Logo

अनुसन्धानलाई असर पुग्ने गरेर मिडियाले समाचार सम्प्रेषण गर्नेु हुँदैन : खरेल


- दृष्टि न्युज/संवाददाता


काठमाडौँ । महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले मिडिया जघन्य अपराधसम्बन्धी समाचार सम्प्रेषण गर्दा संवेदनशील बन्नुपर्ने बताएका छन् । नेपाल पत्रकार महासङ्घ, ललितपुर शाखाले आज आयोजना गरेको ‘पत्रकार आचारसंहिता तथा भाषा प्रशिक्षण कार्यक्रम’ को उद्घाटन गर्दै खरेले अनुसन्धानलाई असर पुग्ने गरेर मिडियाले समाचार सम्प्रेषण गर्न नहुने बताए । सरकारी वकिल, नेपाल प्रहरी र पत्रकारबीचमा सुमधुर सम्बन्ध आवश्यक रहेको उनले बताएका छन् । उनले भने, “कुनै पनि घटनामा मिडियाले के भएको हो भनेर घटना जस्ताको तस्तै प्रस्तुत गर्नुपर्छ, गलत सूचना दिनुहुँदैन ।”

प्रेस काउन्सिल नेपालका अध्यक्ष किशोर श्रेष्ठले नेपाली मिडियाले धेरै सकारात्मक काम गरेको उल्लेख गर्दै देशको सामाजिक र राजनीतिक परिवर्तनमा मिडियाले उल्लेखीय भूमिका निभाए पनि मिडिया आफैँ सच्चिनुपर्ने ठाउँ धेरै भएको उनको भनाइ छ । उनले भने, “हामी आफैँ सच्चिन नलाग्ने हो भने सरकारले जरिवानासहितको कानून बनाउन लागेको छ ।”

गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले नगरपालिकाले महासङ्घलाई छुट्टै भवन निर्माणका लागि जग्गा उपलब्ध गराउने बताए । मिडियाले सत्यतथ्य बुझेर मात्रै लेख्नुपर्नेमा उनको जोड छ । कोञ्जेसोम गाउँपालिकाका अध्यक्ष गोपीलाल सिङ्तानले गाउँपालिका शहरी क्षेत्रबाट नजिकै भएर पनि आर्थिक, सामाजिक रुपमा पछाडि परिरहेको बताए । नेपाल पत्रकार महासङ्घ ललितपुर शाखाका अध्यक्ष ज्ञानप्रसाद पौडेलले महासङ्घले यहाँका स्थानीय तहसँगको सहकार्य र समन्वयलाई प्राथमिकता दिइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्