Logo
Logo

धमाधम बन्दै सुविधा सम्पन्न वडा कार्यालय



बलेवा । गलकोट नगरपालिकाका वडा कार्यालयले सुविधासम्पन्न आफ्नै भवनमा बसेर सेवासमेत दिन थालेका छन् । पछिल्लो समय वडा नंं १ देखि ११ सम्म आफ्ना वडा भवन बनिसकेका छन् । नगरपालिका र प्रदेश सरकारको बजेट परिचालन गरेर भवन बनेका हुन् ।

‘हामीले रु ३७ लाख लगानी गरेर भवन बनायौँ, अहिले सहज सेवा दिन सक्ने भएका छौँ’, वडाध्यक्ष तेजबहादुर थापाले भने , ‘थप रु १५ लाख लगानी गरेर रङरोगन र तारबारसमेत गरिसकेका छौँ ।’ वडा कार्यालय एकै रङ र डिजाइनका बनेकाले गलकोटमा आकर्षकसमेत देखिएका छन् ।

नगरपालिकाको दुर्गम मानिने रायडाँडामा पनि वडा कार्यालय बनेको छ । लामो समयसम्म विद्यालयको जीर्ण भवनको कोठामा बसेको वडा आफ्नै भवनमा सरेपछि सेवा प्रवाहसमेत चुस्त भएको छ । ‘एउटै कोठामा लामो समयसम्म दुईवटा टेबुल राखेर बस्यौँ, अहिले बल्ल सेवा प्रवाहमा सहज भएको छ’, वडाध्यक्ष ज्ञानेन्द गौतमले भने, ‘नगरपालिकले पर्याप्त बजेट नदिएकाले निर्माणमा ढिलाइ भयो, श्रमदानसमेत जुटाएर कामचलाउ बनाएका छौँ ।’

एकतले भवनमा कार्यालय सञ्चालनमा आइसकेको उहाँले बताउनुभयो । वडा नंं ६, ७ र ९ मा भने भवन निर्माणाधीन छन् । वडिगाड र निसीखोलामा पनि वडा कार्यालय धमाधम बन्दैछन् । वडा, पालिका र अन्य स्रोत सङ्कलन गरेर बनेका वडा भवनले सङ्घीयताका संरचना व्यवस्थित र संस्थागत बन्न थालेको जिल्ला समन्वय समितिका उपप्रमुख विष्णु भुसालले बताउनुभयो । ‘जे–जसरी बनेपनि भवन बनेर व्यवस्थित कार्यालय सञ्चालन गर्दा आफ्नो वडाको सान बढ्छ’, उनले भने, ‘संस्थागत भइसकेका कार्यालयमा कुनै कर्मचारी वा जनप्रतिनिधि नहुँदा पनि नियमित काम गर्न सहज हुन्छ ।’

यसरी वडा तहमै भवन बनाएर व्यवस्थित बन्ने लहर चलिरहे पनि बागलुङ नगरपालिकाले भने आफ्नै भवन अलपत्र पारेको छ । अहिलेसम्म आफ्नो भवनको तयारी नै नगर्नेमा काठेखोला गाउँपालिका छ । जग्गाको व्यवस्थापन नभएपछि भवन बन्न नसकेको अध्यक्ष अमर थापाले बताए । त्यसबाहेक ताराखोला गाउँपालिकाले आफ्नो भवनबाहेक कर्मचारी आवासगृह, सङ्ग्राहलय र सभाहल पनि बनाइसकेको छ । विषयगत कार्यालय र वडा भवन पनि व्यवस्थितरूपमा चल्न थालिसकेको अध्यक्ष प्रकाश घर्तीले बताए ।

बरेङले गत वर्ष नै भवन निर्माण थालेको छ भने जैमिनी नगरपालिकाले पहिलो चरणको काम थालिसकेको छ । ‘जग्गा प्राप्तिमा ढिला भएकाले अड्केका थियौँ, अब कामले गति लिन्छ’, नगरप्रमुख इन्द्रराज पौडेलले भने, ‘क्रमशः वडा भवन पनि बन्ने क्रम सुरु हुन्छ ।’ जैमिनीका वडामा भने आफ्नै भवन हुने थोरै छन् । तमानखोलामा पनि वडा भवन बन्ने क्रम सुरु भएको छ । आफ्नै प्रशासकीय भवन बनाइसकेको तमानले सुशासनलाई प्राथमिकता राखेको अध्यक्ष जोकलाल बुढाले बताउनुभयो । वडाहरु पनि आफ्नै भवनमा सर्ने गरी कतै जग्गा व्यवस्थापन, कतै भवन निर्माण सुरु भएको उनले बताए ।

वडा नंं १ र २ को भने अधिकांश सेवा पालिकाबाटै हुने गरेको छ । केही वडा पुराना गाविसको भवनमा सञ्चालित छन् भने केही स्थानमा अझै भाडामा छन् । जग्गाको व्यवस्थापन भएपछि भने वडाले भाडा तिर्न छाडेर भवनकै तयारी गरेको जनप्रतिनिधिले बताए ।

प्रतिक्रिया दिनुहोस्