Logo
Logo
एमालेको १०औं महाधिवेशन

प्रतिनिधिका लागि होटल बुकिङमै एक करोड ६० लाख



काठमाडौं । नेकपा (एमाले)को १०औंँ महाधिवेशन यही मंसिर १० गतेदेखि १२ गतेसम्म चितवनमा हुँदैछ । महाधिवेशनको उद्घाटन नारायणी नदीको किनारमा र बन्दसत्र सौराहास्थित होटल सेभेन स्टारमा हुँदैछ ।

उद्घाटन सत्रमा पाँच लाख कार्यकर्ता उतार्ने तयारी गरेको एमालेको महाधिवेशन प्रतिनिधिका रुपमा १९ सय ९९ सहभागी हुँदैछन् । केन्द्रीय कमिटी, आयोग सहितका २ हजार जना प्रतिनिधि सहभागी हुने निश्चित भइसकेको महाधिवेशन मुल व्यवस्थापन समितिका सह–संयोजक सुरेन्द्र पाण्डेले बताए । महाधिवेनका लागि तीव्र तयारी भइरहेको उनको भनाइ छ ।

महाधिवेशन खर्च

एमाले महाधिवशेनमा कति खर्च हुँदैछ भन्ने खुलाइएको छैन । तर, एमालेको महधिवेशनकोे तीव्र तयारी भइरहँदा खर्चको बारेमा समेत कौतुलहता बढ्दै गएको छ । एमाले महाधिवेशनको खर्चका लागि चन्दा नउठाउने बताएपनि पार्टी सदस्यबाट स्वतः स्फूर्त सहयोग भन्दै १०० रुपैयाँ संकलन अभियान चलाइएको छ ।

एमाले सचिव योगेश भट्टराईका अनुसार महाधिवेशनको खर्चको लागि सार्वजनिक रुपमा चन्दा आह्वान गरिएको छैन । केन्द्रको अनुमति बेगर स्थानीय रुपमा पनि चन्दा संकलन नगरिएको उनको दावी छ ।

सदस्यता नवीकरण, पार्टी सदस्यबाट उठाइएको लेबी र प्रतिनिधिबाट संकलित रकम नै महाधिवशेनमा खर्च गरिने एमालेले जनाएको छ । पार्टीले केन्द्रीय सदस्य तथा केन्द्रीय निकायमा स्वतः हुने प्रतिनिधिबाट ३ हजार र निर्वाचन प्रतिनिधिबाट २ हजार उठाउने गरेको छ ।

यस्तै, झण्डै साढे ७ लाख संगठित सदस्यबाट एमालेले नियमित लेबी संकलन गर्दै आएको छ । आर्थिक व्यवस्थामा एमालेलाई मजबुत पार्टीको रुपमा लिने गरिन्छ । महाधिवेशनको खर्च अनुमान अहिले गरिनसकेको उनको भनाइ छ ।

तीन दिनमा २० करोड खर्चको अनुमान

पार्टी सदस्यबाट नियमति उठ्ने लेबी, प्रतिनिधि र स्वतःस्पूर्mतः सहयोगबाट आएको रकम महाधिवेशनमा खर्च गरिने एमालेले जनाएको छ । तर, महाधिवशेनमा ठ्याक्कै यति नै खर्च हुन्छ भन्ने अनुमान नभएको एमाले केन्द्रीय कार्यलयका सचिव तथा केन्द्रीय सदस्य शेरबहादुर तामाङले जनाएका छन् । उनका अनुसार वडा र पालिकास्तरको अधिवेशन खर्चसमेत यकिन नभएकाले महाधिवशेनमा कति खर्च हुन्छ भन्ने पनि महाधिवशेन पछि मात्र थाहा हुनेछ ।

तर, बाहिर चर्चा गरिएअनुसार एमालेले महाधिवेशनमा २० करोड बढी खर्च गर्दैछ । प्रतिनिधि र पाहुनासहित ४ हजारभन्दा बढीका लागि बस्नका लागि होटलमा कोठा दुई दिनका लागि बुकिङ र खाना नास्ताको समेत व्यवस्था गरिएकोले खर्च बढेको हो । सचिव तामाङका अनुसार प्रतिनिधि र पार्टी सदस्यबाट उठाएको लेबीमात्र महाधिवशेन खर्च टार्दैन । सोही कारण पार्टी सदस्यबाट स्वतः स्र्फूत १०० रुपैयाँ उठाउने अभियान चलाइएको हो ।

तर, अहिलेसम्म १०० रुपैयाँँ संकलन अभियानबाट कति रकम जम्मा भयो त्यो भने खुलाइएको छैन । एमालेले करिब साढे सात लाख आफ्नो सदस्य रहेको दावी गर्दै आएको छ । सोअनुरुप १०० रुपैयाँ संकलन अभियानबाट कम्तिमा पनि सात करोड ५० लाख उठ्ने अनमान एमालेले गरेको छ । यस्तै एक जना सदस्यले १०० देखि एक हजारसम्म पनि पार्टीलाई सहयोग गरेको छ । यसैगरी करिब दुई हजार प्रतिनिधिबाट दुई हजारका दरले ४० लाख रुपैया संकलन गर्ने योजनामा एमाले रहेको छ ।

कोठाका लागि मात्र एक करोड ६० लाख खर्च

एमालेले महाधिवेशन आउने प्रतिनिधि, पाहुना र पत्रकारका लागि सौरहाका विभिन्न होटलमा ३५ सय बेड सहितको कोठा बुक गरेको छ । ती कोठमाका लागि एमालेले क्षेत्रीय होटल संघ सौराहासँग सम्झौता गरिसकेको छ । कोठमामा बस्ने प्रतिनिधि तथा पाहुनाका लागि ब्रेकफास्ट र दुई छाक खानासमेत व्यवस्था गरिसकेकोछ । बाँकी ३ छाक खाना बन्दसत्र स्थलको मेसमा खुवाउने एमालेको तयारी छ ।

महाधिवेशन अवधि १० देखि १२ मंसिरसम्म एमालेसम्बद्ध करिब ७ हजार जना सौराहामा रहने छन् । महाधिवेशनका लागि आउने कतिपय एमाले कार्यकर्ताले सौराहामा कोठा नपाएपछि रत्ननगर र भरतपुरका होटलमा समेत कोठा बुक गरेका छन् । त्यसैले सौराहाबाहिर करिब एक हजार कोठा बुक भएको जनाइएको छ ।

सबै होटल तथा रिसोर्ट पूर्ण क्षमतामा सञ्चालन भएपछि महाधिवेशनको समय अवधिमा सौराहामा ५ करोड रूपैयाँभन्दा बढीको कारोबार हुने रेस्टुरेन्ट एन्ड बार एसोसिएसन सौराहाका अध्यक्ष दिपेन्द्र खतिवडाले अनमाुन गरेका छन् । त्यसमध्ये १ करोड ६० लाख रूपैयाँभन्दा बढी खर्च कोठामा मात्र एमालेले सौराहामा बुझाउँदैछ ।

अहिले दैनिक ३ हजार क्वीन्टलसम्म मासु खपत हुने गरेको सौराहामा महाधिवेशनको समयमा १७ हजार क्वीन्टलसम्म खपत हुने अनुमान व्यवसायीको छ । त्यसबाहेक मदिरा तथा पेय पदार्थमा कति खर्च हुन्छ, त्यो अनुमान गर्न सकिँदैन । तर, जाडो याम पनि सुरु भएकाले महाधिवेशन क्रममा सौराहामा एक करोड रूपैयाँभन्दा बढीको मदिरा बिक्री हुने अनुमान व्यापारीहरूले गरेका छन् ।

होटल जंगल क्राउनका प्रबन्धक सन्तोष गिरीका अनुसार मंसिर ९ पछि केही समयका लागि सबै कोठा बुकिङ भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्