Logo
Logo

कानून व्यवसायीले नै झुक्याएर जग्गा आफ्नो नाममा लिएपछि…


काशीराम शर्मा


  • काशीराम शर्मा

बाँके, २६ वैशाख । पछिल्लो समय भूमाफिया निकै सक्रिय भएका छन् । कानूनीराजको नै उपहास हुने गरी भूमाफिया सक्रिय भइरहँदा बाँके पनि अछुतो रहन सकेन । भूमाफिया र मालपोत कर्मचारीको मिलेमतोमा सरकारी जग्गा व्यक्तिका नाममा नामसारीका खबर सार्वजनिक भइरहेका बेला बाँकेमा एक कानून व्यवसायीले झुक्याएर एक महिलाको जग्गा आफ्नो नाममा दर्ता गराएको तथ्य खुलेको छ ।
डुडुवा गाउँपालिका–२ बेतहनीकी उषा कुर्मीको एक बिघा १५ कठ्ठा चार धुर जग्गा उच्च अदालत बार एशोसिएसन बाँकेका अध्यक्षसमेत रहेका कानून व्यवसायी विकास आचार्यले आफ्नो नाममा गराएको पीडितले बताएका छन् । बेतहनीकै नान भन्ने दुर्गाप्रसाद बर्मा, रामबहादुर बर्मा र आशाराम बर्माको मिलेमतोमा कानून व्यवसायी आचार्यले उषाको करोडौँ मूल्यको जग्गा आफ्नो नाममा गराएको पीडित कुर्मीको भनाइ छ ।
उषाकी आमा लामो समयदेखि पायल्सको बिरामी हुनुहुन्छ । छिमेकी दुर्गा, राम र आशारामले जग्गा बिक्री गरेर उपचार गराइदिने बताएपछि उषाले उनीहरुकै पहलमा आचार्यलाई दुई कठ्ठा साढे चार धुर जग्गा रु दुई लाख ५० हजारमा बिक्री गरेकी थिइन् । उषा लेखपढ गर्न नजान्ने भएपछि जग्गा पास गर्ने क्रममा रु २५ लाखमा एक बिघा १५ कठ्ठा चार धुर जग्गा बिक्री गरेको सहीछाप गराएर करोडौँ मूल्यको जग्गा झ्वाम पारिएको हो ।
सो जग्गा उषाका बुवा जगदीशले यसअघि नै छोरीको नाममा नामसारी गरिदिएको बताए । उषाको नाममा रहेको कित्ता नं १८, २४, २०, ३१, ३२, ९८, १०८, १३२, १४४, १४९ र ५०८ गत २०७४ मङ्सिर १८ गते विकास आचार्यको नाममा पास भएको छ । दुर्गा, राम र आशारामले जग्गा बिक्री गराइदिएपछि उषाकी आमालाई उपचार गराइदिन्छौँ भन्दै उषा र उनका बुबालाई भारतमा लगेर करीब छ महीना उनीहरुले बन्धक बनाएको पीडितले बताए ।
‘चिकित्सक आउँछ भन्दै हामीलाई एउटा घरमा बन्धक बनाइयो, तर चिकित्सक पनि आएनन् । म माथि दुर्गा र रामले पटक–पटक बलात्कारसमेत गरे’, जसोतसो त्यहाँबाट भागेर वैशाख १० गते बेतहनी आएकी उषाले भनिन्, ‘भागेर ज्यान जोगायौँ । घर आउँदा आफ्नो घरजग्गाको आम्दानी सोधखोज गर्दा, यो जग्गा तिम्रो होइन, बिक्री भइसक्यो भनेर छिमेकीले भनेपछि आफू छाँगाबाट खसेजस्तै भएँ ।’ अहिले उषा आफ्ना वृद्ध बुबाआमासँगै न्याय खोज्दै अड्डाअदालत र प्रहरी प्रशासन धाइरहेकी छन् ।
तर, कानून व्यवसायी आचार्यले प्रक्रिया पु¥याएर आफूले खरीद गरेको बताउनुभएको छ । सो जग्गा पहिले पनि अदालतमा रोक्का भएको र पछि आफूले पैसा बुझाएर फुकुवा गरी खरीद गरेको उनले बताए । ‘पीडितलाई पीरमर्का परेको भए, बसेर मिलाउन सकिन्थ्यो’, उनले भने, ‘तर अहिलेसम्म पीडित मसँग आउनुभएको छैन । यो मेरो पेशागत व्यवसायलाई धमिल्याउने खेल भएको छ ।’ केही दिनअघि आचार्यकै ल फर्मबाट अख्तियारले रु तीन लाख घुससहित उच्च अदालत नेपालगञ्जका टाइपिष्ट नायबसुब्बा कृष्णकुमार पाठकलाई पक्राउ गरेको थियो । रासस

प्रतिक्रिया दिनुहोस्