१७ जना जुवाडेले प्रहरी हिरासतमै भाइटीका लगाउने « Drishti News – Nepalese News Portal
Logo

१७ जना जुवाडेले प्रहरी हिरासतमै भाइटीका लगाउने


दृष्टि संवाददाता


लमजुङ । दिपावलीको अवसरमा जुवा खेलिरहेको अवस्थामा नगदसहित १७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बेँसीसहर नगरपालिका–३ बसौलागाउँमा आज कौडा खेल्दै गरेको अवस्थामा रु एक लाख ५६ हजार ५४० सहित १७ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक जगदीश रेग्मीले बताए ।

उनका अनुसार प्रहरी नायब उपरीक्षक कृष्णबहादुर कार्कीको कमाण्डमा खटिएको टोलीले जुवाडेलाई कुखुराको फार्मबाट पक्राउ गरेको हो । त्यस्तै कौडाका १६ वटा गोटीसमेत बरामद गरेको प्रहरीले जानकारी दिएको छ ।

उनीहरुविरुद्ध मुलुकी अपराध संहिता जुवाअन्तर्गत मुद्दा चलाइने तयारी भए पनि हालसम्म मुद्दा भने दर्ता भइनसकेको र अनुसन्धानकै क्रममा रहेको उनको भनाइ छ ।

उनका अनुसार उनीहरुलाई केही दिन प्रहरी हिरासतमै राखेर अनुसन्धान गर्ने र भाइटीकासमेत प्रहरी चौकीमै लगाउने भएका छन् । पक्राउ परेका उनीहरुको नाम भने प्रहरीले गोप्य राखेको छ ।

प्रतिक्रिया दिनुहोस्