Logo
Logo

प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन सांसद संग्रौलाको माग


0
Shares

काठमाडौं । श्रम संस्कृति पार्टीकी सांसद अम्बिकादेवी संग्रौलाले प्रधानमन्त्री बालेन शाहको जेठ १७ गतेको अभिव्यक्तिलाई लिएर सदनको ध्यानाकर्षण गराएकी छन् । प्रतिनिधि सभाको बुधवार बसेको बैठकमा उनले प्रधानमन्त्रीको भनाइलाई ‘राष्ट्रघाती’ संज्ञा दिँदै सो अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गरेकी हुन् ।

बुधवारको बैठकमा बोल्दै सांसद संग्रौलाले प्रधानमन्त्रीले गत जेठ १७ गते संसदको रोस्टमबाट नेपालले पनि भारतको सीमा मिचेको छ भनि दिनुभएको अभिव्यक्ति आपत्तिजनक रहेको जिकिर गरिन् । उनले प्रधानमन्त्रीको उक्त भनाइ राष्ट्रिय हितविपरीत रहेको दाबी गर्दै लामो समयदेखि सदनमा यस विषयमा प्रश्न उठाउँदै आएको बताइन ।

सांसद संग्रौलाले भनिन्, ‘हाम्रो देशले भारतको सीमा मिचेको भनी प्रधानमन्त्रीज्यूले दिनुभएको अभिव्यक्ति राष्ट्रघाती छ । यस्तो अभिव्यक्तिलाई यस सम्मानित सदनको रेकर्डबाट हटाउन हामीले पटक–पटक माग गर्दै आएका छौँ, तर अहिलेसम्म हाम्रो मागको सुनुवाइ भएको छैन ।’

उनले सरकारले यो विषयमा अझै पनि जवाफ नदिएको भन्दै असन्तुष्टि व्यक्त गरिन् । आफ्नो मागको सम्बोधन कहिलेसम्म हुन्छ भन्दै उनले सरकारसँग प्रश्नसमेत गरिन् । यसअघि पनि विभिन्न दलहरूले प्रधानमन्त्रीको उक्त अभिव्यक्तिलाई लिएर संसद्मा विरोध जनाउँदै आएका थिए । सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउँदै सांसद संग्रौलाले यस विषयलाई सरकारले बेवास्ता गर्न नहुने बताइन् ।

प्रतिक्रिया दिनुहोस्