काठमाडौं । न्यायपालिका प्रमुखको राजीनामा माग गर्दै आन्दोलनरत नेपाल बार एसोसिएसनले प्रधानमन्त्री तथा राजनीतिक दलहरूलाई उपयुक्त कदम चाल्न आग्रह गर्ने भएको छ ।
बारको सोमबार बसेको बैठकले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध कदम चाल्न दलहरूलाई आग्रह गर्ने निर्णय गरेको हो। बैठकले आन्दोलनका थप कार्यक्रमसमेत घोषणा गरेको बारका सचिव लीलामणि पौडेलले जानकारी दिए ।
बारले न्यायपालिकामा विकृति, विसंगति, बिचौलिया, भ्रष्टाचार र राजनीतिक हस्तक्षेप रोक्नेगरी आन्दोलन गर्न लागेको सचिव पौडेलले बताए। बार बैठकले न्यायपालिकाको समग्र सुधारका लागि न्यायाधीश हरिकृष्ण कार्की संयोजकत्वको समितिले बुझाएको प्रतिवेदन अक्षरश कार्यान्वयन गर्न पहल गर्ने निर्णय गरेको छ ।
बैठकले प्रधानन्यायाधीशको राजीनामा नआउन्जेल आन्दोलनलाई निरन्तरता दिँदै कात्तिक २३ देखि ३० सम्म कालो पट्टी बाँधेर धर्ना बस्ने निर्णय गरेको छ । प्रधानन्यायाधीश सम्मिलित इजलासमा नबस्न अन्य न्यायाधीशहरूलाई अनुरोध गर्ने सचिव पौडेलले बताए ।, यो समाचार नागरिक दैनिकबाट साभार गरिएको हो ।











