक-नायिकाहरुले भने एउटा फिल्ममा काम गर्न नपाउँदै ‘भाउ’ बढाएर आफ्नो ‘रेट’ तोक्ने गरेका छन् ।

हालै प्राविधिक संघले लागू गरेको १२ घण्टे प्रणलीले फिल्मका मजदूरलाई दोहोरो पाइदा भएको छ । नेपाली फिल्ममा क्रेन, ट्रली, रिफ्ल्याक्टरजस्ता हेभी सामान ओसार–पसार गर्नेलाई समेत २४ घण्टाको २ हजारदेखि तीन हजार रुपैयाँसम्म मात्र दिने गरिन्छ । तर, अब यो प्रणाली लागू भएसँगै १२ घण्टामै तीन हजार पाउनेछन् भने २४ घण्टाकाम गर्नेलाई त्यसको दोब्बर अर्थात ६ हजार रुपैयाँ दिनुपर्ने छ ।

विशेषगरी पछिल्लो समय रजतपटमा प्रवेशका गरेका नायक-नायिकाको चर्को ‘रेट’ले निर्माताहरु समेत मारमा पर्न थालेका छन् । अनमोल केसी, प्रदीप खड्का, पल शाहजस्ता नायक र साम्राज्ञी राज्यलक्ष्मी शाह, पुजा शर्मा, आना शर्मा, जसिता गुरुङहरुको डिमाण्डले फिल्ममा लगानी बढेको निर्माताहरुको भनाइ छ ।

एक निर्माताले भने, ‘करिश्मा, रेखा, केकीहरुले कहिल्यै आफ्नो भाउ बढाएनन, हामीले नै रेट तोकेर दिन्थ्यौँ । तर अहिलेका हिरो र हिरोइनहरु त छुनै सकिने भए । तैपनि अरु निर्माता तथा निर्देशकहरु तिनै भाउवालाको पछि लागेपछि फिल्मको लगानी बढेको हो ।’

पछिल्लो समय उदाएका नायक-नायिकाहरुको ‘भाउ’ अचाक्ली छ । बेला–बेला ‘फलाना हिराइनले यति लाख डिमाण्ड गरिन्, फलाला हिरोले २० लाख लिए’ जस्ता समाचार सुन्दै र पढ्दै पनि आएका छौँ । तर, फिल्म निर्माणका बेला पसिना बगाउने ती प्राविधिकको ‘भाउ’ बढेको न पहिले सुनिएको थियो, न त अहिले नै । अब बल्ल फिल्ममा काम गर्ने ती प्राविधिक अर्थात मजदुरको पारिश्रमिकमा हेरफेर हुने देखिएको छ ।

१२ घण्टे प्रणालीको फाइदा

यसै साता नेपाल चलचित्र प्राविधिक संघले आफ्ना सदस्यको हितमा १२ घण्टे सिफ्ट प्रणाली लागू गरेका छ । १२ घण्टे सिफ्ट प्रणाली औपचारिक रुपमै लागू गर्दै प्राविधिकहरुको छाता संगठन नेपाल चलचित्र प्राविधिक सघंले भनेको छ, ‘यो प्रणालीले हाम्रा सदस्यहरुलाई केही भएपनि राहत मिल्नेछ ।’

संघले यही गएको मजदुर दिवसकै दिन १२ घण्टे सिफ्ट प्रणाली लागू गरेको हो । प्राविधिक संघका अध्यक्ष पुष्कर लामाका अनुसार संघले लागू गरेको सिफ्ट प्रणालीलाई नेपाल चलचित्र निर्माता संघले सकारात्मक रूपमा लिएको छ । तर, चलचित्र निर्माता संघले भने उक्त प्रणाली प्राविधिकहरुले एकतर्फी लागू गरेको जनाएको छ ।

प्राविधिक संघका अध्यक्ष लामाले अब प्राविधिकहरुलाई सिफ्ट प्रणालीअन्र्तगत नै काममा लगाउने बताएका छन् । उनले यसअघि नेपाली फिल्ममा काम गर्ने प्राविधिकलाई एक सिफ्टमा २४ घण्टासम्म काम गराएको भन्दै उनले भने, ‘अबदेखि हामी १२ घण्टाको एक सिफ्ट तोकेको छौँ ।’

यो प्रणालीले प्राविधिकहरुलाई पक्कै पनि राहत मिल्नेछ किनकि, एउटै पारिश्रमिकमा २४ घण्टासम्म काम गर्दा प्राविधिकहरु थला समेत परेका थुप्रै उदाहरणहरु छन् । केही समयअघि मात्र एक नेपाली फिल्ममा काम गर्दागर्दै एक प्राविधिक विमारी भएर अस्पताल भर्ना गर्नु परेको थियो । तर, त्यसरी कामकै बिचमा बिमारी परेका प्राविधिकलाई उल्टै निर्माताले ‘धोका दिएको’ भन्दै पारिश्रमिक समेत नदिइ ‘आउट’ गरेका थिए ।

हालै प्राविधिक संघले लागू गरेको १२ घण्टे प्रणलीले फिल्मका मजदूरलाई दोहोरो पाइदा भएको छ । नेपाली फिल्ममा क्रेन, ट्रली, रिफ्ल्याक्टरजस्ता हेभी सामान ओसार–पसार गर्नेलाई समेत २४ घण्टाको २ हजारदेखि तीन हजार रुपैयाँसम्म मात्र दिने गरिन्छ । तर, अब यो प्रणाली लागू भएसँगै १२ घण्टामै तीन हजार पाउनेछन् भने २४ घण्टाकाम गर्नेलाई त्यसको दोब्बर अर्थात ६ हजार रुपैयाँ दिनुपर्ने छ ।

यहाँ लाइट पर्सन, क्यामेरा, स्पट सहयोगी जस्ता फिल्मका कामदारलाई दुई छाक खाना, खाजा दिएर २ हजार रुपैयाँ पाउने पर्ने पारिश्रमिक समेत निर्माता तथा निर्देशकबाट नपाइरहेको अवस्था छ । यसैबेला प्राविधिक संघले १२ घण्टे सिफ्ट लागू गरेपछि कागजीरुपमा भएपनि कामदारलाई राहत मिलेको हो ।

के भन्छन् प्राविधिक

फिल्ममै काम गर्दै आएका प्राविधिकहरुले भने १२ घण्टे सिफ्ट भन्दा पनि आफूहरुले काम गरेको पैसा समयमै दिए हुने बताउँछन् । सात वर्षदेखि नेपाली फिल्म क्षेत्रमा स्पट व्वायको काम गर्दै आएका कृष्ण खड्काले भने, ‘२४ घण्टा काम पेलिएको पैसा त दिन आनाकानी गर्छन् भने १२ घण्टेअन्तर्गत दोब्बर पारिश्रमिक पाइन्छ भन्ने कुरा मलाई पत्यार नै लागेको छैन ।’ उनले १२ घण्टे सिफ्ट प्रणाली प्राविधिकहरुका लागि राम्रो भएपनि यसका निर्माताहरु सहमत हुनुपर्ने बताए ।

त्यस्तै, अर्का प्राविधिक मञ्जिल धमलाले भने, ‘निर्माताहरु हिरो र हिरोइनका लागि लाखौँ रुपैयाँ खर्च गर्न तयार हुन्छन् । तर, हामी प्राविधिकलाई ढाँड सर्किने गरी काम गरेको पारिश्रमिक फिल्म रिलिज भइसक्दा पनि दिँदैनन् । यस्तो बेला प्राविधिक संघले १२ घण्टे सिफ्ट प्रणाली लागू गरेको छ । यो भनेको निर्मातालाई ऋण बोकाउने काम मात्र हो ।’

उनले तीन वटा फिल्ममा काम गरेको करिब ७० हजार अझै लिनु बाँकी रहेको बताउँदै भने, ‘अहिले ती निर्माताले फोनसमेत उठाउन छाडे । अब त्यही निर्माताले फिल्म बनाउँदा १२ घण्टे सिफ्ट भएपनि केही हुन्न ।’

यस विषयमा नेपाल चलचित्र निर्माता संघले सबै निर्माता तथा निर्देशकहरुको जिम्मा लिन नसक्ने बताएको छ । ‘कुन निर्माताले कुन प्राविधिकलाई पैसा दिएको छैन भन्ने संघमा उजुरी दिएपछि मात्र थाहा हुन्छ’ निर्माता संघका एक पदाधिकारीले भने, ‘तर, बाहिर बाहिर पैसा पाइनँ भनेर हिड्नेहरुको हामी जिम्मा लिन सक्दैनौँ ।’

तर, निर्माता संघकै बरिष्ठ उपाध्यक्ष उदय सुब्बाले प्राविधिकहरुको १२ घण्टे सिफ्ट प्रणाली सकरात्मक भएको बताएका छन् । उनले प्राविधिक संघले लागू गरेको प्रणालीमा आफ्नो आपत्ति नरहेको पनि बताएका छन् । सिफ्ट प्रणाली लागूसँगै प्राविधिकले अहिले पाएँदै आएको भन्दा दोब्बर पारिश्रमिक पाउने स्थिति आएको उनको भनाइ छ ।

प्राविधिकले कति पाउँछन् ?

लाइट, क्यामेरा, स्पटलगायतका प्राविधिकले हाल मासिक ५०-६० हजार पाउँदै आएका छन् । यो दुई दशकयतादेखिको रेट हो । त्यसभित्र दुई छाक मासु भातसहित खाजा र पटकपटक चिया रहेको छ ।

तर, नयाँ प्रणालीअनुसार अब प्राविधिकले महिना दिन काम गर्दा १ लाखदेखि एक लाख २० हजार रुपैयाँसम्म पाउनेछन् । यो तलब नेपालका मजदुर कर्मचारीको सबैभन्दा महँगो पारिश्रमिक हुनेछ । तर, कलाकारको दाँजोमा हेर्ने हो भने त्यो रकम मेकअप खर्च मात्र हो ।

नेपाली फिल्मका काम गर्ने हिरो र हिरोइनलाई ड्रेसलगायतका छुट्टै मेकअपका लागि २ लाख रुपैयाँ छुट्याइएको हुन्छ । तर, मजदूरलाई दिइएको त्यही रकम केही निर्माताहरुले धेरै भएको भन्दै आलोचना गरेका छन् । उनीहरुको गुनासो छ कि, ‘जसरी पनि घाटा निर्मातालाई नै छ ।’

प्रतिक्रिया दिनुहोस्