Logo
Logo

प्रधानमन्त्री बालेन र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबिच भेटवार्ता


378
Shares

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)सँग नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डिनले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शिष्टाचार भेटवार्ता गरेकी छिन्। भेटका क्रममा प्रधानमन्त्री शाहले विपतको कठिन परिस्थितिमा नेपालप्रति अमेरिकी सरकारबाट व्यक्त ऐक्यबद्धता तथा सहयोगप्रति आभार व्यक्त गरे।

प्रधानमन्त्री शाहले विपतका कारण नेपाली नागरिकसँगै विदेशी नागरिकसमेत प्रभावित भएको बताउँदै जलवायु परिवर्तनको असरका कारण नेपालले यस्ता विपतको सामना गर्नुपरेको उल्लेख गरे। उनले जलवायुजन्य विपतको जोखिम न्यूनीकरण तथा त्यसबाट हुने प्रभाव सम्बोधन गर्न विश्वव्यापी सहकार्य र सामूहिक प्रयासलाई थप सुदृढ गर्नुपर्नेमा जोड दिए।

यस्तै, प्रधानमन्त्री शाहले नेपालको विशिष्ट पर्यटन सम्भावनाबारे चर्चा गर्दै पर्यटन क्षेत्रको विकासमार्फत नेपाल र अमेरिकाबिच पारस्परिक लाभ हासिल गर्न सकिने बताए। उनले नेपालमा अमेरिकी लगानीलाई सधैँ स्वागत गरिने पनि उल्लेख गरे।

भेटका क्रममा कार्यवाहक राजदूत बोल्डिनले रसुवामा आएको बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवार तथा प्रभावित समुदायप्रति समवेदना प्रकट गरिन्।

बोल्डिनले विपतको यस कठिन घडीमा नेपाल सरकार र नेपाली जनताप्रति अमेरिकी सरकारको ऐक्यबद्धता रहेको बताइन्। उनले राहत, पुनर्स्थापना तथा पुनर्निर्माणका प्रयासमा आवश्यक सहयोग र सहकार्य गर्न अमेरिकी सरकार तत्पर रहेको जानकारी गराइन्।

प्रतिक्रिया दिनुहोस्