काठमाडौं । मोरङ क्षेत्र नम्बर ६ मा भइरहेको नेपाली कांग्रेसको अधिवेशनस्थलमा बुधबार दुई पक्षबिच झडप हुँदा तीन जना घाइते भएका छन् ।

कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत ६ नम्बर क्षेत्रको सुन्दरहरैँचा नगरपालिका–४ स्थित सिक्देल बन्धु समन्वय प्रतिष्ठानमा मनोनयन दर्ताका क्रममा विवाद भएपछि झडप भएको हो ।
दुई पक्ष झडप हुँदा तीन जना घाइते भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए। उनका अनुसार मनोनयन दर्ताका क्रममा विवाद भएपछि झडप भएको हो ।
झडपमा परी घाइते भएका तीन जनाको विराटनगरस्थित नोबेल अस्पताल उपचार भइरहेको र अवस्था सामान्य रहेको डिएसपी मिश्रले बताए ।
डिएसपी मिश्रले भने, ‘झडपमा संलग्नहरूको खोजी भइरहेको छ। झडपका विषयमा अनुसन्धान भइरहेको छ । मोरङको अन्यत्र भइरहेको अधिवेशन शान्तिपूर्ण रहेको छ। थप झडप हुन नदिन र स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मी परिचालन गरिएको छ।
एक क्षेत्रीय प्रतिनिधिका अनुसार प्रतिनिधिको नामावलीमा एक महिलाको नाम समावेश नभएको विषयमा विवाद सुरु भएको थियो। माइन्यूट लेख्ने क्रममा ती महिलाले आफ्नो नाम नपरेको विषयमा कुरा राखेपछि थप केही व्यक्तिहरू आएर तोडफोड गरेको उनले बताए।
घटनामा क्षेत्रीय सभापतिका उम्मेदवार चुमनारायण तबदार, चेतराज रेग्मी र समुन्द्र पोखरेलमाथि कुटपिट हुँदा घाइते भएको हुन् । झडपका क्रममा कुर्सी तोडफोड भएको छ। झडपपछि अधिवेशनको निर्धारित मनोनयन दर्ता प्रक्रिया प्रभावित भएको छ।
निर्वाचन प्रक्रिया नै रोकिएपछि अब मनोनयन दर्ता कहिले र कसरी अघि बढाउने भन्ने विषयमा अन्योल देखिएको छ ।














