Logo
Logo

चुनावसम्मै गठबन्धनबीच सहकार्य रहन्छ : गृहमन्त्री



रुपन्देही । गृहमन्त्री बालकृष्ण खाँणले अहिलेको पाँच दलीय गठबन्धनको सहकार्य कम्तीमा आगामी चुनावसम्म जारी रहने बताएका छन् । उनले गठबन्धन लामो समय जान पनि सक्ने, नभए पनि कम्तीमा चुनावसम्म सहकार्य गरेरै आगाडि जाने प्रस्ट पारे ।

बुधबार भैरहवा नेपाल महिला संघ रुपन्देहीले आयोजना गरेको कार्यक्रममा गृहमन्त्री खाँणले नेपाली काँग्रेस पनि गुमेको साख फिर्ता लिन गठबन्धनबीचको सहकार्यलाई जारी राख्नुपर्ने पक्षमा रहेको बताए । उनले गठबन्धनबिना काँग्रेस पनि सुरक्षित हुन नसक्ने भन्दै गठबन्धन कायम राखेरै चुनावमा जानुपर्ने प्रस्ट पारे ।

‘कांग्रेस एक्लैले एमालेलाई हराउन सजिलो छैन । पार्टीको भविष्य सुरक्षित गर्न गठबन्धनलाई निर्वाचनसम्म लानुपर्छ’, प्रधानमन्त्री शेरबहादुर देउवा निकट उनले भने । आफ्नै पार्टीका केही युवा नेताले कांग्रेस एक्लै निर्वाचनमा जानुपर्ने बोलिरहेका बेला गृहमन्त्री खाणले यस्तो बताएका हुन् ।

उनले पार्टी सभापति र प्रधानमन्त्री एउटै व्यक्ति हुनुपर्ने पनि बताए । उनले नेपाली काँग्रेसको स्थायित्व, सवलीकरण र आउँदो स्थानीय निर्वाचन र आमनिर्वाचन सफल बनाउनका लागि नेपाली काँग्रेसको सभापति र प्रधानमन्त्री एउटै हुनुपर्ने तर्क अगाडि सारे ।

वडा तह हुँदै केन्द्रीय निर्वाचन गर्ने पार्टी नेपाली काँग्रेस मात्रै रहेको बताउँदै खाणले नेपाली काँग्रेसलाई सवल, सक्षम र जिम्मेवार पार्टीको रुपमा अगाडि बढाएर पहिलो पार्टी बनाइने दाबी गरे । अहिलेसम्म नेपालमा स्थानीय तहदेखि केन्द्रीय निर्वाचन कांग्रेसले मात्रै गरेको बताए । खाँणले पाँच दलीय गठबन्धन बचाउँदै चुनावसम्म लगेर कांग्रेसलाई बलियो पार्टीका रूपमा स्थापित गर्नुपर्ने पनि जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस्