Logo
Logo

उद्देश्य, लक्ष्य र गन्तव्य समाजवाद


– माधवकुमार नेपाल, अध्यक्ष, नेकपा (एकीकृत समाजवादी)


नेपाली श्रमजीवी जनताका गाँस–वास–कपास, शिक्षा, स्वास्थ्य, रोजगार र सुरक्षाका आधारभूत समस्या समाधान गर्दै आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा अध्ययन, अनुसन्धान, चिन्तन र मनोरञ्जनको व्यवस्थाका लागि नै हामीले समाजवाद निर्माण गर्न चाहेका हौं । काम गर्ने उमेर र अवस्थाका सबै नेपालीलाई योग्यता अनुसार काम र काम अनुसार दाम वा ज्यालाको प्रत्याभूति गर्ने आर्थिक–राजनीतिक प्रणालीको स्थापना गर्दै सबै खाले शोषण–दमन–उत्पीडनरहित समाज निर्माण गरी नयाँ मानवीय संस्कृतिको निर्माण गर्ने अभियान नै समाजवादी आन्दोलन हो ।

यो आन्दोलनलाई सफल बनाउनका लागि विभिन्न तह र तप्काका सर्वहारा–श्रमजीवी जनताका साथै किसान, मजदुर, श्रमिक वर्गदेखि राष्ट्रिय पूँजीपति–उद्यमीसम्म सबैको साथ–सहयोग र संयुक्त मोर्चाको आवश्यकता पर्छ । यसै उद्देश्यलाई ध्यानमा राखेर वि.सं. २००६ साल बैशाख १० गते, तद्अनुसार सन् १९४९ अप्रिल २२ मा लेनिन जयन्तीको अवसर पारेर कमरेड पुष्पलालको अगुवाईमा नेपाल कम्युनिस्ट पार्टीको गठन गरिएको थियो । कमरेड पुष्पलालले गठन गर्नु भएको उक्त कम्युनिस्ट पार्टी नै अनेक आरोह–अवरोह, विभाजन, एकीकरण, पुनः विभाजन र फेरि एकीकरणका सिलसिला बेहोर्दै अगाडि बढिरहेको छ । हाम्रो पार्टी नेकपा (एकीकृत समाजवादी) नै यसको सच्चा अगुवा एवम् उत्तराधिकारी पार्टीको रुपमा रहेको छ ।

संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत भएसंगै नेपालको सामन्तवाद विरोधी पूँजीवादी–जनवादी क्रान्ति सम्पन्न भएको छ । देश पूँजीवादी युग, पूँजीवादी व्यवस्थामा प्रवेश गरेको छ । हाम्रो देशमा हाल विद्यमान पूँजीवादी व्यवस्था स्वतन्त्र राष्ट्रिय चरित्रको नभै दलाल चरित्रको छ । संविधानले व्यवस्था गरेको समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने अक्षर र भावनालाई मूर्त रुप दिनका लागि दलाल पूँजीवादलाई परास्त गर्दै राष्ट्रिय अर्थतन्त्रलाई बलियो बनाउँदै समाजवाद निर्माणका आधार तयार गर्नका लागि वैचारिक, सैद्धान्तिक र कार्यक्रमिक कार्यदिशा तयार गर्नु आजको कम्युनिस्ट आन्दोलनको प्रमुख कार्यभार रहेको छ ।

पार्टी निर्माण र सरकार सञ्चालन

हामीले एमालेको ओली नेतृत्व गुटले लिएको दक्षिणपन्थी विसर्जनवादी तथा राष्ट्रिय आत्मसमर्पणवादी विचार तथा प्रवृत्तिको विरोध गर्दै आएका छौं । त्यस गुटको व्यक्तिवादी, स्वेच्छाचारी, सर्वसत्तावादी अहंकार र दम्भका विरुद्ध विचारधारात्मक संघर्ष र विद्रोह गर्दै नेपाली श्रमजीवी वर्गको राजनीतिक प्रतिनिधिका रुपमा नेपाली क्रान्ति सम्पन्न गर्न नेपाली विशेषताको समाजवाद तथा वैज्ञानिक समाजवादको लक्ष्य प्राप्तिको घोषणाका साथ नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को गठन गरेका हौँ ।

हाम्रो पार्टीको गठन र हाम्रो विद्रोहको बारेमा कसै कसैले यसको सैद्धान्तिक र वैचारिक धरातललाई नबुझी ‘पार्टी फुटाएको’ भनी नकारात्मक टिप्पणी पनि गर्ने गरेका छन् । एमालेको ओली नेतृत्व गुटले लिएको गलत नीति, विचार प्रवृत्तिका विरुद्ध हामीले लामो समय विचारधारात्मक संघर्ष गर्दै आयौं । अन्तरपार्टी जनवादको प्रक्रियाबाट त्यसको उचित समाधान हुन नसकेपछि अन्ततः विद्रोह ग¥यौं र नेपालको कम्युनिष्ट आन्दोलनलाई विसर्जन हुनबाट जोगाउँदै क्रान्तिकारी दिशा प्रदान गरेका छौं । अतः नेकपा (एमाले) भित्रको क्रान्तिकारी धार– नेकपा (एकीकृत समाजवादी) द्वारा मुलुकको कम्युनिष्ट आन्दोलनलाई सही दिशा प्रदान गर्ने काममा दृढताका साथ अघि बढ्ने पहल भएको छ ।

वास्तवमा, हाम्रो यो विद्रोह कुनै व्यक्ति विशेष वा व्यक्तिगत स्वार्थको लागि होइन, नवौं महाधिवेशनका निष्कर्षहरु र राजनीतिक कार्यदिशालाई अस्वीकार गर्ने, जननेता मदन भण्डारीका विचार तथा जनताको बहुदलीय जनवादका मान्यताहरुलाई कुल्चने, संगठनात्मक सिद्धान्त, जनवादी केन्द्रीयता, पार्टीको विधान, पद्दति विपरीत कार्य गरेको कुरा त सबैले अनुभव गरेकै छन् । त्यति मात्र होइन, षडयन्त्रमुलक ढंगले पार्टी नेतृत्व कब्जा गर्ने र पार्टी भित्रको क्रान्तिकारी धारलाई समाप्त गर्न चाहने ओली गुटको दम्भ, व्यक्तिवादी, गुटवादी, सर्वसत्तावादी, निरंकुश, तानाशाही तथा नोकरशाही सोच र प्रवृत्तिका विरुद्ध गरिएको विद्रोह हो भन्ने कुरा हाम्रो पार्टीले अघि सारेका सैद्धान्तिक, वैचारिक, राजनीतिक र व्यवहारिक मान्यताहरुले समेत पुष्टि हुँदै गईरहेको छ ।

हाम्रो पार्टीको राजनीतिक कार्यदिशा शान्तिपूर्ण संघर्ष र वैधानिक बाटोबाट समाजवाद निर्माण गर्नु नै हो । हाम्रो रणनीतिक उद्देश्य लोकतान्त्रिक मूल्य मान्यतामा आधारित समृद्ध समाजवाद निर्माण गर्नु हो । यतिवेलाको तात्कालिक कार्यनीति समाजवाद उन्मुख सामाजिक–आर्थिक रुपान्तरण हो । नेपाली क्रान्तिको वर्तमान चरणको कार्यक्रम बहुदलीय प्रतिस्पर्धा सहितको समाजवाद हो । यसका लागि हाम्रो विकासको दिशा ‘प्रगतिशील विकासको दिशा’ अर्थात आम रुपमा राष्ट्र र जनताको, विशेष गरी श्रमजीवी वर्गको हित र समृद्धिलाई अवलम्बन गर्दै आत्मनिर्भर स्वाधीन राष्ट्रिय अर्थतन्त्र निर्माण गर्नु हो ।

हामी पार्टी निर्माण गर्ने, आम जनताको दुःख–सुखमा सहभागी हुँदै उनीहरुसँग एकाकार हुने, सरकार संचालनमा भूमिका खेल्ने र नेपाली विशेषताको समाजवाद निर्माण गर्ने अठोट गरेका छौं । हामी माक्र्सवाद लेनिनवाद र जननेता मदन भण्डारीले अगाडि बढाउनु भएको जनताको बहुदलीय जनवादको मूल्य र मान्यतामा आधारित नेपाली विशेषताको समृद्ध समाजवाद निर्माण प्रति पूर्ण प्रतिवद्ध छौं । यहि मान्यताका साथ हामी पार्टी निर्माणमा अघि बढेका छौं र राष्ट्र एवम् जनताको हितमा सरकार संचालनमा महत्वपूर्ण भूमिका खेलिरहेका छौं ।

राष्ट्रिय राजनीतिमा पार्टीको भूमिका

राष्ट्रिय राजनीतिमा ‘पाँच दलीय राजनीतिक गठबन्धन’ अझ प्रभावशाली हुँदै गएको छ । यसलाई आगामी निर्वाचनसम्म कायम राखेर अघिबढ्ने गठबन्धनमा संलग्न राजनीतिक दलहरु बीचमा समझदारी बनेको छ । यसै सिलसिलामा हाम्रो पार्टी संघीय सरकार संचालनमा केही महत्वपूर्ण मन्त्रालयहरुको जिम्मेवारीका साथ सहभागी हुँदै राष्ट्रिय राजनीतिमा महत्वपूर्ण भूमिकामा रहेको छ ।

बागमती प्रदेश र प्रदेश १ मा मुख्यमन्त्रीको जिम्मेवारीका साथ प्रदेश सरकार संचालनमा हाम्रो पार्टीले नेतृत्व गरिरहेको छ । यसरी नै स्थानीय सरकार संचालनमा पनि हाम्रो पार्टीको भूमिका महत्वपूर्ण र प्रभावकारी बन्दै गएको छ । एमालेको ओली नेतृत्व आफ्नै गलत नीति, विचार र प्रवृत्तीका कारण संघीय र प्रदेश सरकार संचालनमा रहेको नेतृत्वकारी भूमिका गुमाउन पुगेको छ । राष्ट्रिय राजनीतिमा एमालेको ओली नेतृत्व गुटले आफ्नो भूमिका र शाख क्रमशः गुमाउँदै गएको छ । उसको हैसियत गिर्दै ओरालो लाग्न पुगेको छ ।

पार्टी कार्यालय स्थापना

तीन महिने अभियान अन्तर्गत कम्तीमा पनि सबै जिल्लामा जिल्ला पार्टी कार्यालय स्थापना गर्नुपर्ने छ । कतिपय जिल्लाहरुले वार्ड तहसम्म पार्टी कार्यालय स्थापना गरेका छन्, यो खुसीको कुरा हो । पार्टी काम विस्तारका लागि कार्यालय नभै नहुने संरचना हो । व्यवस्थित कार्यालयले संगठन परिचालनमा महत्वपूर्ण भूमिका खेल्न सक्दछ । व्यवस्थित कार्यालय सञ्चालनका लागि आर्थिक श्रोत चाहिन्छ । हाम्रो पार्टीले आफ्नो आर्थिक स्रोतका लागि जनतामै भर पर्नु पर्दछ ।

हामीलाई समर्थन, सहयोग र माया गर्ने आम जनताले स्वेच्छाले दिने सहयोग नै हाम्रो आर्थिक सहयोग संकलनको सबैभन्दा भरपर्दो माध्यम हो । पार्टी सदस्यहरुबाट पार्टीको विधान अनुसार मासिक लेवी उठाउने कुरालाई पार्टीको नियमको रुपमा कार्यान्वयन गर्ने र पार्टी पक्षीय समर्थक तथा शुभचिन्तकहरुबाट मासिक सहयोग संकलन गर्ने विषयलाई पनि उत्तिकै महत्वका साथ लिनु पर्छ ।

पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र जिल्ला कार्यालय संचालन गर्न लाग्ने अनुमानित खर्चको आधारमा पार्टी लेवी, सहयोग र विशेष सहयोग संकलन गर्ने, राज्यसत्ता संचालनमा अर्थात संघीय, प्रदेश र स्थानीय सरकार संचालनमा संलग्न पार्टीका मन्त्री, सांसद र जनप्रतिनिधिहरुबाट मासिक लेवी संकलन गर्ने कामलाई पनि नियमित गर्नु पर्दछ । हामी आधारभूत रुपमा जनतामा आधारित भएर, पार्टीका नेता, कार्यकर्ता, सदस्य तथा शुभचिन्तकहरुमा आधारित भएर पार्टीको आर्थिक व्यवस्थापन गर्नुपर्छ भन्ने मान्यता राख्दछौं ।

युवाहरुलाई संगठित गरौं

कम्युनिस्ट आन्दोलनको पुनर्गठनका दुईवटा आयाम छन्– वैचारिक र सांगठनिक । वैचारिक रुपमा पार्टीको पुनर्गठन भनेको वर्तमान सन्दर्भमा समाजवादी कार्यक्रम के–कसरी अगाडि बढाउने भन्ने हो । यसका लागि हामीले केही खाका अवश्य कोरेका छौं र यसबारेमा अध्ययन, अनुसन्धान, छलफल र विमर्श अगाडि बढाउने छौं ।

सांगठनिक पुनर्गठन भनेको कम्युनिस्ट पार्टीलाई व्यापक रुपमा आम जनताको माझमा र विशेष गरी नयाँ पुस्तामा पु¥याउनु हो । हामीले हाम्रो विचारसँग सहमत १६ वर्षभन्दा माथिका सबै उमेर र पेशा–व्यवसायका नागरिकलाई संगठित गर्ने अभियान सञ्चालन गर्नेछौं । यसका साथै हाम्रो मुख्य ध्यान ४० वर्ष मुनिका युवाहरुलाई पार्टीमा संगठित गर्ने कुरामा केन्द्रित हुन आवश्यक छ । यस कुरालाई प्रमुखताका साथ लागु गर्न सकियो भने आउने दिनका लागि कम्युनिस्ट आन्दोलनको भरपर्दो पुस्ता तयार हुनेछ । यसरी तयार भएको नयाँ पुस्ताले पुनः अर्को नयाँ कम्युनिस्ट पुस्ता तयार गरी वैज्ञानिक समाजवादी आन्दोलनलाई झन्झन् सुदृढ गर्दै लैजानेछ ।

युवाहरुलाई आधारभूत तहदेखि नै संगठित र प्रशिक्षित गर्दै अगाडि बढाउन सकियो भने मात्र पार्टी संगठन दिगो र टिकाउ हुन सक्छ । पार्टीका टोल र गाउँ एवं जनसंगठनका विभिन्न कमिटीमा बसेर खारिएको युवालाई क्रमशः पार्टीका माथिल्ला कमिटीमा संगठित र पदोन्नति गर्दै लैजाने कुरामा ध्यान दिनु पर्दछ ।

खर्चिलो निर्वाचन प्रणाली

अहिलेको निर्वाचन खर्च डरलाग्दो छ । त्यसकारण पार्टीका इमान्दार एवम् प्रतिबद्ध कार्यकर्ता निर्वाचन लड्न वा टिकट लिन डराउने अवस्था छ । यसलाई सच्याउन सकिएन भने राजनीति गलत व्यक्तिको हातमा जाने संभावना छ । अतः हामी खर्चिलो निर्वाचन प्रणाली सुधार्न तथा कम खर्चमा हरेक तहका निर्वाचन सञ्चालन गर्ने प्रणाली विकसित गर्न कटिबद्ध छौं ।

हामी सके देशको निर्वाचन कानुनमा आवश्यक सुधार गरेर निर्वाचनलाई कम खर्चिलो, स्वस्थ र पारदर्शी बनाउन चाहन्छौं । होइन भने पनि हामी आफ्नो तर्फबाट नयाँ उदाहरण प्रस्तुत गर्ने प्रयत्न गर्नेछौं । म अहिले नै आब्हान गर्न चाहन्छु, हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का हरेक तहका उमेदवारले कमभन्दा कम खर्चमा निर्वाचन परिचालन गरेर नमुना प्रदर्शन गर्ने छन् र निर्वाचन आचार संहिता विपरित चल्ने अरु प्रतिस्पर्धी पार्टीको गलत कामका विरुद्ध व्यापक शक्ति परिचालित गर्ने छन् ।

प्रचार र प्रकाशन कार्य

आजको युग सूचना प्रविधिको युग हो । सूचना प्रविधिको युगमा आम नागरिकको दैनिक जीवनसँगै समाज तथा व्यक्तिका क्रियाकलाप पनि सूचना प्रविधिबाट प्रभावित हुने गर्दछन् । आधुनिक प्रविधिको युगमा पार्टीलाई आम जनतामाझ स्थापित गर्न, नेता–कार्यकर्ताहरुलाई पार्टीका निर्णय एवम् निर्देशनहरु तत्काल पु¥याउन र गलत सूचनाबाट भ्रमित हुनबाट पार्टी पंक्तिलाई जोगाउन पनि प्रचार तथा प्रकाशनको कार्यलाई व्यवस्थित गर्नु अनिवार्य छ ।

यसका साथै सञ्चारका आधुनिक माध्यमहरु एवम् सामाजिक सञ्जाल (सोसल मिडिया)को प्रयोगलाई पार्टी कामसँग जोडेर नेता कार्यकर्ताहरुलाई सही सूचना दिने, उत्साह भर्ने तथा आम जनतामा सकारात्मक सन्देश दिने गरी पार्टी केन्द्रदेखि वडा एवं टोलसम्मका कमिटीहरुले उच्च प्राथमिकता सहित सञ्चालन गर्नु जरुरी छ ।

जनसाँस्कृतिक अभियान

हाम्रा प्रगतिशील विचार र सिद्धान्त गीत, कविता, नाटक, नृत्य र अभिनयका साथै ललितकलाका विभिन्न माध्यमबाट समेत व्यक्त हुनु पर्दछ । यसका लागि विभिन्न स्थानमा छरिएर रहेका लेखक, कवि, कलाकारहरूलाई गोलबन्द गर्न आवश्यक छ । जनताका वर्तमान समस्या उजागर गरी समाधान गर्ने शब्दले उनीएका गीत, कविता लेखिनु र गाइनु पर्दछ भने नाटक, कथा र उपन्यास लेखिनु र मञ्चन समेत गरिनु पर्दछ ।

पार्टी र जनसंगठन

प्रत्येक अतिथिको नाम र पद भनेर आसन ग्रहण गराउँदा धेरै समय लाग्ने भएकोले प्रत्येक वक्ताले सबैजसो अतिथिको नाम लिंदै सम्बोधन गर्ने प्रचलन बन्द गर्नै पर्छ । छोटो सम्बोधन गर्ने र कार्यक्रम छोटो एवम् छरितो गर्ने, वक्ताले तोकिएको समयमा र निर्धारित विषयमा आफ्नो मन्तव्य सक्ने परिपाटी बसाउनु पर्दछ । फूलमाला, खादा र ब्याचको प्रचलनलाई पनि नियन्त्रण गर्नुपर्छ । बस वा एअरपोर्टमा जुलुस सहित स्वागत गर्न पुग्ने र कार्यक्रम रोकेर बस्ने प्रवृत्तिमा पनि सुधार गर्नै पर्छ । कार्यक्रमलाई छरितो एवम् कम खर्चिलो बनाउँदै नियमित भेला, बैठक, अधिवेशन र जन परिचालनका व्यापक कार्यक्रमहरु तय गर्ने एवम् कमिटीलाई सशक्त र गतिशील बनाउने कुरामा विशेष ध्यान दिन सबै कमरेडहरुलाई आब्हान गर्दछु ।

कम्युनिस्ट जीवनशैली अपनाऊँ

हामी द्वन्द्वात्मक भौतिकवादमा विश्वास गर्दछौं । यस दर्शन प्रणालीले हरेक पदार्थ, चिन्तन, राजनीतिक पार्टी र तिनका कार्यप्रक्रिया, हरेक व्यक्ति इत्यादि सबैमा सकारात्मक र नकारात्मक पक्ष हुन्छन् भनेर व्याख्या गर्दछ । कामको दौरानमा जतिसुकै ठूला नेता वा कार्यकर्ताबाट गल्ती कमजोरी हुन सक्छन् । अरुले गरेको गल्तीलाई मित्रतापूर्वक औँल्याइ दिने काम आलोचना हो भने आफ्नो गल्ती स्विकार्ने काम आत्मालोचना हो । हाम्रो पार्टीका हरेक बैठकमा आलोचना–आत्मालोचनाको विषयलाई एजेण्डामै राखेर नियमितरुपमा छलफल चलाउनै पर्दछ ।

यसो गरेर मात्रै हामीले आफूलाई सही कम्युनिस्टको रुपमा खार्दै लैजान सक्छौं । हाम्रा सबै तहका नेता–कार्यकर्ताहरु आफू बसेको समाजका लागि र आफ्नो कार्य क्षेत्रका लागि आदर्श बन्नै पर्दछ । हामीले एकातिर समाजलाई अग्रगतिमा लैजानका लागि संघर्ष गर्नै पर्दछ भने समाजमा अपाच्य हुने गैर कम्युनिस्ट आचरण र चालचलनबाट जोगिनै पर्दछ । विचार, सिद्धान्तमा पोख्त र निजी तथा सामाजिक आचरणमा सरल, पारदर्शी र स्वच्छ व्यक्तिले मात्रै समाज परिवर्तनको काममा अगुवाई गर्न सक्छ ।

मन्त्रीहरुको जिम्मेवारी

मन्त्री हुनु भनेको, हाम्रो विचारमा पार्टी कामकै एक अंग हो, जनसेवा र विकासको क्षेत्र हो । यसैले हाम्रा संघ वा प्रदेशका मन्त्री, मुख्यमन्त्री सबैले आ–आफ्नो क्षेत्रमा भएको साधन–स्रोतको उचित र अधिकत्तम परिचालन गरी जनतालाई बढीभन्दा बढी सेवा–सुविधा दिनु पर्दछ । सुशासन कायम गर्न र नयाँ–नयाँ रचनात्मक काम गरी पार्टीको सकारात्मक छाप छोड्नका लागि मिहिनेत गर्नै पर्दछ, यसका लागि बुद्धि खियाउनै पर्दछ । हाम्रा मुख्यमन्त्री र सबै तहका मन्त्रीहरुले कुनै पनि विवादास्पद काम नगर्नुहोस्, त्यस्तो गरेको सुन्नु नपरोस् भन्ने हाम्रो कामना छ ।

राजकीय काममा सहयोग गर्ने गरी योग्य व्यक्ति छनौट गर्न एवम् सही निर्णय लिन सहयोग होस् भनी पार्टीले राजकीय मामिला विभाग बनाएको छ, सो विभागको सिफारिसमा पार्टी सचिवालयको निर्णय एवम् गठबन्धन सरकारको भावना अनुरुप पार्टी नेतृत्वले दिने निर्देशनलाई हाम्रा मन्त्रीहरुले कडाईका साथ पालन गर्नुपर्नेछ ।

निर्वाचनको पूर्वतयारी

हामी यतिवेला निर्वाचनको संघारमा रहेका छौं । अब हामी छिट्टै नै राष्ट्रिय सभा र प्रतिनिधि सभा तथा प्रदेश सभाका रिक्त स्थानको उपनिर्वाचनमा जाँदैछौं । त्यसपछि पालिका, प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनको सिलसिला शुरु हुने छ । त्यसैले हाम्रो पार्टीको सम्पूर्ण कामहरु निर्वाचनको पूर्व तयारीको रुपमा समेत गरिनु पर्दछ ।

हरेक पालिकाको वडा वडामा पार्टी कामको विस्तारका साथै वडा वडामा पार्टी कार्यालय खोल्नु पर्दछ । पार्टी कामको आधार अब प्रत्येक पालिकाका वडा–वडामा केन्द्रित गर्नुपर्दछ । हरेक वडा र वडाका टोल–टोलमा पार्टी सदस्यता वितरण गर्ने, तिनीहरुलाई पार्टी कमिटिका साथै आवश्यकता र उपयुक्तताको आधारमा युवा संघ, अनेमसंघ, किसान महासंघ, खेलकुद महासंघ, पेशागत महासंघ, वुद्धिजीवी संगठन, नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघ, ट्रेड युनियन महासंघ, लोकतान्त्रिक मधेशी संगठन (समाजवादी), नेपाल मुश्लिम इत्तेहाद संगठन (समाजवादी), लोकतान्त्रिक राष्ट्रिय अपांग संगठन (समाजवादी), समाजवादी प्रेस संगठन, नेपाल राष्ट्रिय भूतपूर्व सैनिक महासंघ, इत्यादि सम्भव भएसम्मका विभिन्न जनवर्गीय संगठनहरुमा आवद्ध गर्ने, क्याम्पसहरूमा अनेरास्ववियूका कमिटी गठन गर्न सघाउने तथा विभिन्न जाति र समुदाय एवं पेशाका संगठनहरूमा आबद्ध गर्नुपर्छ । स्वयंसेवक दल एवम् सांस्कृतिक कर्मीहरुको टिम निर्माण गर्ने काममा पनि उचित ध्यान दिई अघि बढाउन जरुरी छ । अहिलेदेखि नै मतदाताहरुको लिष्ट, छुट मतदाताहरु र उमेर पुगेका मतदाताहरुको नाम लिष्टको आवश्यक तयारी कार्यमा पनि उत्तिकै ध्यान दिन जरुरी छ ।

अन्त्यमा

निश्चित रुपमा पार्टी निर्माणको वर्तमान चरणमा हामीसँग केही अनुकुलता र केही प्रतिकूलताहरु छन् । हामी अनुकूलताहरुलाई कुशलतापूर्वक पार्टी, राष्ट्र र जनताको हितमा परिचालन गर्नेछौं । त्यसका साथै हाम्रा सामू उपस्थित प्रतिकूलताहरुलाई पनि हाम्रो सिर्जनात्मक क्षमता र रचनात्मकताको आधारमा अनुकूलतामा परिणत गर्ने दृढ आँट बोकेका छौं, अठोट गरेका छौं ।

नेपाली क्रान्तिको बाटो जतिसुकै वांङ्गोटिङ्गो र जटिल भए पनि हामी त्याग, वलिदान र समर्पणको भावनाका साथ हाम्रा घोषित लक्ष्य र उद्देश्यहरु प्राप्तिका लागि दृढतापूर्वक अघि बढिरहेका छौं । त्यसैले हरेक पाइलामा हाम्रो जीत सुनिश्चित छ, राष्ट्र र जनताको भविष्य उज्वल छ । नेपाल राष्ट्र र नेपाली जनताको उज्वल भविष्य र नेपाली विशेषताको समाजवाद निर्माणका लागि सिंगो पार्टी पंक्ति रचनात्मक क्षमता र कृयाशीलताका साथ एकतावद्ध होऔं १ पार्टी निर्माणको प्रकृयामा जिम्मेवारी बोधको भावनाका साथ अनुशासित र कृयाशील भई अघि बढौं १ १

पार्टीभित्र असल संस्कार र संस्कृतिको विकास गरौं

हाम्रो पार्टी गठनको उपादेयता तथा यसको सशक्त भूमिका र श्रेष्ठतालाई स्थापित गर्न हामीले धेरै मेहनत गर्नुपर्ने, नयाँ नयाँ विचार, सोच र नवीन मान्यतालाई अगाडि सार्नु पर्ने, बोली र व्यवहारमा एकरुपता कायम गर्दैै हाम्रो विश्वसनीयता र प्रतिष्ठा बढाउदै जनताबीच आफूलाई लोकप्रिय बनाउने तथा जनताको आशा भरोसाको केन्द्रको रुपमा स्थापित गर्नुपर्ने आवश्यकता छ । यसका लागि निम्न बुँदाहरुमा म सिंगो पार्टी र नेतृत्व पंक्तिको ध्यानाकर्षित गर्दछु ।

क) इमान्दारिता, निष्ठा र समर्पणको भावनाबाट चल्ने तथा मेहनत गर्ने र पाएको जिम्मेवारी समयमा पूरा गर्ने प्रवृतिको विकास गर्ने ।

ख) लोकतान्त्रिक मूल्य मान्यतालाई अवलम्बन गर्दै व्यापक छलफल, सल्लाह र विचार विनिमय गर्न, अरुको कुरा ध्यान दिएर सुन्न र समस्याको हल गर्न विशेष ध्यान दिंदै सामुहिकताको भावनालाई पालना गर्ने ।

ग) राम्रो संस्कृति र संस्कारको पक्षपोषण गर्दै त्यसलाई आत्मसात गर्ने ।

घ) माक्र्सवाद र कम्युनिष्ट आन्दोलनको रक्षा र विकास गर्ने ।

ङ) अध्ययन– अनुसन्धान र नवीन खोजको निम्ति सृजनात्मक काम र प्रविधिलाई प्रोत्साहित गर्ने ।

च) प्रत्येक कामको योजना बनाउँदा वस्तुवादी र व्यवहारिक हुने ।

छ) कामको निरन्तर अनुगमन र सुपरीवेक्षण गर्ने ।

ज) कामको मूल्याङ्कन र विश्लेषण गर्दै राम्रो गर्नेको प्रशंसा र नराम्रो गर्नेलाई (शिक्षा चेतावनी) आलोचना गर्ने ।

झ) ठूला ठूला अव्यवहारिक कुरा र हावादारी गफ नगर्ने, उपयोगी एवं व्यवहारिक कुरा र काम गर्ने;

ञ) समयको पाबन्दीमा रहने, तोकिएको काम र जिम्मेवारीमा केन्द्रित हुने ।

ट) गुणस्तरीय काम गर्ने, किफायती तरिका अपनाउने तथा तोकिएको समयभित्र परिणाम दिने गरी काम सम्पन्न गर्ने ।

ठ) सादा जीवन, उच्च विचार, स्वच्छ आचरण र असल विचारलाई आत्मसात गर्ने ।

ड) गलत प्रवृत्तिका विरुद्ध दृढताकासाथ जुध्ने ।

ढ) सत्य र न्यायको पक्षमा सतिसाल झै उभिने ।

(केन्द्रीय कमिटीको दोश्रो बैठकमा अध्यक्ष माधवकुमार नेपालले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनको सम्पादित अंश ।)

प्रतिक्रिया दिनुहोस्