Logo
Logo

जीपको भाडा तोकियो, बढी लिएमा कारबाही हुने


756
Shares

बाजुरा । जिल्लाका मुख्य र ग्रामीण सडकमा सञ्चालन हुँदै आएका जीपको भाडादर निर्धारण गरिएको छ । जीप व्यवसायीहरुले यात्रुबाट बढी भाडा असुल्ने गरेको गुनासो बढेपछि जीप व्यवसायीहरुको छलफलपछि भाडादर निर्धारण गरिएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।

यहाँका साँफे–मार्तडी राजमार्ग, मार्तडी–कोल्टी, कोल्टी–कर्णाली करिडारेमा सञ्चालन हुँदै आएका जीपको भाडादर कायम गरिएको प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले बताए ।

उनका अनुसार जिल्लाका विभिन्न सडकमा चल्ने जीपले यात्रुबाट चर्को भाडा असुल्ने गरेको जनगुसो बढेपछि जीप व्यवसायीहरुसँग छलफल गरेर भाडादर निर्धारण गरिएको हो ।
यहाँका पूर्वी तथा उत्तरी भेगका कोल्टी–मार्तडी सञ्चालन हुने सार्वजनिक यातायातका सवारी साधनको प्रति किलोमिटर रु १८ का दरले रु ७५० भाडा तोकिएको सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी समीर भण्डारीले जानकारी दिए ।

उनका अनुसार कोल्टीबाट कवाडी, धुलाचौर, पिलुचौर र जुड्डीसम्म चल्ने सवारी साधनले प्रतिकिलोमिटर रु १५ का दरले भाडा लिने यातायात व्यवसायी र सरोकारवाला निकायबीच सहमती भएको छ ।

साँफे–मार्तडी–कोल्टी सडक सञ्चालनमा आइरहेकाले कोल्टी वा सो भेगका इन्धन व्यवसायीले सम्भव भएसम्म साँफे बगरबाट इन्धन÷पेट्रोल÷डिजेल ल्याउने तथा मार्तडीमा कायम भएको मूल्यभन्दा प्रतिलिटर रु १५ सम्म बढी शुल्क लिई बिक्री गर्न पाउने निर्णय भएको हो ।
प्रशासनले निर्धारण गरेको भाडादरभन्दा बढी लिएको पाइएमा व्यवसायीलाई कानुनी कारबाही गर्ने सूचना अधिकारी भण्डारीले बताए । यस्तै डिजेल÷पेट्रोलमा पनि तोकिएकोभन्दा बढी मूल्य लिएको पाइएमा व्यापारीलाई समेत कानुनी कारबाही गरिने उनले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालय बाजुराले पटक पटक राजमार्ग र ग्रामीण सडकमा सञ्चालन हुने जीपहरुको भाडादर तोकेको भएपनि जीप व्यवसायीहरुले यात्रुबाट चर्को भाडा लिन छोडेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्