Logo
Logo

चालु आवको दुई महिना : सरकारको आम्दानी भन्दा खर्च नौ अर्बले बढी


252
Shares

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले करिब रु दुई खर्ब बजेट खर्च गरेको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार भदौ मसान्तसम्ममा सरकारको कुल खर्च रु एक खर्ब ९९ अर्ब ८३ करोड ७२ लाख बराबर छ । जुन वार्षिक लक्ष्यको नौ दशमलव ४१ प्रतिशत हुन आउँछ ।

The current image has no alternative text. The file name is: mahalekha-1.jpg

कार्यालयका अनुसार सरकारले चालु शीर्षकमा हालसम्म नौ दशमलव छ प्रतिशत बजेट खर्च गरेको छ । यो शीर्षकमा चालु आर्थिक वर्षका लागि रु १२ खर्ब ७० अर्ब ५८ करोड ९० लाख बजेट विनियोजन भएकोमा भदौ मसान्तसम्ममा रु एक खर्ब २२ अर्ब तीन करोड ५४ लाख खर्च भएको हो । त्यस्तै, पुँजीगत शीर्षकमा रु चार खर्ब ३१ अर्ब १० करोड ६३ लाख बजेट विनियोजन भएकोमा हालसम्म वार्षिक लक्ष्यको एक दशमलव ७८ प्रतिशत अर्थात् रु सात अर्ब ६६ करोड ४८ लाख मात्रै खर्च भएको कार्यालयको तथ्याङ्कबाट देखिन्छ । वित्तीय व्यवस्था शीर्षकको हालसम्मको बजेट खर्च १६ दशमलव ५९ प्रतिशत छ । यो शीर्षकमा चालु आर्थिक वर्षका लागि रु चार खर्ब २२ अर्ब ६४ करोड ९१ लाख विनियोजन भएकोमा भदौ मसान्तसम्ममा रु ७० अर्ब १३ करोड ७० लाख बराबर खर्च भएको देखिएको हो ।

यस अवधिसम्ममा सरकारको खर्चको तुलनामा आम्दानी कम छ । भदौ मसान्तसम्मको कुल राजश्व संकलन वार्षिक लक्ष्यको ११ दशमलव ५८ प्रतिशत अर्थात् रु एक खर्ब ९० अर्ब १० करोड ७९ लाख छ । पछिल्ला दुई महिनामा मात्रै सरकारको आम्दानी भन्दा खर्च करिब रु नौ अर्ब ७२ करोडले बढी रहेको छ । कर राजश्वतर्फ चालु आर्थिक वर्षका लागि कुल रु १४ खर्ब तीन अर्ब ३१ करोड ८३ लाख उठाउने सरकारको लक्ष्य रहेकोमा भदौ मसान्तसम्ममा वार्षिक लक्ष्यको १२ दशमलव २ढ प्रतिशत अर्थात् रु एक खर्ब ७२ अर्ब ४२ करोड ९७ लाख संकलन भएको छ । त्यस्तै, गैरकर राजश्वतर्फ रु एक खर्ब ७७ अर्ब उठाउने सरकारको लक्ष्य रहेकोमा हालसम्म छ दशमलव नौ प्रतिशत अर्थात् रु १० अर्ब ७७ करोड ६९ लाख उठेको छ । चालु आर्थिक वर्षका लागि रु ६१ अर्ब ७४ करोड ५४ लाख प्रत्यक्ष वैदेशिक अनुदान लिने सरकारको लक्ष्य रहेकोमा भदौ मसान्तसम्ममा आठ दशमलव ९६ प्रतिशत अर्थात् रु पाँच अर्ब ५३ करोड बराबर भित्रिएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्