Logo
Logo

कैलालीमा कांग्रेसेको चुनावी माहोल तातियो


1.5k
Shares

कैलाली । नेपाली कांग्रेसेको आसन्न राष्ट्रिय महधिवेशन हुने मिति नजिकिन थालेसँग कैलालीमा नेता कार्यकर्ताहरुबीच पार्टीमा विभिन्न पदका लागि प्रतिस्पर्धा चल्न थालेको छ । कांग्रेसको वडा तहदेखिको अधिवेशन सुुरु भएसँगै पार्टीका विभिन्न पदका आकाङ्क्षी नेता कार्यकर्ताहरुको रस्साकस्सी चल्न थालेको हो ।

कैलालीमा कांग्रेसको वडा तहको अधिवेशन तीन दिनअघि मात्र सुरु भएको छ । क्रियाशील सदस्यता विवादका कारण कांग्रेसको पूर्वनिर्धारित कार्यतालिकाअनुसार वडा तहको अधिवेशन हुन सकेको थिएन ।

वडा अधिवेशन सकिएपछि आज कांग्रेसको पालिका तहमा अधिवेशन हुँदैछ । वडा तहकोअधिवेशनवाट कांग्रेसको क्षेत्रीय प्रतिनिधि र वडाका पदाधिकारी निर्वाचित भएका छन् ।

कांग्रेसका महासमिति सदस्य तथा महाधिवेशन प्रतिनिधिको जिम्मेवारी बहन गरिसकेका केही नेताहरु वडा तहको अधिवेशनका क्रममा भएको निर्वाचनवाटै पराजित भएका छन् ।

सुदूरपश्चिम प्रदेशको राजधानी सहर धनगढी नगर कार्यसमितिको सभापति पदका लागि युवा नेता एवं समाजसेवी यज्ञराज उपाध्यायले उम्मेदवारी घोषणा गरिसकेका छन् । यस्तै कैलाली निर्वाचन क्षेत्र ५ (धनगढी क्षेत्र)को क्षेत्रीय सभापति पदका लागि अर्का युवानेता भीम पडालले पनि उम्मेदवारी घोषणा गरेका छन् ।

आकाङ्क्षीहरुले विभिन्न पदमा उम्मेदवारी घोषणा गरिरहँदा पार्टीको आन्तरिक चुनावी माहोल एकाएक तातेको छ । योसँगै आकाङ्क्षीहरु पार्टीका मतदातालाई रिझाउने कसरतमा जुटेका छन् ।

जिल्लाभरि नै अधिकांश वडामा सर्वसम्मत र थोरै वडामा मात्र मतदानको प्रक्रियाद्वारा वडाका पदाधिकारी र क्षेत्रीय प्रतिनिधि छनोटको काम सकिएको कांग्रेसका प्रचार संयोजक नृप सुनारले जानकारी दिए ।

जिल्ला, नगर, प्रदेश र केन्द्रको विभिन्न तहका पदका आकाङ्क्षी हुनेलाई वडा तहमै पराजित हुने नेता कार्यकर्तावाट हुन सक्ने घात अन्तर्घातको चुनौती देखिन सक्ने आङकलन एकथरी कार्यकर्ताको छ ।

जिल्ला सभापतिका लागि प्रकाश बम, नारायणदत्त भट्ट, भीम बडुवाल, गणेश देउवा, खेमराज चौधरी लगायतका नेता आकाङ्क्षी देखिएको चर्चा छ । यस्तै जिल्ला सचिवका लागि केशव मिश्र, विनय लामा, लक्ष्मण शाही, अमृत बिसी र नृप सुनार लगायतको नाम चर्चामा छ ।

कैलाली जिल्लामा हुने पार्टीको अधिवेशन तथा प्रतिनिधि छनोटले सम्बन्धित दलको केन्द्रीय महाधिवेशनलाई समेत प्रभाव पार्ने हुँदा पार्टीका नेता कार्यकर्ताको यो जिल्लाको अधिवेशनप्रति बढी चासो देखिने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्