Logo
Logo

न्युजिल्यान्ड पहिलोपल्ट ट्वान्टी-२० विश्वकपको फाइनलमा प्रवेश



काठमाडौं । न्युजिल्यान्ड पहिलोपल्ट ट्वान्टी – २० विश्वकपको फाइनलमा प्रवेश गरेको छ । बुधबार सेमिफाइनलमा इंग्ल्यान्डलाई पाँच विकेटले हराउँदै न्युजिल्यान्ड फाइनल प्रवेश गरेको हो ।

खेलको प्रारम्भिक ब्याट्सम्यान मिचेलले ४८ बलमा नटआउट रहेर ७२ रन बनाएपछि न्युजिल्यान्डले १९ ओभरभित्र पाँच विकेट गुमाएर १ सय ६७ रन बनाएको थियो ।

यससँगै सन २०१० को वान डे विश्वकपमा इंग्ल्यान्डको हातबाट पराजित न्युजिल्यान्डले त्यसको बदला पनि लिएको छ । न्युजिल्यान्ड विश्व टेस्ट च्याम्पियनसपको विजेता पनि हो । न्युजिल्यान्डले १३ रन बनाउँदासम्म दुई विकेट गुमाएको थियो र यससँगै दबाबमा आएको थियो । तर खेलको अन्त्यतिर म्यान अफ द म्याच मिचेल आक्रामक ढंगले प्रस्तुत गरे ।

मिचेलले चार चौका र चार छक्का प्रहार गरे । न्युजिल्यान्डका लागि डेभन कनवेले पनि ४६ रनको योगदान दिए । मिचेल र कनवेले ८२ रनको साझेदारी गरे । इंग्लिस बलरमध्ये क्रिस वक्स र लाम लिभिङ्सटनले दुई दुई विकेट लिए । जितको संघारमा रहेर पनि इंग्ल्यान्ड प्रतियोगिताको पहिलो सेमिफाइनलमा पराजित रहेको हो ।

मलानले ३० बलमा ४१ रन बनाए । उनको ब्याटबाट चार चौका र एक छक्का निस्केको थियो । लयमा रहेका प्रारम्भिक ब्याट्सम्यान जस बटलरले २९ रन मात्र बनाउन सके । चोटका कारण जेसन रोयको अनुपस्थितिमा बटलरले जोनी बियरस्टोसँग मिलेर इनिङ्सको सुरुआत गरे र उनहरूले पहिलो विकेटका लागि ३७ रनको साझेदारी गरे ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको इंग्ल्यान्डले चार विकेट गुमाएर १ सय ६६ रन बनाएको थियो । त्यसमा मोइन अलीले नटआउट रहेर ३७ बलमा ५१ रन बनाए । उनले तीन चौका र दुई छक्का प्रहार गरे । अलीले डाविड मलानसँग मिलेर तेस्रो विकेटका लागि ६३ रनको साझेदारी गरे ।

प्रतिक्रिया दिनुहोस्