Logo
Logo

किशोरीको पहलमा बालविवाह घट्यो


नन्दा थापा


बाजुरा । बाजुरास्थित डोगडी बाल क्लवकी अध्यक्ष जुनाकुमारी बुढाले दशरथमा माध्यमिक विद्यालयमा कक्षा ११ मा पढ्दासम्म पढाइभन्दा घरकै काममा बढी समय दिनुपथ्र्यो । घरायसी कामका कारण शिक्षकले दिएको गृहकार्यसमेत पूरा गर्न समस्या हुन्थ्यो । उनी पनि घरायसी कामलाई नै प्राथमिकता दिन्थिन । जसका कारण उनको पढाइ खस्कदै गएको थियो । किशोरअवस्थामै विवाह गर्ने सोच बनाइसकेकी थिइन् । यसैक्रममा उनी किशोरीहरूको क्लवमा आबद्ध भइन् । उनको सोच बदलियो । उनी भन्छिन्, ‘क्लवमा नलागेको भए अहिले विवाह भइसक्थ्यो, आमाबुवाले मलाई हेला र भाइलाई माया गरे जस्तो लाग्थ्यो, आजभोलि गाउँमा महिला विकास मञ्चले गर्ल फस्ट फ्रन्ट परियोजना लागू गरेपछि मेरो पुरै सोच बदलिएको छ । अहिले हामी सानै उमेरमा विवाह गर्दैनौँ र गर्न पनि दिदैनौँ ।’ उनी अहिले कक्षा ११ मा अध्यनरत छिन् ।

सोही विद्यालयकी सृजना रावतले पनि पढाइभन्दा घरायसी काममै बढी समय दिनुपथ्र्यो । जसका कारण परीक्षामा राम्रो अंक आउँदैनथियो । बरु, विवाह गरे सुख पाइन्छ भन्ने सोच उनमा विकास हुँदै गइरहेको थियो । यहीक्रममा उनी पनि किशोरी क्लवमा आवद्ध भइन् । उनको सोचाइले नयाँ मोड लियो । उनी बालविवाह रोक्ने अभियानमा होमिइन् । उनी भन्छिन्, ‘किशोरी क्लवले मेरो आँखा खोलिदियो, आजभोली हामी जहाँ बालविवाह भयो त्यहाँ पुग्छौं, कति विवाह त रद्ध गरिसकेका छौं ।’

मष्टेश्वरी उमाविमा कक्षा ११ मा अध्यनरत मिनाकुमारी रावतले पनि अभिभावकको दवावकै कारण एसईई दिने वित्तिकै विवाह गर्ने योजना बनाएकी थिइन् । किशोरी क्लवमा आवद्ध भएपछि विवाह गर्ने योजना बदलेर बालविवाह रोक्ने अभियानमा लागिन् । उनी भन्छन्, ‘सर्वप्रथम म सानो उमेरमा विवाह गर्दिनँ, अब हाम्रै नेतृत्वमा बाल विवाह रोक्छौँ, छोरीलाई विद्यालय पठाउन अभिभावकलाई प्रेरित गछौँ ।’

खप्तड छेडेदह गाउँपालिकाका किशोरीहरूको हस्तक्षेपकारी भूमिकाका कारण बालविवाहमा कमी आएको छ । किशोरी क्लवको जनचेतनाका कारण अभिभावकको सोचमा पनि परिवर्तन आएको छ ।

बालविवाह रोकी किशोरीहरूको पढाईलाई निरन्तरता दिने वातावरण बनाउन गाउँमा महिला विकास मञ्च गठन भएको छ । मञ्चले पनि मुख्यगरी बालविवाहविरुद्धमा छोरीहरूलाई परिचालन गरेको मञ्चका कार्यक्रम संयोजक कृष्णा दानीले बताइन् । मञ्चले गाउँमा छोरीका लागि शिक्षा आवश्यक हो भन्दै अभियान सञ्चालन गर्दा विद्यालय बाहिर रहेका किशोरी पनि विद्यालय जान लागेको दानीले बताइन् । मञ्चले गाउँपालिकाका ७ वटै वडामा किशोरी समूह बनाएर हप्ताको शनिबार जीवन उपयोगी सिप सम्वन्धि प्रशिक्षण गर्दै आएको छ ।

किशोरीको नेतृत्वमा २०७५ मा ६ महिनाको सर्वेक्षण हुँदा १ सय १८ जनाले विवाह गरेको देखिएको थियो । यो संख्या २०७६ मा ३१ म झरेको थियो । २०७७ मा १३ र २०७८ को असारमा ८ रहेको परिवर्तन किशोरी क्लवकी अध्यक्ष करिष्मा ओलीले जानकारी दिइन् । किशोरीकै नेतृत्वमा अबको एक वर्षमा गाउँपालिकालाई बालविवाहको दर शुन्यमा झार्ने लक्ष्य लिएको उनी बताउँछिन् ।

खप्तड छेडेदहका पुरुषमा पनि विद्यालय जानुभन्दा विवाह गर्ने र भारतमा गएर रमाउने धेरै छन् । पुरुषले सानै उमेरदेखि पैसा कमाउनुपर्छ भन्ने मान्यताका कारण पढाइबाट बन्चित हुने अवस्थामा सुधार आएको छ । तिलक बुढा अहिले मष्टेश्वरी माविमा कक्षा १० मा पढ्छन् । २२ वर्ष कटिसकेका उनले ६ कक्षा पास गर्दै भारत जानुपर्यो । फर्केर गाउँमा आउँदा साथीहरू विद्यालय जाँदा उनलाई पनि रहर लाग्यो । अहिले आफु मात्र होइन, आफूजस्तै विद्यालय छुटाएर घरमै बसेका साथीलाई सँगै लिएर विद्यालय पढ्छन् । उनी बाल श्रमशोषणका बारेमा जानकार भएका छन् । बुढा भन्छन्, ‘हामीले अहिले पढ्ने हो, घरको काममा भाइबहिनी सबैले सघाउने हो र पढ्ने हो, हामी अहिले बालविवाहविरुद्धको अभियानमा छौँ, गाउँमा कसैले सानै उमेरमा विवाह गरे प्रहरीलाई खबर गर्ने गरेका छौँ ।’

गाउँपालिकाको साथ


गाउँपालिका पनि बालविवाह अन्त्यका लागि रणनीतिका साथ लागेको छ । बाजुराका ९ वटा स्थानीय तहमध्ये खप्तड छेडेदह बाहेक अरु कुनैले पनि किशोरीहरूको पढाई निरन्तरताको लागि बजेट छुट्याएको पाईदैन । खप्तड छेडेदहले आर्थिक समस्याले किशोरीहरूले विद्यालय छोड्न नपरोस् भन्दै बैंक खाता सञ्चालनमा ल्याउने तयारी गरेको अध्यक्ष नरबहादुर रावतले बताए ।

विद्यालय पढ्दै गरेका किशोरीहरू कम उमेरमै विवाह नगरुन् र उनीहरूको पढाई निरन्तर अगाडि बढोस् भन्ने उद्देश्यले सातौं गाउँ सभाले किशोरीको नाममा बैंक खाता खोलेर रकम जम्मा गर्ने निर्णय गरेको छ । आर्थिक तथा सामाजिक कारणले सानै उमेरमा विवाह गर्ने र बिचमै विद्यालय छोड्ने समस्या रोक्न बैंकमार्फत रकम दिने निर्णय लिएको गाउँपालिकाले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्