एमालेमा पूर्वमाओवादी- ‘दिए खाने, नदिए हेरेर थुक निल्ने’ « Drishti News – Nepalese News Portal
Logo
टिप्पणी

एमालेमा पूर्वमाओवादी- ‘दिए खाने, नदिए हेरेर थुक निल्ने’


मिलन लिम्बू


काठमाडौं । नेकपा एमालेको १०औं महाधिवेशन नजिक आइसक्यो । तर, विगत झै रौनक छैन । यसको एकमात्र कारण अध्यक्ष केपी शर्मा ओली हुन् । ओलीसँग अध्यक्ष प्रतिस्पर्धा गर्ने अरुसँग ल्याकत नहुँदा नेतृत्व चयनमा खासै ध्यान छैन । यो अर्थमा रौनकता कम हुनुको कारण ओली भन्न खोजिएको हो । अन्य हिसावले एमाले महाधिवेशन लागेकै छ ।

माधवकुमार नेपालको बर्हिगमनपछि ओली यति शक्तिशाली भए कि, कसैले मापन नै गर्न सक्ने अवस्था छैन । ओलीको प्रचण्ड तापमा भीमकाय शक्तिका भीमहरु पनि लुरुक्क भइसके । ओलीसँग सिङ्गौरी खेल्ने हिम्मत बटुल्न एमालेका वर्तमान नेताले ‘अलौकिक वा अनैतिक’ शक्ति नै प्राप्त गर्नुपर्छ ! नत्र सम्भव छैन ।

‘तेस्रो धार’का नाममा एमालेमै सञ्जीवनी बुटी खोजीरहेकाहरु भुत्ते भइसके । बेला–बेला भीम रावल र घनश्याम भुसालहरु स्याकुने भाले झै बास्न खोज्छन् । फूल भोल्युम वीथ हेडफोनमा ‘रमरम मरौटी…’ सुनिरहेका ओलीले स्याकुने स्वर सुन्ने कुरै भएन । घनश्यामले ‘हेभी मेटल साउन्ड’ सुनाए पनि ओली सुन्नेवाला छैनन् । पाण्डुपुत्र झै भीमले सिंगै पहाड नै उचाल्छुभन्दा पनि फरक पर्ने छैन । रावल र भुसाल बाहेक अरु मूर्छित छन् ।

एमाले भित्रका ‘लडाकु दस्ता’ भनिएका माधव लाइनका नेताहरु अयोग्य भइसके । क्यान्टनमेन्टबाट जनमुक्ति सेनालाई अयोग्य भन्दै लखेटे झै कुनै न कुनै झोली भिराएर ओलीले एक दिन त लखेट्छन् नै ! अरुको त झन् हालत के होला ? त्यसैले त पूर्वमाओवादीको भाग्य र भविष्य त १०औं महाधिवेशनको ‘ब्यालेट’मा निर्भर छ भनिन्छ । त्यसैले त मिस्टर क्लाउड र राता भट्टहरु ओलीसामु उत्तम शरणम !

गमक्क परेर एमालेको मञ्चमा बस्ने दिन सकिने चिन्ताले बादल कमरेडहरुलाई निद्रा परेको छैन । राता भट्टहरु भीम रावललाई अर्ति दिँदै हिडे पनि महाधिवेशनमा सौता पर्ने पीरमा मासु बिलाइरहेका छन् । ओली सपेरा भूमिकामा प्रस्तुत हुँदा टोपबहादुर र प्रभुहरु सांप झै नाचीरहेका छन् । १०औं महाधिवेशन ‘वान मिस्टेक लाइफ ड्यामेज’ भन्ने पूर्वमाओवादीहरु बल्ल बुझ्दैछन् । अर्थात ओलीको बोलीमा लोली नमिलाए यसै महाधिवेशनबाट स्वाहा हुनुपर्ने छ ।

मतदानबाट नेतृत्व चुन्दा सर्वनाश हुने कुरा बुझेका बादलहरुलाई जसरी पनि सर्वसम्मत नेता चुनिनुपर्नेछ । पूर्वमाओवादीले भाग खोस्यो भन्ने बुझाइ राख्नेहरुले देशभर ‘पुरानो एमाले’ अभियान चलाएको देखेका बादलहरुलाई जसरी पनि मतदान छल्नु छ ।

बादल ब्यालेट छल्दै वरिष्ठ उपाध्यक्ष बन्ने दाउमा छन् । टोपबहादुर उपाध्यक्ष, लेखराज र प्रभु सचिव बन्ने चाहना राख्छन् । तर, चाहना र प्राप्तिबीचको दूरी धेरै लामो हुन्छ । दूरी मेटाउन आफ्नो बर्कतीले मात्र भ्याउने अवस्था छैन । यस्तो अवस्थामा महाराजको शरण पर्नु एक मात्र विकल्प हुन्छ । अर्थात भविष्य ओलीकै हातमा छ ।

माधव एमालेमा हुँदा पूर्वमाओवादीको भ्यालु थियो । अर्थात ओलीले ठिकै स्थान दिएका थिए । किनकी, माधवसँग लड्न ओलीलाई शक्ति चाहिएको थियो । बादलहरु टेकोसम्म भए । तर, माधव बाहिरिएसँगै ‘घोसेनको ह्रास नियम’ लागु भएको छ । उपयोगीता घट्दै गयो । त्यसैले त बेला–बेला प्रभुहरु ओलीविरुद्व जिहाद छेड्न तम्सिन्छन् । के गर्नु हुटिट्याउने सागर थाम्दैन !

एमालेका महाधिवेशन प्रतिनिधिको प्याटन हेर्दा के प्रष्ट हुन्छ भने मतदानबाट नेतृत्व चुन्नुपर्ने अवस्था आए पूर्वमाओवादीको खैरात हुँदैन । देशभरबाट ८० प्रतिशतभन्दा धेरै प्रतिनिधि ‘अकबरी ओली’ चुनिएका छन् । यीनले एक–एक गरेर अकबरीहरुलाई मात्र भोट हाल्ने हुन् । यस्तो अवस्थामा धार नभएका भुत्ते तेस्रो धार र आफूलाई भाम क्रान्तिकारी मान्ने पूर्वमाओवादीको चाहना चितामा नपुग्नुपर्ने कारण हुँदैन ।

सेना बिनाको कमाण्डर जिम्मेवारीमा रहेका पूर्वमाओवादी नेताहरु जसरी पनि मदतान हुन दिनु हुन्न भन्ने पक्षमा दिलोज्यान दिएर लागिपरेका छन् । किनकी ओलीले ब्याक फायर गर्नसक्छन् भन्ने उनीहरुलाई राम्रारी थाहा छ । आफ्ना कुरामा कसैले प्रश्न मात्र गरे आफ्नै कुरालाई गलत सावित गराउने ओलीको बानी उनीहरुले नबुझेका होइनन् । त्यसैले बादलहरु ‘गोपी कृष्ण काउ’ भन्दैछन् ।

मान्छेका बाध्यता अनेक हुन्छन् । नदिए खोसेर लिनुपर्छ भन्दै जिहाद छेडेका बादलहरु आज एमालेमा ‘दिए खाने नदिए हेरेर थुक निल्ने’ अवस्थामा छन् । ओलीले दया गरेर महाधिवेशनमा निर्वाचित गरे नेता नत्र अरु नेता भएको हेरर चित्त बुझाउनुको उनीहरुसँग विकल्प छैन । जग नभएको घरमा बास बस्दा हुने त यस्तै हो ।

प्रतिक्रिया दिनुहोस्