Logo
Logo

किसानका पीडा : सस्तोमा धान बेच्छन्, महँगोमा किन्छन् चामल



धनगढी । असोज ३१ गतेदेखि तीन दिनसम्म परेको बेमौसमी झरीले किसान निकै मारमा परेका छन् । उनीहरुले न त धानको मूल्य नै पाएका छन, न चामल किन्न अवस्थामै छन् ।

किसानहरु पीडा सुनाउँदै भन्छन्– ‘यो वर्ष त धानको मूल्य नै पाएनौँ, घुइँयाको भाउमा दिनुप¥यो र चामल सुनको मूल्यमा किन्नुपरिरेहको छ । अब त हामी अन्नदाता किसान नै भोकभोकै मर्ने अवस्थाका पुगिसकेका छौं । हामी पनि अन्नको खोजिमा छौँ ।’

त्यस्तै, प्रतिक्विन्टल २ हजार ५० रुपैयाँका दरले ४ क्विन्टल धान बिक्री गरेकी धनगढी ६ मटयारीकी बिपना बोहरा चामल किन्ने तयारीमा छन् । असोज ३१ गतेदेखि तीन दिनसम्म निरन्तर परेको बेमौसमी वर्षाका कारण एक बिघाको धानखेतमै सखाप भएपछि बाँकी रहेको धान उनले बेचेकी हुन् ।

‘धानखेतमै भिज्यो, बचाउन सकिएन, जसोत्यसो बचाएको धान पनि बिग्रिएला भन्ने डर भइसक्यो, दाना काला भएका छन् । धान ओसाएको छ, यो पनि बिग्रियो भने घरमा भोकमरी सिर्जना हुन्छ, त्यसैले अहिले सस्तोमै भएपनि बेच्न आएकी छु’ बीपनाले भनिन्, ‘प्रतिक्विन्टल दुई हजारका दरले ४ क्विन्टल बेचेकी छु, अब घरमा खानको लागि चामल किन्नुपर्ने हो ।’

सरकारले यसपटक मोटो धानको न्यूनतम मूल्य २ हजार ७ सय ३५ रुपैयाँ र मध्यम धानको मूल्य प्रतिक्विन्टल २ हजार ८ सय ८५ रुपैयाँ तोकेको छ ।

‘वर्षाका कारण आधा खेतको धान खेर गयो, धान बेचेरै वर्ष भरीको खर्च चलाउने गरेको थिएँ, धान बेच्न खोजेको सरकारले मूल्यमात्रै तोकेको छ किन्न सुरु गरेको छैन । व्यापारीले मूल्य दिँदैनन’ धनगढी सन्तोषी टोलका सिताराम चौधरीले भने, ‘वर्षाले क्षति गरेपनि बचेको धान बचेर घर खर्च चलाउन प्रतिक्विन्टल ६ सय ८५ रुपैयाँ घाटा खाँदै ८ क्विन्टल धान बेचेँ, छोराछोरीलाई तिहारका लागि लुगा कपडा र तिहार खर्च कटाएर केही समय घर खर्च चल्छ ।’

सरकारले मूल्य तोकेपनि किन्न ढिलाई गर्दा वर्षेनी आफूहरू मारमा पर्ने गरेको किसानहरूको दुखेसो छ ।

‘सरकारले मूल्य त तोक्छ । तर, हामीले सरकारी मूल्यमा कहिले धान बेच्न पाएका छैनौँ, हामीले व्यापारीलाई सस्तोमा बेचिसकेपछि मात्र सरकारी निकायले किन्न सुरु गर्छन्, हामी त देखिनेमात्रै हौँ’, घोडाघोडी नगरपालिकाका विवेक सुनारले भने, ‘व्यापारीले हामीबाट सस्तोमा किनेर महँगोमा सरकारलाई बेच्छन्, व्यापारी र सरकारी कर्मचारीबिच मिलेमतो हुँदोरहेछ, हामी सधैँ मारमा छौँ ।’

सरकारले धान बाली भिœयाउनुअघि नै मोटो र मध्यम धानको न्यूनतम समर्थन मूल्य तोकेको थियो । मन्त्रिपरिषद् बैठकले मोटो धानको मूल्य प्रतिक्विन्टल २ हजार ७ सय ३५ र मध्यम धानको २ हजार ८ सय ८५ रुपैयाँ तोकेको छ ।

तर, कैलालीका अधिकांश किसानले सरकारले तोकेको समर्थन मूल्यभन्दा ६ सयदेखि एक हजार रुपैयाँ सस्तोमा धान बिक्री गरिरहेका छन् । मोटो धान प्रतिक्विन्टल १ हजार ८ सयदेखि २ हजार ५० सम्म बिक्री गर्नुपर्ने किसानको बाध्यता छ ।

‘गुणस्तर हेरेरमात्रै धान खरिद गरिरहेको धनगढीका गल्ला व्यापारी विष्णुराज शाहीले बताए । वर्षाले धानमा क्षति पु¥यायो, धान खेतमै भिजेर उम्रिएका छन् । तर, किसानले त्यसलाई सुकाएर बेच्न आइरहेका छन्, सबै धान खरिद गर्न सक्ने अवस्था छैन र दशैँअघि भित्र्याइएको धान राम्रो छ । तर, त्यसपछि काटेको र भित्र्याइएको धान वर्षाले बिगारेको छ । त्यसैले धान हेरेर मात्रै खरिद गरिरहेका छौँ’ उनले भने ।

धानको मूल्य नपाउँदा मारमा किसान

सरकारले तोकेको मूल्यमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले किसानको धान खरिद गर्ने गर्दछ । किसानले धान भित्र्याइसकेका छन् । गल्ला व्यापारीले पनि खरिद गर्न सुरु गरिरहेका छन् । तर, संस्थानले भने अहिलेसम्म किसानको धान खरिद गर्ने सुरसार नै गरेको छैन ।
‘हाम्रो धान समयमै सरकारले किनिदिने भए हामीलाई केही भएपनि राहत हुन्थ्यो होला, हामीले घर खर्चको आवश्यकता हुँदा धान बेचेरै खर्च चलाउँछौँ । हामीले सस्तोमा व्यापारीलाई बेचिसकेपछि मात्र सरकारले काटा लगाउने गर्छ, अनि तिनै व्यापारीले धान बचेर फाइदा लिन्छन्’ गोदावरी नगरपालिकाका तेजप्रकाश मल्लले भने, ‘हामी किसान सधैँ सरकारी निकाबाटै ठगिने र लुटिदै आएका छौं । यो वर्ष त धानको बिउको मूल्य पनि फर्काउन सक्दैनौँ ।’

केन्द्रीय कार्यालयबाट अहिलेसम्म धान खरिदका लागि कुनै परिपत्र नआएका कारण धान खरिद सुरु नभएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड धनगढीका प्रमुख एन्जिला बस्नेतले बताइन् । उनले भनिन्, ‘अहिलेसम्म खरिदका लागि परिपत्र आएको छैन, हामीलाई केन्द्रीय कार्यालयले नै धान खरिदको लक्ष्य र बजेट विनियोजन गर्छ । हामी तयारी अवस्थामा छौँ । परिपत्र आउनेवित्तिकै किसानको धान हामी खरिद गर्न सुरु गर्छौँ ।’

प्रतिक्रिया दिनुहोस्