Logo
Logo

बागमतीमा मन्त्रिपरिषद् विस्तार, जम्कट्टेल र लामा बने मन्त्री



काठमाडौं । बागमती प्रदेशको मन्त्रिपरिषद् विस्तार भएको छ । मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले आज (बिहीबार) मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

कात्तिक ११ गते मुख्यमन्त्रीमा नियुक्त पाण्डेले मन्त्रिपरिषदमा नेकपा (माओवादी केन्द्र) र नेपाली काँग्रेसबाट एक एक जना गरी दुई जना मन्त्री थपेका हुन् ।

मुख्यमन्त्री पाण्डेले नेकपा माओवादी केन्द्रबाट शालिकराम जम्कट्टेललाई आर्थिक मामिला तथा योजना मन्त्रालय र नेपाली काँग्रेसबाट नीमा लामालाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिएका छन् । नवनियुक्त मन्त्रीद्वयले बिहीबार नै पद तथा गोपनीयताको शपथ लिएका छन् ।

कार्तिक ११ गते मुख्यमन्त्री नियुक्त भएका पाण्डेले सोही दिन तीन मन्त्री नियुक्त गरेका थिए । त्यस यता पहिलो पटक मन्त्रिपरिषद् विस्तार भएको हो । यद्यपि मन्त्रिपरिषद् विस्तारले अझै पूर्णता पाउन सकेको छैन ।

मन्त्रिपरिषद् विस्तारले पूर्णता नपाएका कारण अझैसम्म मुख्यमन्त्री पाण्डेले भूमि, व्यवस्था तथा सहकारी मन्त्रालय र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् ।

प्रतिक्रिया दिनुहोस्