श्रीमान सम्पर्क बिहिन भएपछि चार छोरी एक्ले स्याहार्दै तिलकुमारी « Drishti News – Nepalese News Portal
Logo

श्रीमान सम्पर्क बिहिन भएपछि चार छोरी एक्ले स्याहार्दै तिलकुमारी


दृष्टि संवाददाता


रोल्पा । रोल्पा नगरपालिका–९ ह्वामाकी तिलकुमारी बुढाले १२ वर्षअघि रोल्पा नगरपालिका–६ कोङाका टेकसिंह गुरुङसँग विवाह गरिन् । सँगैमर्ने सँगै बाँच्ने कसम खाएर प्रेम विवाह गरेका उनीहरुबाट १२ वर्षमा चार छोरीको जन्म भयो । विवाह भएको चार वर्ष गाउँमै सँगै बसेका उनको जोडी रोजगारीको अवसर नपाएपछि कमाई गर्न विदेश जाने निष्कर्षमा पुग्यो ।

श्रीमतीले घर धान्ने र श्रीमान् विदेश गई कमाई गर्ने सल्लाहबमोजिम टेकसिंह ७ वर्षअघि कतार गए । कतारमा तीन वर्ष बसेका उनी त्यहाँ रहँदा भएको सबै कमाई घरमा पठाउँथे । श्रीमान् श्रीमतीबीच दिनहुँजसो फोनमा कुराकानी हुन्थ्यो । घर आउनेजाने चलिरहन्थ्यो । कतार बसाइ बिट मारेर घर आएका उनी केही समय मात्रै घर बसेर फेरि विदेश जाने निर्णयमा पुगे । कतारमा कमाएको पैसाले आफ्नै ठाउँमा कुनै रोजगार गर्न चाहन्थिन् तिलकुमारी । तर टेकसिंह भने नेपालमा कमाउन नसकिने भन्दै चार वर्षअघि कुवेत गए । कुवेत गएका उनी सुरुसुरुमा घरमा नियमित फोन गर्थे । सन्चोबिसन्चो फोनबाट आदानप्रदान हुँदा तिलकुमारीलाई श्रीमान् घरमै भएजस्तो लाग्थ्यो ।

टेकसिंहले घरमा श्रीमती, बुबा, आमा र छोरीलाई फोन गर्न छोड्दै गए । दैनिक फोन आउने तिलकुमारीको मोबाइलमा श्रीमान्को फोन आउन छोडेपछि मनमा चिसो पस्यो । सुरुमा त उनले बिरामी भएर वा अत्यावश्यक कामले व्यस्त भएर फोन नआएको होला भन्ने लख काटिन् । हप्ता बिते, महिना बिते उनको मोबाइलमा फोन आउन छोड्यो ।

श्रीमान्ले फोन गर्न छाडेको लामो समय भएको वयोवृद्ध सासुससुरालाई सुनाइनन् । छिमेकी तथा अरू इष्टमित्रलाई भनिन् तर कसै गरी श्रीमान्ले फोन नगर्नाका कारण बुझ्न सकिनन् । एक दिन सम्झेर पक्कै पनि फोन गर्लान् भन्ने सोचाइमा उनको चार वर्ष बितिसकेको छ तर श्रीमान्को फोनको घण्टी भने अझै बजेको छैन ।

श्रीमान् सम्झँदै छोरीहरुको भविष्य बनाउने, पढाउने काम, घरको दैनिकी तथा ८७ वर्षीय ससुरा र ७७ वर्षीया सासूको रेखदेख र स्याहारसुसार गर्दै उनको दिन बितिरहेको थियो । तर आम्दानीको भने कुनै स्रोत थिएन । घरमा भएको अन्नले जीविका चले पनि नुनतेल त किन्नै पथ्र्यो । उनले वर्षातमा फल्ने चिउरी टिपेर नुनतेलको जोहो गर्थिन् । आम्दानीको स्रोत बनेको चिउरीको बोटले नै उनलाई जीवनमरणको दोसाँधमा पु¥याउला भन्ने कहिल्यै सोचिकी थिइनँ । उनको जीवनमा नसोचेकै घटना घट्यो ।

गत असारमा चिउरी टिप्न रूख चढेकी उनी खुट्टा चिप्लिएर भुइँमा बजारिन पुगिन् । रूखबाट लडेर अचेत अवस्थामा रहेकी उनी गाउँलेको सहयोगमा घरसम्म पुगिन् । उपचारका लागि रोल्पा जिल्ला अस्पताल पु¥याइएकी उनको त्यहाँ उपचार हुन नसकेपछि भैरहवा लगियो । कम्मरमुनिको पूरै भाग नचल्ने भएपछि शल्यक्रिया गरियो । भैरहवा अस्पतालको २१ दिनको बसाइपछि उनी घर फर्किइन् ।

शल्यक्रियापछि पनि उनको स्वास्थ्यमा सुधार आएन । अहिले उनी सदरमुकाम लिवाङमा होटेल व्यवसाय गर्दै आएका दिदीभिनाजुसँग बस्दै आएकी छिन् । हिँड्डुल गर्न सक्दिनन् । ओछ्यानमै दिसापिसाब हुने गर्छ । नाबालक छोरीहरु १२ वर्षीया विसी, ११ वर्षीया विविका, पाँच वर्षीया बीमा र चार वर्षीया रीया गुरुङ आमाको अवस्था हेरेर टोलाउनेबाहेक के गर्न सक्थे र रु बुबाका कारण अबोध बालबालिकाले पाइरहेको वेदनाले बालअधिकारलाई गिज्याइरहेको छ ।

उनीहरु सदरमुकाममा रहेका दुई सरकारी विद्यालयमा पढ्छन् । विसी, विविका र बीमा बालकल्याण माविमा पढ्छन् भने कान्छी रीया बालमन्दिर प्राथमिक विद्यालयमा पढ्छिन् । राम्रो लाउने, मीठोखाने उनीहरुका लागि एकादेशको कथाजस्तो भएको छ । बुबाको वात्सल्यबाट वञ्चित उनीहरु आमाको रोगी र जीर्ण शरीर मायाको स्रोत बनेको छ । परिवारमा राम्रो सम्बन्ध रहेको साढुभाइमा एकाएक आएको परिवर्तनले आफूलाई आश्चर्य लागेको तिलुमारीका भिनाजु पूर्णसिंह पुनको भनाइ छ । अन्य केटीसँग सम्बन्ध भएर घरमा सम्पर्कविहीन भएको पूर्णसिंहको भनाइ छ । लिवाङमा होटेल व्यवसाय गर्ने पुनले तिलकुमारीको रेखदेख तथा बालबच्चाको शिक्षादीक्षा र पालनपोषणको काम गर्दै आएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्