
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अरु पार्टी जस्तो मान्छे अल्मल्याएर दुनो सोझ्याउने पार्टी एमाले नभएको बताएका छन् ।
एमाले कर्णाली–काठमाडौं सम्पर्क समितिले आइतबार तिहारको अवसरमा काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । एमाले देशका लागि बनेको पार्टी रहेको उनको भनाइ रहेको छ ।
‘एमाले देशका लागि बनेको पार्टी हो । यो पार्टी मान्छे अल्मल्याएर दुनो सोझ्याउने पार्टी होइन । जनताका लागि जाग्ने पार्टी हो’ ओलीले भने ।
ओलीले अरुको हितका निम्ति काम गर्नेलाई परास्त गर्नुपर्ने बताउँदै भने, ‘कर्णालीमा जनताले जित्नुपर्छ, भ्रमले जित्ने होइन । अरुका दलाल र ठगहरुले होइन । कर्णालीमा कर्णालीले जित्नुपर्छ ।’
असार २८ का जस्ता प्रतिगामी परमादेशहरू अरु पनि आउन सक्ने भन्दै उनले सचेत रहन कार्यकर्ता पंक्तिलाई आह्वानसमेत गरेका छन् । एमाले नहुने हो भने २०१७ सालको जस्ता घटना केही परमादेशकै क्रममा हुन सक्ने उनले बताए ।
एमालेले देशलाई तलमाथि हुन र संविधान तथा लोकतन्त्र कमजोर हुन नदिने जिकिर उनले गरेका छन् । उनले एमालेविरुद्ध अन्तराष्ट्रिय शक्तिसमेत लागेको भन्दै एमाले विरुद्धका भ्रम तोड्न कार्यकर्ताहरूलाई निर्देशनसमेत दिए । अध्यक्ष ओलीले सत्तारुढ ५ दलीय गठबन्धन लोकतन्त्रको नास गर्ने भक्षकहरुको समूह रहेको समेत टिप्पणी गरेका छन् ।
५ दलीय सत्तारुढ गठबन्धन लोकतन्त्रको रक्षक नभई भक्षक भएको टिप्पणी गर्दै उनले भने– ‘अहिले यो ५ दलीय गठबन्धन छ नि ! बर्का राधे राधे लगाएका हुन् कि ? राम राम लगाका हुन कि कृष्ण कृष्ण । यी सबै लोकतन्त्रका भक्षकहरु हुन्, भक्षीहरु हुन् । यिनीहरुलाई लोकतन्त्रका मूल्य मान्यता होइन, सत्ता चाहिएको छ, स्वार्थ पुरा गर्नुछ ।’











