Logo
Logo

भुस पोल्ने पर्वमा सार्वजनिक बिदा



बागलुङ । ऐतिहासिक भुस पोल्ने पर्वका अवसरमा शुक्रबार ताराखोला गाउँपालिकाले सार्वजनिक बिदा दिएको छ ।

गत १२ गते बसेको गाउँ कार्यपालिकाको बैठकले बिदाको निर्णय गरेको हो । वडा नंं २ अर्गलमा प्रचलित सो पर्व वर्षेनी कात्तिक २४ देखि २६ गतेसम्म मनाइन्छ ।

पर्वको मुख्य दिन शुक्रबार गाउँ कार्यपालिका, वडा कार्यालय, विद्यालयलगायत सार्वजनिक सङ्घसंस्थामा बिदा दिने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले जानकारी दिए । गाउँपालिकाले विसं २०७६ देखि भुस पोल्ने पर्वमा बिदा दिन थालेको उनको भनाइ छ ।

ताराखोलाको रुैथाने मगर समुदायले उक्त पर्वलाई उल्लासका साथ मनाउने गर्छ । सदियौँअघि पाल्पाको अर्गलीबाट बसाइँसराइ गरी आएका मगरका पूर्वजले पर्वको चलन बसालेका हुन् । अर्गलमा खोरिया खनी थातथलो बसाएको र खेती सुरु गरेको दिनको सम्झनामा भुस पोल्ने पर्व मनाउने गरिन्छ ।

पर्वका अवसरमा प्रकृति पूजाका साथै भुस पोल्ने, छापे खन्ने, मृत्यु संस्कारलगायत सांस्कृतिक गतिविधि हुन्छन् । ताराखोला क्षेत्रमा त्योसँगै परम्परागत सिस्नो खोस्ने, असारे, भदोरै जस्ता मेला, पर्व प्रचलित छन् । त्यहाँको मगर समुदायले सयौँ वर्ष पुरानो सांस्कृतिक परम्परालाई धान्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्