
हेडलाइन्स्
१. अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी छठ पर्व मनाइयो, राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा कमलपोखरीमा सूर्यलाई अर्घ्य दिई पूजाअर्चना, प्रधानमन्त्री शेरबहादुर देउवाले कुपण्डोलस्थित बागमती किनारमा पुगेर छठी माइको दर्शन गरे, काठमाडौंको गुह्येश्वरी गौरीघाट क्षेत्र, गहनापोखरी, नागरपोखरी, कमलपोखरी, बागमती, नख्खु र विष्णुमतीलगायत नदी किनारमा भक्तजनको भीड ।

२. पाँच दलीय गठबन्धन चुनावसम्मै लैजाने पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालको भनाइ, अहिले बनेको गठबन्धन स्थानीय तह, प्रदेश, सङ्घ र राष्ट्रियसभा निर्वाचनमा यथावत रहने, केपी ओलीको पार्टीको भविष्य पाँच दलीय गठबन्धमार्फत समाप्त पारिदिने चेतावनी, ओलीको कब्जामा रहेको पार्टीको भविष्य नभएको जिकिर, सबै स्थानीय तह र वडा तहसम्म कमिटी गठन गर्दै चुनावको तयारीमा जुट्न आग्रह ।

३. अमेरिकी मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) परियोजना फिर्ता गर्न नेपाल सरकार र अमेरिकासँग वामदेव गौतमको आग्रह, एमसीसी परियोजनाले नेपालको हीत भन्दा पनि जनमत विभाजनका कारण अहित हुने अवस्था सिर्जना हुने ठहर, नेपालमा अहिलेको जटिल अवस्थामा बनेको सरकार र बहाल रहेको संसदले एमसीसी अनुमोदन गर्न सक्ने अवस्था नरहेको भनाइ ।

४. हरेक १० वर्षमा सञ्चालन गरिने राष्ट्रिय जनगणनाको १२औँ शृङ्खलाको मुख्य गणनाको सम्पूर्ण तयारी पूरा, सबै परिवारमा गणक पुगी १५ दिनभित्र सबै व्यक्तिको विस्तृत विवरण सङ्कलन गर्न करिब ४० हजार गणक र आठ हजार ५०० सुपरीवेक्षक परिचालन गरिने, भारत सरकारले अनुमति नदिएपनि दार्चुला जिल्लाको कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा जनगणना अनुमानका आधारमा गरिने, जनगणना सफल बनाउन केन्द्रदेखि वडा तहसम्म विभिन्न जनगणना समन्वय तथा सहजीकरण समिति गठन गरिएको विभागका महानिर्देशक नेबिनलाल श्रेष्ठको भनाइ ।

५. फेरि बढ्यो पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य, निगमले मूल्य बढाएपछि पेट्रोल प्रतिलिटरको मूल्य १३६, डिजेल तथा मट्टितेलको मूल्य ११९ रुपैयाँ प्रतिलिटर पुग्यो, त्यस्तै खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर ७५ रुपैयाँले बढेर प्रतिसिलिण्डर १ हजार ५७५ रुपैयाँ पुग्यो ।

६.कोरोना भाइरस विरुद्धको खोप ‘फाइजर’ यही कात्तिक २८ देखि मङ्सिर ४ गतेसम्म लगाइने, दीर्घरोगीलाई लक्षित गरी खोप अभियान सञ्चालन गर्ने तयारी गरेको मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीको भनाइ, खोप लगाउन जाँदा दीर्घरोगीले अस्पताल वा चिकित्सकले जारी गरेको दीर्घ रोगको उपचारसम्बन्धी पूर्जा लिएर जानुपर्ने, खोप देशभरिका विभिन्न २४ वटा अस्पतालबाट लगाइने ।

७. कात्तिक ३० गते विश्वासको मत लिने प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईको तयारी, विश्वासको मत लिएलगत्तै प्रदेशको नामाकरण गरिने राईको भनाइ, प्रदेशको नामाकरण आफ्नै कार्यकालमा पूरा हुने दावी, नामाकरण पहिचानको आधारमा राखिने ।

८. शासन गर्ने भए चुनाव लडेर आउन पूर्वराजा ज्ञानेन्द्र शाहलाई प्रधानमन्त्री शेरबहादुर देउवाको चुनौति, वर्तमान शासन व्यवस्थाविरुद्ध नलाग्न आग्रह, प्रजातान्त्रिक मुलुकमा चुनाव जितेर नेतृत्वमा आउन सकिने सुविधा रहेको समेत देउवाको भनाइ, संविधानमा केही त्रुटिहरु भए बरु आगामी दिनमा सच्याउँदै जान सकिने देउवाको धारणा ।

९.यस पटकको सहिद स्मारक ‘ए’ डिभिजन लिग चार मैदानमा खेलाउने अखिल नेपाल फुटबल संघ (एन्फा)को तयारी, पहिलो चरणमा त्रिपुरेश्वरस्थित दशरथ रंगशाला र एन्फा टेक्निकल सेन्टर सातदोबाटोमा हुने, अन्य चरणका खेल च्यासल मैदान र मनाङ मस्र्याङ्दी क्लबको घरेलु मैदानको रूपमा पोखरा रंगशालामा गर्ने प्रस्ताव, पोखरा रंगशालालाई प्रयोग गर्नका लागि एन्फासँग छलफल भइरहेको मनाङका अध्यक्ष विजय घलेको भनाइ ।

१०. जापानको प्रधानमन्त्रीमा लिवरल डेमोक्रेटिक पार्टी (एलडीपी)का अध्यक्ष फुमिओ किशिदा पुनः निर्वाचित, मन्त्रिपरिषद्को सदस्यमा पनि पहिलो कार्यकालका सहयात्रीहरुलाई नै निरन्तरता दिने अपेक्षा, कोरोनाभाइरसको महामारीबाट प्रभावित भएको अर्थतन्त्रलाई पुनर्जिवित गर्ने कार्यलाई उच्च प्राथमिकतामा राख्ने, अफगानिस्तानको सुरक्षामा सहयोग गर्ने इरानको प्रस्ताव, अफगानिस्तानबाट अमेरिकी र नेटो सैनिक फिर्ता भएपछि त्यहाँको सुरक्षा व्यवस्था कमजोर भएको भनाइ ।












