काठमाडौं । मोरङ जिल्ला कारागारमा भएका एक कैदीको संकास्पद मृत्यु भएको छ । कात्तिक १६ मा गुन्डानाइके अभिषेक गिरीलाई काठमाडौंबाट मोरङ ल्याउँदा विरोधमा उत्रिएका ४३ वर्षीय नारायण थापाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
।
जिल्ला कारागारका निमित्त जेलर रामप्रसाद पोखरेलका अनुसार जबर्जस्तीकरणी मुद्दामा छ वर्ष कैद भुक्तान गरिसकेका थापाको स्वास्थ्यमा यसअघि कुनै समस्या आएको थिएन । राति एक्कासि पेट दुख्ने र सास फेर्न गाह्रो भएको बताएपछि कोसी अस्पताल लगिएको थियो । उनलाई चिकित्सकले अस्पताल पुगेलगत्तै मृत घोषित गरेका थिए ।
मङगलबार कारागारभित्र गिरीकै योजनामा झडप भएको थियो । झडपमा छ जना घाइते भएका थिए । झडपपछि कारागार प्रशासनले गिरीको विपक्षमा रहेका चौकीदार किरण गुरुङसहित १४ कैदी–बन्दीको सरुवा गरेको थियो ।
सरुवामा घाइते छ जना पनि परेका थिए तर थापाको सरुवा भएको थिएन । चौकीदारको सरुवालगत्तै कारागार प्रशासनले गिरीका सहयोगी कार्तिक कामतलाई चौकीदारको जिम्मेवारी दिएको थियो ।कारागार प्रशासनले कामतलाई चौकीदारको जिम्मेवारी दिएको दुई दिनपछि थापाको मृत्यु भएको हो । थापाको मृत्यु शङ्कास्पद भएको कारागार स्रोत बताउँछ ।
अभिषेक गिरीको विपक्षमा रहेकाहरूलाई कार्तिकले छानी–छानी यातना दिइरहेका छन् कारागार स्रोतले बताएको छ । स्रोतका अनुसार थापालाई पनि दुई दिनदेखि यातना दिएको बताइन्छ ।











