Logo
Logo

जनजाति महासंघको अपिल : ‘जनगणनामा आफ्नै धर्म लेखाऔँ’


10.7k
Shares

काठमाडौं । आजदेखि देशभर सुरु भएको १२ औं राष्ट्रिय जनगणनामा आफ्नै मौलिक धर्म लेखाउन आदिवासी जनजाति महासंघले अपील गरेको छ । महासंघले बुधबार विज्ञप्ति जारी गर्दै ८ बुँदे ध्यानाकर्षण गराएको छ । ध्यानाकर्षण पत्रमा आ-आफ्नो जाति र जनजातिको नाम, मातृभाषा, पुख्र्यौली भाषा, धर्म प्रष्ट रूपमा लेख्न लगाउन आग्रह गरेको हो ।

महासंघले अन्य पक्षले जबर्जस्ती थोपरेको धर्म नलेखाउन भन्दै जाति, भाषा, धर्मबारे आफू सङ्लग्न र सम्बन्धित आदिवासी जनजाति समुदायको प्रतिनिधिमूलक संघ-संस्थाले गरेको निर्णयअनुरुप लेखाउन, जाति, धर्म, मातृ भाषाजस्ता महल दुरुस्त भरे नभरेको हेर्न पनि आग्रह गरेको छ ।

यस्तै परिवारका सख्या अक्सर घरैमा बसोबास गर्नेको संख्या लेखाउन, परिवारमा अक्सर नबस्ने स्वदेशमा वा विदेशमा बसोबास गर्नेको संख्या खुलाउन विज्ञप्तिमार्फत भनिएको छ । ३० पूरा भएको उमेर, वैवाहिक स्थिति १० वर्षभन्दा माथिकाले मात्र, पढ्न–लेख्न जानेको र नजानेको, यदि जानेको भए कतिसम्म पास गरेको र कलेज, विश्वविद्यालय स्तर उत्तीर्ण गरेको भए कुन विषयमा कति भन्ने प्रष्टसँग लेखाउन महासंघले आग्रह गरेको छ ।

यस्तै प्रश्नावली भरिरहँदा गणकले विभिन्न कोड भर्दा सही कोड भरेको–नभरेको बारे एकिन गर्न, गणकले पेन्सिल वा मेट्न मिल्ने सामग्रीले लेखेको छ भने डटपेन प्रयोग गर्न लगाउन पनि भनेको छ । नेपाल आदिवासी जनजाति महासंघ, संघीय परिषद् सचिवालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हाम्रा जनसांख्यिक विशेषता जे हो, जनगणनामा त्यही देखिनुपर्छ । दशकौँदेखि आदिवासी जनजातिहरूले त्यही भन्दै आएका छन् । तर पनि विगतका जनगणनाको परिणाम हाम्रा लागि कतिपय अवस्थामा तथ्याङ्क होइन, मिथ्याङ्क साबित भयो । अब मिथ्याङ्क मात्र भन्दै हात बाँधेर बस्नु हुँदैन, बरू सही तथ्याङ्क बनाउन सक्रिय हुनु आवश्यक छ । यस पटकको जनगणनालाई आदिवासी जनजातिहरूले सही तरिकाले प्रयोग गर्दै हाम्रो सामाजिक संरचनाको वस्तुगत विशेषता र बहुलता अनुसारको जनगणना बनाऔँ । यसको लागि अबको पन्ध्र दिन जागरूक रहौँ ।’

विज्ञप्तिमा वास्तविक तथ्याङ्क सङ्कलनका लागि आ-आफ्नो ठाउँबाट खबरदारी गर्दै उपयोग गर्न र तथ्याङ्कको राजनीति बुझ्न, हस्तक्षेप बढाउन र प्रतिरोध सिर्जनाका लागि आधार बनाउन आग्रह गरिएको छ ।

आजदेखि सुरु भएको जनगणनाका लागि देशैभर गरी ३९ हजार गणक र आठ हजार पाँच सय जना गणक कार्यक्षेत्रमा खटिएको केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ । नेपालमा सङ्घीयता कार्यान्वयन भएपछि यो पहिलो जनगणना हो । यसअघि कोरोना महामारीका कारण जनगणना कार्यतालिका स्थगित भएको थियो ।

केन्द्रीय तथ्याङ्क विभागका महानिर्देशक नेविनलाल श्रेष्ठका अनुसार जनगणनाका लागि ८० वटा प्रश्नावली बनाइएको छ । एक जना गणकलाई एउटा परिवारको जनगणना गर्न करिब २० मिनेट समय लाग्ने अनुमान गरिएको छ । एक जना गणकले औसत एक दिनमा बाह्रवटा घर परिवारको गणना गर्नुपर्नेछ ।

बिहीबार सङ्घमा राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको जनगणना गरेर जनगणना सुरु गरिने छ । प्रदेशमा मुख्यमन्त्री, स्थानीय तहमा नगर तथा गाउँ प्रमुख र वडामा वडाध्यक्षको गणना गरी जनगणनाको प्रारम्भ गरिने विभागले जनाएको छ ।

सातवटै प्रदेश कार्यालय, ८७ वटा जिल्ला जनगणना कार्यालय र ३५० वटा स्थानीय जनगणना कार्यालय सञ्चालनमा ल्याइएको उनले जानकारी दिए । गत भदौ ३० देखि कात्तिक १८ गतेसम्म घर तथा घरपरिवार सूचीकरण कार्य सम्पन्न भएको थियो । सोको आधारमा जनगणना गरिनेछ ।

यस वर्षको जनगणनामा सबै गणक दस जोर दुई अध्ययन गरेका बेरोजगार युवालाई सहभागी गराइएको छ । यस अगाडि शिक्षकहरूले गणकको रूपमा कार्य गरे पनि यस वर्ष कतिपय शिक्षकलाई प्रशिक्षकको रूपमा सहभागी गराइएको श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्