Logo
Logo

२५६३औँ बुद्धजयन्ती मनाउन मूल समारोह समिति गठन


- दृष्टि न्युज/संवाददाता


काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचीकृत बौद्धनाथ क्षेत्रमा २५६३औँ बुद्ध जयन्ती मनाउन मूल समारोह समिति गठन गरिएको छ । बौद्धनाथ क्षेत्र विकास समितिको संयोजकत्वमा बौद्ध क्षेत्रका ८० सङ्घ संस्था सदस्य रहेको समिति गठन गरिएको हो । जेठ १ गतेदेखि सप्ताहव्यापी रुपमा बुद्धजयन्ती मनाइने कार्यक्रम तय गरिएको समितिका अध्यक्ष चन्द्रमान लामाले राससलाई जानकारी दिनुभयो ।

समितिमा बौद्ध तामाङ कल्याण गुठी, बौद्ध सुखदुःख गुठी, बौद्ध सामुदायिक सेवा केन्द्र, बौद्ध सितेरियो कराँते डोजो, बौद्ध फुटबल क्लब, छोरङान महिला समाजलगायत संस्थाको सहभागिता रहेको छ । जेठ १, २ र ३ गते बुद्ध बचन अनुवाद समितिले बौद्ध चैत्य परिसरमा प्रज्ञा पारमिता सूत्र पाठ गर्ने कार्यक्रम छ ।

शान्ति प्राप्तिका लागि प्रज्ञा पारमिता पाठ गर्ने कार्यक्रम राखिएको अनुवाद समितिका सम्पादक सम्पूर्णकुमार लामाले जानकारी दिनुभयो । बिर्य पारमिता, ध्यान पारमिता, शान्ति पारमिता र दान पारमितामध्येमा प्रज्ञा पारमिताको महत्व बढिरहेको छ । यसको साधनाले बुद्धत्व प्राप्त गर्न सकिने विश्वास छ ।

जेठ १ गते बिहान बौद्ध परिक्रमापछि अवतारी लामा लोब्साङ नाम्गेल रिम्पोछेको उपस्थितिमा १६ ठेली एवं एक लाख श्लोक सङ्ख्या रहेको प्रज्ञा पारमिता पाठ शुरु हुनेछ । तीन दिनसम्म २५ जना लामाले प्रज्ञा पारमिता पाठ गर्ने कार्यक्रम छ । जेठ ३ गते बौद्ध परिसर सरसफाइ, ४ गते बिहान बौद्ध–स्वयम्भू–नमोबुद्धमा शान्ति दौड, ४ गते बिहान बौद्ध स्तुपमा विशेष पूजापाठ, दिउँसो ३ बजेपछि बौद्ध–चावहिल क्षेत्रमा शान्ति ¥याली गरिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्