Logo
Logo

चाबहिल-साँखु सडक आइतबारदेखि कालोपत्र : ‘काम सुरु नभए पुनः आन्दोलन’


- दृष्टि न्युज/संवाददाता


साँखु, २७ वैशाख । लामो समयदेखि अलपत्र चावहिल–साँखु सडकखण्डअन्तर्गत टुसाल–जोरपाटी सडकखण्ड तत्काल कालोपत्र हुने भएको छ ।
धुलो र हिलोले आजित बनेका बौद्ध, टुसाल, जोरपाटीका स्थानीय व्यवसायी र सर्वसाधारणले हिजो बिहीबार यातायात नै अवरुद्ध पारी सडक आन्दोलनमार्फत सम्बन्धित निकायलाई ध्यानार्कषण गरेका थिए । सडकमा उत्रिएका आन्दोलनकारी र उक्त सडकखण्ड निर्माण गर्न ठेक्का पाएको युनाइटेड विल्डर्सबीच छ बुँदे सहमति भएपछि आन्दोलन स्थगित भएको छ ।
स्थानीय बासिन्दा, व्यापारी तथा उक्त सडकखण्ड कालोपत्र गर्ने ठेकेदारबीच भएको सम्झौताअनुसार आइतबारदेखि नै कालोपत्र गर्ने काम ठेकेदार कम्पनीले शुरु गर्ने सहमति भएको छ ।
बौद्ध व्यापार संघका अध्यक्ष दीपक चौलागाईंले कालोपत्र गर्नुपूर्व रोलर लगाउने, सबवेस, बेस बनाउने काम कार्य आजैदेखि शुरु गर्ने सहमति भएको छ । ठेकेदार कम्पनीका प्रमुख शकुन्तलालाल हिराचन, काठमाडौँ महानगरपालिका वडाध्यक्ष दीपेन्द्र लामा, बौद्ध व्यापार संघका अध्यक्ष चौलागाईं, स्थानीय बासिन्दा तथा टुसाल युवा क्लबका प्रतिनिधिसहित बसेको बैठकबाट सहमति भएको चौलागाईंले जानकारी दिए
बिहीबार बिहान ८ः३० बजेदेखि शुरु भएको आन्दोलनमा प्रहरीले व्यापक बल प्रयोग गरेको थियो । प्रदर्शनमा उत्रिएका एक दर्जन आन्दोलनकारी घाइते भएका थिए भने प्रहरीले आन्दोलनलाई दबाउन लाठीचार्ज र अश्रुग्यास प्रहार गरेको थियो । अन्तिममा प्रहरी र स्थानीय जनप्रतिनिधिको विशेष भूमिकामा ठेकेदारलाई नै ल्याएर सहमति गर्ने वातावरण बनेपछि आन्दोलन स्थगित भएको थियो ।
सहमति ठूलो उपलब्धि भएको भन्दै बौद्ध व्यापार संघका अध्यक्ष चौलागाईंले सहमतिपत्रको अक्षरसः पालाना नभए आइतबारबाट पुनः अनिश्चितकालीन चक्काजामको आह्वान गर्ने चेतावनी दिएका छन् ।
त्यस्तै संघकी कोषाध्यक्ष मेनुका श्रेष्ठले आन्दोलन फिर्ता लिएको नभई स्थगित मात्र भएको बताइन् । आन्दोलन रोकिएको छैन, सहमतिअनुसार काम नभए पुनः चक्काजाम गर्ने श्रेष्ठले बताइन् ।
चार वर्षदेखि निर्माण अलपत्र परेको चावहिल–साँखु सडकखण्डअन्तर्गतका सर्वसाधारण तथा स्थानीय व्यपारीले सडककै कारण ठूलो समस्या खेप्दै आइरहेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्